भ्रष्टाचार, दलाल, महङ्गी र कालाबजारीलाई पूर्णरूपमा नियन्त्रण गर्न राष्ट्रिय युवा जनस्वयमसेवककाे माग

प्रकाशित मिति : बिहि, अशोज १९, २०७४



भ्रष्टाचार, दलाल, महङ्गी र कालाबजारीलाई पूर्णरूपमा नियन्त्रण गर्न माग गर्दै राष्ट्रिय युवा जनस्वयमसेवक दाङको दोस्रो जिल्ला सम्मेलन भव्य एवम सानदार रूपमा सम्पन्न भएको छ । दलाल, भ्रष्टाचार, कमिसनखोर र राष्ट्रघातका विरुद्ध युवा आन्दोलन वैज्ञानिक समाजवाद स्थापनाका लागि दोस्रो जिल्ला सम्मेलन भन्ने मूल नाराका साथ दुई दिन सम्म तुलसीपुरमा भएको सम्मेलनले बढ्दो वैदेशिक हस्तक्षेपका विरुद्ध आम युवाहरूलाई सशक्त संघर्षमा उत्रन आव्हान समेत गरेको छ ।

हजारौंको युवाहरूको र्यालीसहित भएको सम्मेलनले देशका ऊर्जाशिल युवाहरूलाई वैदेशिक रोजगारका नाममा मानव बेचबिखन बन्द गरि स्वदेशमै रोजगारको व्यवस्था मिलाउन माग पनि गरेको छ ।

सम्मेलनको उद्घाटन नेपाल कम्युनिस्ट पार्टीका स्थायी समिति सदस्य धर्मेन्द्र बास्तोलाले ज्वाला बालेर गर्नुभयो । सभालाई सबोधन गर्दै उहाँले नेपाली समाजलाई विश्वको सभ्य र समृद्ले समाजमा लैजानका लागि आफूहरुले नेपाल कम्युनिस्टको झण्डा उठाएको बताउनुभयो। शहिदहरुको रगतले लतपटिएको रातो झण्डा नेपाली जनताको मुक्ति, प्रगति, स्वाधीनता र देशको उन्नति तथा समृद्धिका लागि उठाएकाले त्यो लक्ष्य पूरा गरि छाड्ने अठोट व्यक्त गर्नुभयो । अहिलेको राज्यसत्ता पूजीवादी संसदीय दलालहरुको हातमा रहेकाले सुकुम्बासी, महिला, जनजाति, दलितहरुको अवस्था उस्तै रहेको र शिक्षा, स्वास्थ्य रोजगार नागरिकको पहुँच भन्दा बाहिर व्यापार भईरहेको पनि उहाँले बताउनुभयो । अहिलेको राज्यव्यवस्थाले नेपाली जनताको हित गर्न नसकेको र गर्न सक्ने भन्दै उहाँले यो राज्यव्यवस्थाको खारेज हुनुपर्ने समेत बताउनुभयो । नेपालमा अहिलेसम्म जति पनि जो जो प्रधानमन्त्री भए भारतीय शासकहरुको साहराले आफ्नो ओहदाको प्रमाणपत्र लिने र
उनीहरूको आर्शिवादले चल्ने गरेकै कारण नेपालका भूमिहरु मिचिएको, प्राकृतिक सम्पदाहरु खोसिएको नेपालीहरु लुटिएको भन्दै देशको रक्षा गर्न र नेपाललाई स्वाभिमान समृद्ध बनाउने वैज्ञानिक समाजवाद स्थापना गर्ने अभिभारा सम्पूर्ण युवाहरुमा आएको उल्लेख्य गर्नुभयो ।

राष्ट्रिय युवा जनस्वयमसेवका केन्द्रिय सदस्य तिलक योगीको अध्यक्षता तथा नेपाल कम्युनिस्ट पार्टीका केन्द्रिय सदस्य शितल, राष्ट्रिय युवा जनस्वयमसेवक केन्द्रीय सदस्य तथा राप्ती संयोजक पाटनको विशिष्ट आतिथ्यमा भएको कार्यक्रममा सहिद तथा बेपत्ता परिवारका केन्द्रिय सदस्य राम बहादुर थापा सुन्दर, अखिल नेपाल शिक्षक संगठनका राप्ती संयोजक नारायण भण्डारी, अखिल नेपाल महिला क्रान्तिकारीका जिल्ला अध्यक्ष जानकी चौधरी,अखिल (क्रान्तिकारी)का केन्द्रीय सदस्य हेमन्त जि सि लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो ।

यसैबीच विरेन्द्र विकको नेतृत्वमा ४५ सदस्यीय नयाँ जिल्ला कार्यसमिति चयन गर्दै राष्ट्रिय युवा जनस्वयमसेवक दाङको दोस्रो जिल्ला सम्मेलनको समापन गरियो । कार्यसमितिको जिल्ला उपाध्यक्षमा निम बहादुर डाङी, सचिवमा मनोज परियार, कोषाध्यक्षमा शेरु परियार सजकलाई चयन गरियो । नवनिर्वाचित कार्यसमितिलाई बधाई मन्तव्य दिदै नेपाल कम्युनिस्ट पार्टीका दाङ जिल्ला सेक्रेटरी सविनले दंगाली कम्युनिस्ट आन्दोलनको सन्दर्भमा युवाहरूको कार्यक्रम एेतिहासिक भएको बताउनुभयो । उक्त कार्यक्रमले दलालहरुलाई खबरदारी समेत गरेको बताउनुभयो । उहाँले एकीकृत जनक्रान्तिलाई अगाडि बढाउन युवाहरूको महत्त्वपूर्ण योगदान रहेको चर्चा गर्दै निर्वाचित सम्पूर्ण टिमलाई बधाईज्ञापन दिनुभयो । राष्ट्रिय युवा जनस्वयमसेवक दाङका नवनिर्वाचित अध्यक्ष विरेन्द्र विकको अध्यक्षतामा भएको समापन कार्यक्रममा सम्पूर्ण निर्वाचित कार्यसमितिलाई नेपाल कम्युनिस्ट पार्टीका राप्ती ब्यूरो सदस्य तिलक पुनले पनि बधाई मन्तव्य दिनुभएको थियो । कार्यक्रमको सञ्चालन नवनिर्वाचित कार्यसमिति सदस्य मनोज परियारले गर्नुभएको थियो ।

यस्तै रुकुमको प्रथम भेला सम्पन्न भएको छ । भेलाले भाष्कर मल्लको अध्यक्षतामा २१ सदस्यीय जिल्ला कार्यसमिति चयन गरेको छ ।