कहाँ छ राज्य?

प्रकाशित मिति : बुध, कार्तिक २२, २०७४ पार्वती बस्नेत



 

४ वर्ण, ३६ जातले सजिएको सुन्दर फूलवारी मेरो देश नेपाल प्राणभन्दा प्यारो लाग्थ्यो । यहाँ सबै समान छन्, सबैलाई बराबरी हक र अधिकार छ भन्ने बोध हुन्थ्यो, राष्ट्रप्रेमले भरिएका गीतहरु सुन्दा मात्र पनि जोश र जागर फुलेर आउँथ्यो । मेरो प्यारो देश नेपाल, यहीँ जन्मे यहीँ हुर्के, सयौं जुनी यही देशमा जन्म लिन पाऊ बालापनमा पनि त्यो आभाष हुन्थ्यो । आफ्नो देशप्रतिको माया, प्रेम सबैलाई नै हुन्छ र म मा हुनु कुनै नौलो कुरापनि होइन् । म गरिब परिवारको छोरी हुँ । स्वभावले पनि होला मलाई सानैबाट काम गर्न कुनै लाज लागेन । गरिबीले गर्दा पनि हरेक मान्छेलाई धेरै कुराहरुको पाठ सिकाएको हुन्छ । भोक के हो ? लाज के हो ? काम के हो ? र यही गरिबीकै मारमा रहिरहँदा आफ्ना र आफन्त को हुन् त्यो पनि सजिलै चिनाएको हुन्छ । तर पनि झिनो आश नहुँदो हो त मानिस आज यहाँसम्म आइपुग्दैन थियो होला, मानिसले हरेक कुराको विकास र आविष्कार पनि गर्न सक्दैन् थियो होला भन्ने लाग्छ । म गरिब परिवारको छोरी हुँ, त्यसैले मलाई बोर्डिङ स्कुलमा पढ्ने कुनै अबसर नै थिएन त्यसैले मैले हाम्रो यहीँको श्री सरस्वती माध्यमिक विद्यालयबाट कक्षा ८ र अहिलेको पद्मोदय माध्यमिक विद्यालयबाट २०५९ सालमा पूरक परिक्षाबाट एस.एल.सी. पास गरे, त्यसपछिको मेरो पढाई मैले आफ्नो हैसियत हेरेर नै तय गर्नुपर्ने थियो, त्यतिबेला पनि मैले अनुभूति गरेको छु कि पैसा भयो भने कस्ता कस्ताको जीवन कायापलट हुने रहेछ भनेर, त्यत्तिमात्र पनि होइन् पैसाले पैसा नै तान्छ त्यो पनि बोध गरेको छु । फेरि तपाईहरुलाई लाग्ला जेहेन्दार विद्यार्थी हुने हो भने त पढाईमा सहज हुन्छ, छात्रबृद्धि पाइन्छ । मैले अघि नै भनिसके एस.एल.सी. त पूरकबाट पास गरेको मान्छे हुँ म, किनकि पढ्नलाई पनि त्यस्तै तीक्ष्ण दिमाग चाहिँदो रहेछ जुन कुरा ममा थियन, तर मेरै साथीहरु म जत्तिको नहुँदा पनि उनीहरुलाई पैसाले नै पढाएको देखेको मान्छे हुँ म । मैले बारम्बार यसरी पैसालाई नै जोड दिइरहँदा तपाईहरुलाई लाग्न सक्ला के पैसा नै सबैथोक हो त ? हामी माझबाट के मानवता हराएकै हो त ? किन यसरी पैसामा नै फोकस छे यो भन्ने लाग्ला, तर वास्तविकता यही नै हो । पैसा छ हरेक कुरा तपाईको गोजीमा छ, पैसा छ्रैन रमिता हेरेर बस्ने शिवाय तपाईसँग अरु कुनै पनि विकल्प नै हँुदैन । किनकि पैसा र पावरले नै मानिसलाई नजिकिने बनाउछ, चिनिने बनाउछ यो कुरा तपाईहरुले पनि बोध गर्नुभएकै होला, किनकि गरिब तथा असहायहरुका निम्ति छुट्याइएका कोटाहरुमा पनि तिनै पहुँच पुग्नेहरुकै हालीमुहाली चल्छ, किनकि मैले प्रत्यक्ष देखेको छु, सुनेको छु अस्पताल होस् या कहीँ पनि सामान्य नागरिकले सास्ती भोग्नैपर्छ उस्लाई कानुनका कुरा सिकाईन्छ तर धनीहरुका हकमा उस्का पहुँचका मान्छे पहिलाबाट नै त्यही काम गर्ने हुन्छन्, उनीहरुलाई कानुनको पालना नै गर्नुपर्दैन । यत्तिमात्र होइन् निमुखा गरिब परिवारको ब्यक्तिले गल्ती गरेको छ भने उस्लाई सजायको पूरा भागिदार हुनैपर्छ किनकि अड्डा अदालत धाउनका लागि खर्च गर्ने पैसा उसँग हुँदैन तर त्यही गल्ती हुनेखाने घरको ब्यक्तिले गरोस् त कानुनको तमासा बनाएर बाइज्जत बाहिर निस्कन्छ । यही समाजलाई भन्ने हो त हामीले नयाँ नेपाल अनि संघीयता ?? अरुले के भन्नुहुन्छ कुन्नि मलाई थाहा छैन् । तर आज स्वयं मैले पनि यही कुरा भोगिरहेकी छु, विधिको शासन र नीति नियममा विश्वास गरेर गल्ती गरे । त्यही अनुभूति गरिरहेको छु । पटक–पटक मलाई फेरि पनि त्यही कुराको आभाष हुन्छ ‘पैसाको खोलो मैले पनि बगाउन सकेको भए भन्ने लाग्छ’, तर मैले यस्तो भनिरहँदा मैले कानुनको अपहेलना गर्न खोजेको चाहिँ होइन् । किनकी मेरो देश नेपाल जहाँ हरेक नागरिकका लागि अधिकार बराबरी छ, विधिको शासनमा चलेको मेरो देश यही सोचेर नै हो मैले मेरो श्रीमान्को शव भेरी अञ्चल अस्पतालबाट सहजै बुझेको, शरीरभरि नीलडाम चोटहरु थिए, त्यो पनि भेरी अञ्चल अस्पतालको रिपोर्टमा अटाउन सकेन किन हो कुन्नि ? त्यत्तिमात्र होइन् सामान्य पोष्टमार्टम रिपोर्ट २४ घण्टामा दिनुपर्ने भेरी अञ्चल अस्पतालले किन १४ दिन लगायो ? त्यो पनि बुझ्न सकिएन ? १४ दिनको अवधिमा बल्ल भिसेराका लागि केही अंगहरु काठमाडौ पठायो तर १४ दिनको फरकमा पठाइएका ती अगंहरु के मेरै श्रीमान्का थिए त ? त्यो पनि मैले थाहा पाउन सकिनँ । त्यत्तिमात्र होइन् साउन २२ गतेका दिन म बर्दिया पुगेर बर्दिया जिल्ला प्रहरी कार्यालयमा मैले मेरो श्रीमान्को खोजी गरिपाउ भनेर हुलियासहितको निबेदन दिएको छु, तर साउन २३ गते अगैयामा झुण्डिएको अवस्थामा शव भेटियो, त्यो खबर पाउनासाथ हामी बर्दियाबाट र दाङबाट दाइ र मेरो जेठाजुको छोरा घटनास्थलमा हामी आउँदैछौ शव नउठाउनु भनी अगैया प्रहरीलाई खबर गर्दा पनि प्रहरीलाई के–को हतारो थियो शश उठाउन ? त्यो पनि मैले बुझनै सकिनँ, प्रहरीले मैले किटानी जाहेरी दिएको आधारमा मान्छेलाई त थुन्यो तर थुनामा रहेका मान्छेले पनि कसरी फेसबुक चलाए त्यो पनि मैले बुझनै सकिन, त्यत्तिमात्र होइन् मेरो श्रीमान् बर्दियाबाट अगैयासम्म झुण्डिनलाई ती चेकपोष्ट छल्दै आए त त्यो पनि मैले बुझनै सकिन ? चेकपोष्टमात्र छलेनन् बाइकको हेल्मेटसम्म हाम्रो होइन, त्यो पनि मैले बुझनै सकिन, साउन २१ गते राति मेरो श्रीमान्लाई पाहुना पर्न बोलाएकी बिन्दु ज्ञवाली राति एक्कासी हराइन् किन हराइन् ? मेन ढोका नै खुलेको छैन् भने बिन्दु त्यही कोठामै छे भन्ने आँकलन भएन ती आमालाई ? अनि किन सर बिन्दुलाई खोज्न र प्रहरी कहाँ रिपोर्ट लेखाउन गए भन्छिन् यो कुरा पनि मैले बुझनै सकिनँ । त्यत्तिमात्र होइन् बिन्दुका दाइ केशब ज्ञवाली काठमाडौबाट बिहानै ४ बजे बर्दिया पुगेर पनि ५ बजे प्रहरीकहाँ रिपोर्ट लेखाउन गएका छन् । बहिनी र म्यानेजर सर हराए भनेर, जबकी उनकी बहिनी ८ बजे कोठामा नै भेटिइन् त्यो पनि बक्स पलङमा भन्छन् बिन्दुका परिवार । तपाईहरुलाई के लाग्छ कुन्नि गर्मीको समयमा बक्स पलङमा त जाडोका कपडाहरु राखिएका हुन्छन् होला, फेरि बिन्दु त्यस समय ८ घण्टासम्म बक्स पलङमा बस्दा त्यहाँको तापक्रम कत्ति थियो त्यो पनि मैले बुझनै सकिन । मैले यत्तिविधि कुरा भनिरहँदा मेरो श्रीमान्को मृत्युको कारण के थियो ? त्यो मैले जान्न पाउने कि नपाउने ? त्यो मेरो अधिकारभित्र पर्छ कि पर्दैन ? मेरो श्रीमान्को आत्महत्या त्यो हँुदै होइन् किनकि संघर्ष गर्दै अघि बढेको मान्छे, झिनो समस्याबाट भाग्ने मान्छे नै होइनन्, किनकि उनीसँग ६ वर्षको प्रेम सम्बन्ध र झण्डै ६ वर्षको वैवाहिक जीवनमा गाँसिएर बसेको मान्छे मैले राम्रैसँग मेरो श्रीमान्को बानी बुझेको थिएँ । लौ तपाईहरुलाई लाग्ला आफ्नै श्रीमान्को सपोर्टमा बोली भनेर, यदि गल्ती नै भयो रे मानौं तिनीहरुका बीचमा केही सम्बन्ध नै थियो भने पनि त सजाय दिने निकाय त थिए, त्यत्तिमात्र पनि होइन् गल्ती एक्लैले पक्कै भएन, दुबैजनाको सहमतिमा भएको गल्तीले मेरो श्रीमान् मृत अवस्थामा अगैयामा भेटिनु बिन्दु चाहीँ उसको घरमै भेटिने ? यदि सम्बन्ध थियो भने त्यो अपराध केटाकेटी दुबैजनाबाट भएको छ, अपराध महिलाले गरे पनि पुरुषले गरे पनि त्यो अपराध त अपराध नै हुन्छ होला नि होइन र ? भनेपछि अपराधको भागिदार महिला छ भन्दैमा छुट दिने प्रावधान छ र कानुनमा ? मेरो श्रीमान्को मृत्युको बास्तविकता मैले जान्न पाउने कि नपाउने ? त्यही भएर आजभोलि यो मनले भन्छ सबैलाई बराबरी आखाँले हेर्ने ठाउँमा मात्र अर्को जुनीमा मलाई जन्म देऊ, मैले जसरी सानो हँुदा मेरो देश नेपालको कल्पना गरेको थिए, मिलिजुली बसेको मेरो नेपाल, बिधिको शासनमा चलेको मेरो देश नेपाल अब त मलाई खै किन पत्यारै लाग्न छोड्यो । कुरा सुन्न मज्जा हुन्छ काम गर्न उत्तिकै गाह्रो, आज त्यस्तै भएको छ मलाई । पिलो (घाउ)को दुखाई जस्लाई आएको छ उसैले मात्र अनुभव गर्छ त्यो घाउमा मल्हम लगाउनलाई मेरो देशको शासनले कमैमात्र काम गरेको छ तर घाउमा नून छर्ने काम भने मज्जाले गरेकै छ । मान्छेहरु प्रहरी, प्रशासन र अड्डा अदालत भनेपछि किन डराउँछन् भन्ने लाग्थ्यो आजभोलि अनुभूति हुन थालेको छ । नयाँ नेपाल र संघीयता भित्रियो अब सिंहदरबारको सबै हकअधिकार घर आँगनमा भनेर के काम ? जबसम्म त्यसको सही कार्यान्वयन नै हुँदैन भने । सामान्य गरिब परिवारको नागरिकले पनि सुरक्षाको प्रत्याभूति गर्न पाउदैन, आफूले पाउनुपर्ने सेवा सुविधा पनि सहजै पाउन सक्दैन् भने न्यायका कुरा त अब आकाशको फल नै रहेछ हामी गरिबहरुका लागि । अब हामीले कसलाई विश्वास गर्ने ? के कुरामा विश्वास गर्ने ? न्याय पाऊ भन्नका लागि सडक आन्दोलन गर्नैपर्ने ? हकअधिकार देऊ भन्नका लागि पनि आम हड्ताल, भोक हड्ताल गर्नैपर्ने ? त्यत्तिमात्र होइन् शवलाई पनि सडकमा राखेरै आन्दोलन गर्नुपर्ने, कस्तो देशमा जन्म भयो ? भन्ने कुरामा पश्चाताप हुन थालेको छ, के मैले मेरो श्रीमान्को हत्याको कारण किन र केका लागि भयो भनेर सत्य कुरा थाहै नपाउने ?