नेकपाद्वारा राप्तीबाट गिरफ्तार आफ्ना नेता कार्यकर्तालाई रिहा गर्न जोडदार माग/ शान्तिपूर्ण कार्यक्रममा दमन नगर्न प्रशासनसमक्ष आग्रह (विज्ञप्तीसहित)

प्रकाशित मिति : बिहि, कार्तिक २३, २०७४



जानकी दहित,

दाङ, कार्तिक २३ गते ।
नेपाल कम्युनिष्ट पार्टीले राप्ती ब्यूरोबाट गिरफ्तार भएका आफ्ना नेता कार्यकर्तालाई तुरुन्त विना सर्त रिहा गर्न माग गरेको छ । नेपाल कम्युनिष्ट पार्टी राप्ती ब्यूरोका इन्चार्ज सुवासले आज एक प्रेस विज्ञप्ती जारी गर्दै राप्तीका विभिन्न ठाउँबाट गिरफ्तार भएका ६ नेता कार्यकर्ताको रिहाइको माग गर्दै शान्तिपूर्ण कार्यक्रममा दमन नगर्न प्रशासनसमक्ष जोडदार माग गर्नुभएको छ । हिजो मात्र पार्टीका रोल्पा जिल्ला सेक्रेटरी सन्तोष सुबेदी प्रयासलाई रोल्पाको मिझिङबाट, रोल्पा जिल्लाका इन्चार्ज दलबहादुर खत्री जागृतिलाई रोल्पाको लिबाङबाट माके समुहको प्रत्यक्ष उक्साहटमा ठूलो संख्यामा प्रहरी परिचालन गरि गिरफ्तार गरिएको विज्ञप्तीमा उल्लेख छ । यस्तै रुकुम जिल्लाका पार्टीका जिल्ला सदस्यहरु मोतिराम खड्का र दिपक विष्टलाई बाटोमा हिडिरहेको अवस्थामा विना कुनै कारण गिरफ्तार गरिएको पनि जनाएको छ । आफ्नो कामको सिलसिलामा काठमाडौं जान लागिरहेका रोल्पा माडी गाउँपालिका ३ तालाबाङका श्याम घर्ति र रामसिह घर्तिलाई सातदोबाटोमा राजनैतिक प्रतिशोधका कारण गाडिबाट नियन्त्रणमा लगी झुठा मुद्दामा फसाउने प्रपञ्च रचिएको विज्ञप्तीमै उल्लेख छ । हिजो नै रोल्पा दुइखोली गाउँपलिका ५ इरिबाङमा शान्तिपूर्ण तरिकाले जनसभा गरिरहेको अवस्थामा माके समुहले गुण्डागर्दी शैलीमा आक्रमणमा परी पदम चन्द, जयन्द्र बुढा, रोषण डाङी लगायतका सर्वसाधारण जनता घाइते भएको राप्ती ब्यूरोले जनाएको छ । जनसभालाई विथोल्ने प्रयास भने स्थानीय जनताहरुको प्रतिरोधले असफल भएको पनि बताएको छ ।
विज्ञप्तीमा भनिएको छ –“शान्तिपूर्ण कार्यक्रममा भइरहेको चौतर्फी राज्य आतंक र दमनको हाम्रो पार्टीले घोर भत्र्सना गर्दछ, साथै सरकारी दमन तुरुन्त बन्द गर्न आग्रह गर्दछ । जेल हिरासतमा राखिनुभएका पार्टीका नेता कार्यकर्तालाई विना सर्त रिहा गर्न र घाइतेहरुहरुको निशुल्क र पूर्ण उपचार गर्न हाम्रो पार्टी जोडदार माग गर्दछ ।”
साथै मण्डले शैलीमा प्रहरी प्रशासनसँग मिलि आफ्ना पार्टीका नेता कार्यकर्तालाई अनावश्यक दुख नदिन माके समुहलाई पनि गम्भीर चेतावनी दिन चाहन्छौ”–विज्ञप्तीमा लेखिएको छ –“ वर्तमान देउवा सरकार जसले साम्राज्यवादीहरुको दलाली गर्दै नेपाली जनता विरुद्ध सञ्चालन गरेको दमन अभियानविरुद्ध चौतर्फी प्रतिरोधमा उत्रिन र भ्रष्टाचार गर्न लाइसेन्स हात पार्ने संसदवादीहरुको चुनावी अभियानलाई खारेज गर्न, चुनावमा सहभागी नहुन राप्तीबासी आमजनसमुदायमा हार्दिक अपिल गर्दछौं । संसदवादी दलालहरुको भड्कावमा परी पार्टीको राजनैतिक आन्दोलनलाई दमन नगर्न प्रहरी प्रशासनलाई फेरी सचेत बनाउदछौं । हाम्रो पार्टीको आग्रहलाई वेवास्ता गरिए पार्टी चरणबद्ध आन्दोलनमा जान बाध्य हुने कुरा पनि यसै विज्ञप्तीमार्फत जानकारी गराउँदछौं ।”