राप्तीमा जनयुद्धकालको झझल्को दिनेगरी सडकदेखि घरसम्म व्यापक दमन

प्रकाशित मिति : सोम, कार्तिक २७, २०७४



राप्तीमा जनयुद्धकालको झझल्को दिनेगरी प्रशासनले घरदेखि सडकसम्म व्यापक दमन गरिरहेको छ । एकातिर नेपाल कम्युनिष्ट पार्टीका नेताकार्यकर्तालाई जनयुद्धकाल झैं व्यापक गिरफ्तार गरी जेल हिरासतमा राखिरहेको छ भने अर्कोतिर जनतालाई सडकदेखि घरसम्म खानतलासी गरेर सास्ती दिइराखेको छ । दाङको भालुबाङबाट प्रवेश गर्ने रोल्पा प्युठानको मुख्य सडकखण्ड प्युठानको दरबाङ चेकपोष्टमा प्रहरीले युद्धकालको झझल्को दिने गरी गाडिका सयौं यात्रुहरुलाई ओरालेर एक एक खानतलासी गरी घण्टौं सास्ती दिने गरेको बताइएको छ । सधैं ओहोर दोहोर गर्ने जनतालाई एक्कासी त्यहाँको प्रहरी चौकीले प्रत्येकलाई खानतलासी गर्दै इन्ट्री गर्न लगाएर मात्र प्रवेश दिइरहेको छ । सयौं गाडिहरुका यात्रुलाई एकएक चेकिङ इन्ट्री गराएर समयमै गन्तव्यमा पुग्ने यात्रुलाई सास्ती भइरहेको गुनासो छ । उता जनयुद्धकालमा झैं अहिले पनि रुकुमका केहि ठाउँका घरघरमा खानतलासी भएको समाचार पनि प्राप्त भएको छ । अस्ति पूर्व गृहमन्त्री तथा माओवादी केन्द्रका उम्मेद्वार जनार्दन शर्माको गाडिमा बम बिस्फोट हुनु अघि नै रुकुम आसबिसकोटका सबै जनताका घरघरमा प्रहरी गएर छापामार तरिकाले खानतलासी गर्दा जनयुद्धको झल्को दिएको बताइएको छ । त्यस्तै रुकुम खारा, मुरुका केहि घरमा गएर पनि विनाकारण खानतलासी गरेर जनतालाई सास्ती बेहोर्नु परेको छ । संकटकालमा डर त्रासपूर्ण वातावरण सिर्जना गरेको त्यहाँबाट प्राप्त समाचारमा उल्लेख छ ।
अहिलेसम्म राप्तीमा १६ जना नेकपा नेताकार्यकर्ता गिरफ्तार
जनयुद्धकालको आधार क्षेत्र राप्तीमा अहिले पनि राज्यको व्यापक दमन भइरहेको छ । राप्तीमा अहिलेसम्म १५ जना नेकपाका नेता कार्यकर्ता गिरफ्तार भइसकेको राप्ती ब्यूरोले जनाएको छ । रोल्पामा यहि २२ गते नेपाल कम्युनिष्ट पार्टीका जिल्ला सेक्रेटरी सन्तोष सुबेदी प्रयासलाई रोल्पाको मिझिङबाट, रोल्पा जिल्लाका इन्चार्ज दलबहादुर खत्री जागृतिलाई रोल्पाको लिबाङबाट अरुको उक्साहटमा ठूलो संख्यामा प्रहरी परिचालन गरि जनयुद्धकाल जस्तो गिरफ्तार गरियो । त्यस्तै आफ्नो कामको सिलसिलामा काठमाडौं जान लागिरहेका रोल्पा माडी गाउँपालिका ३ तालाबाङका श्याम घर्ति र रामसिह घर्तिलाई सातदोबाटोमा राजनैतिक प्रतिशोधका कारण गाडिबाटै गिरफ्तार गरिएको छ । आज मात्रै रोल्पाको सुलीचौर राचीबाट पार्टीका जिल्ला सदस्य धन बहादुर खत्री टाइगरसहित ५ जनालाई गिरफ्तार गरिएको छ । यस्तै रुकुममा पार्टीका राप्ती ब्यूरो सदस्य गम्भीर, जिल्ला सदस्यहरु मोतिराम खड्का, कपिल, अखिल क्रान्तिकारीका केन्द्रिय सदस्य दिपक विष्ट, संगठनका जिल्ला अध्यक्ष सुरेन्द्र बस्नेतसहित ६ जनालाई बाटोमा हिडिरहेको अवस्थामा गिरफ्तार गरिएको पनि राप्ती ब्यूरोले जनाएको छ । त्यस्तै प्युठानमा नेपाल कम्युनिस्ट पार्टी निकट राष्ट्रिय युवा जनस्वयम् सेवकका केन्द्रीय सदस्य हरि बस्नेत र अखिल (क्रान्तिकारी)का केन्द्रीय सदस्य पदम पोखरेललाई बाटोमा हिडिरहेको अवस्थामा आइतबार बिजुवार जुम्रिबाट प्रहरीले गिरफ्तार गरेको हो । त्यस्तै नेकपा प्युठानका जिल्ला सचिवालय सदस्य गीरुप्रसाद भुसाल ‘परिवर्तन’लाई प्रहरीले ‘भेटघाट छ भन्दै बोलाएर गिरफ्तार गरेको प्राप्त समाचारमा जनाइएको छ । उनलाई आफ्नै ग्रिल उद्योगबाट प्युठान प्रहरीले गिरफ्तार गरेको बताएको छ । त्यस्तै अखिल नेपाल शिक्षक संगठन जिल्ला अध्यक्ष जागेश्वर आचार्य,पार्टीका जिल्ला सदस्य मान बहादुर विकलाई प्युठानबाट गिरफ्तार गरेको छ ।