रुकुममा नेकपाका थप ९ कार्यकर्ता गिरफ्तार/देशैभर व्यापक गिरफ्तार भएपछि जवरजस्त युद्ध थोपर्न लागेको नेकपाको टिप्पणी

प्रकाशित मिति : शनि, मंसिर २, २०७४



 

 

रुकुुममा नेपाल कम्युनिस्ट पार्टीका थप ९ जना कार्यकर्तालाई आज प्रहरीले गिरफ्तार गरेको छ । रुकुमको मुसीकोट नगरपालिका साँखबाट ९ जनालाई गिरफ्तार गरेको नेपाल कम्युनिस्ट पार्टी राप्ती ब्युरोले जनाएको छ । संगठन सुदृढ तथा प्रतिरोध अभियानमा रहेका पार्टीका जिल्ला सदस्यदेखि साधारण सदस्यसम्मलाई प्रहरीले गिरफ्तार गरेको  बताइएको छ । गिरफ्तार हुनेहरुमा पार्टीका जिल्ला सदस्यहरु बालचन्द्र खड्का, हिरामणी रावल, मकर वली, पार्टीका जिल्ला सल्लाहकार प्रेम खड्का, अखिल क्रान्तिकारीका जिल्ला उपाध्यक्ष कृष्ण बस्नेत, संगठनका जिल्ला सचिव प्रेम बोहरा, पार्टीका जिल्ला सदस्य गणेश सुनार, पार्टी सदस्यहरु उद्दव र हुकुम रहेका छन् ।

यसैबीच दाङबाट नेपाल कम्युनिस्ट पार्टीका जिल्ला सदस्य छोटीलाल चौधरीलाई पनि प्रहरीले गिरफ्तार गरेको छ । दाङको रामपुरबाट हिजो चौधरीलाई गिरफ्तार गरेको हो ।

प्रहरीले देशभर नेपाल कम्युनिस्ट पार्टीका कार्यकर्ता तथा शुभचिन्तकहरुमाथिको धरपकड तीब्र पारेको छ । निर्वाचनको मिति नजिकिएसँगै गिरफ्तारीका घटना पनि बढेका छन् । प्रहरीले नेकपाका नेता कार्यकर्ता समर्थक गरी देशभरबाट १ सय ८९ जनालार्इ गिरफ्तार गरेको छ ।
राप्तीबाट मात्र ४० जनालाई गिरफ्तार गरेको छ । यसअघि रुकुमबाट मात्र ७ जना, दाङबाट ११ जना, रोल्पाबाट ६ जना र प्यूठानबाट ७ जनालाई गिरफतार गरेको राप्ती ब्यूरोले जनाएको छ ।

यही सन्दर्भमा देशभर वम विष्फोटका घटना बढ्दै गएका छन् । धेरैले यी घटनामा नेकपाकै हात हुन सक्ने अनुमान गरेका छन् । नेकपाले भने यी घटनाको जिम्मेवारी लिएको छैन । नेकपाका प्रवक्ता प्रकाण्डले पार्टीले चुनाव खारेज गर्न अपिल मात्र गरेको बताएका छन् । संसदीय व्यवस्था र संसदवादी दलका नेताहरुप्रति जनता आक्रोशित भएकाले त्यसको प्रतिक्रिया स्वरुप ठाउँठाउँमा यस्ता घटना भएको हुनसक्ने उनले बताएका छन् ।

नेपाल कम्युनिष्ट पार्टीले भने शान्तिपूर्ण राजनितिक गतिबिधिमाथि रोक लगाएर सरकारले जवरजस्त युद्ध थोपर्न खोजेको जनाएको छ । देशभर आफ्ना नेता कार्यकर्ता तथा समर्थक शुभचिन्तकका घर घरमा खानतलासी गर्ने, घेरा हाल्ने, परिवारका सदस्यलार्इ मानसिक यातना दिने जस्ता काम तिब्र पारेको भन्दै यसलार्इ रोक्न नेकपाले माग गरेको छ । यस्ता कार्य नरोकिए सरकारले त्यसको गम्भीर परिणाम व्यहोर्ने चेतावनी पनि दिएको छ । नेकपाका प्रवक्ता प्रकाण्डले केही निरङ्कुश सोचका कर्मचारी र नेताहरुका कारण देशमा द्वन्द्व बढ्न लागेको बताए । उनले यसलार्इ सामान्य रुपमा नलिन पनि आग्रह गरेका छन् ।