गाउँगाउँमा झाडु लगाएर निर्वाचन सामाग्री जलाइए

प्रकाशित मिति : सोम, मंसिर ४, २०७४



 

 

 

दाङ,
तुलसीपुर उपमहानगरपालिका अन्र्तगत साविक बिजौरीका सबै वडाहरुमा झाडु लगाएर सबै निर्वाचन प्रचार सामाग्री जलाइएका छन् । स्थानीय जनताहरुको सहभागितामा साबिक बिजौरीको ९ वटै वडाहरुमा प्रचारका लागि टाँसिएका निर्वाचन सम्बन्धी पोष्टर,पर्चा, पम्प्लेटलाई झाडु लगाएर जलाइदिएका छन् ।

विकासे नारा दिएर जनता झुक्याउने, विभिन्न आश्वासन प्रलोभनमा पारि मत खरिद बिक्री गर्ने चुनावप्रति वितृष्णा जागेका जनताहरु नै सक्रिय भएर चोकचोक, गल्लीगल्ली, घरघरमा लुकिछिपी टाँसिएका निर्वाचन प्रचार सामाग्रीलाई निकालेर जलाइदिएका हुन् ।

फोहोरी व्यवस्थाको फोहोरी चुनावको कुनै अर्थ नरहेको भन्दै गाउँगाउँमा जनताहरु ठगी खाने व्यवस्थाको चुनावको प्रचार नगर्न पनि उनीहरुले आग्रह गरेका छन् । जथाभावी रंगीबिरगीं कागज जस्तै विभिन्न झुठा विकासे नाराले मत माग्न आउने तर गाउँठाउँ र आफूहरुको अवस्था उस्ताउस्तै हुने तर नेताहरु रातारात मालामाल हुने पदलाई कमाई खाने भाडोको रुपमा रहेको यो व्यवस्थाको चुनावमा भोट नहाल्ने पनि उनीहरुले बताएका छन् ।

दाङको राप्ती गाउँपालिका अन्र्तगत कालापानीमा निर्वाचन सामाग्री जलाइदिएका छन् । स्थानीयकाे सहभागीतामा नेपाल कम्युनिस्ट पार्टीका कार्यकर्ताले निर्वाचन सामाग्री जफत गरेर जलाइदिएका  हुन् । राप्ती गाउपालिका ५ कालापानीमा निर्वाचन कार्यालयबाट खटाएका कर्मचारी तथा स्वयमसेविकाबाट माइनटसहित निर्वाचन सामाग्री खाेसेर जलाइदिएका छन्  । यस्तै राप्ती गाउपालिकाकाे बाल कल्याण निमावि नजिक पनि निर्वाचन सामाग्री च्याति दिएका छन् । उनीहरूले यो व्यवस्थाले जनताको हित गर्न नसक्ने बरु जनसत्तासहित वैज्ञानिक समाजवादी व्यवस्था स्थापनाका लागि यो चुनाव खारेज गर्नुपर्ने  बताएका थिए ।