पत्रकारको गैरकानुनी गिरफ्तारी बिरुद्ध परेको रिटमा सर्वाेच्चमा आज बहस हुदै

प्रकाशित मिति : बुध, मंसिर २०, २०७४



काठमाडौँ, २० मंसिर ।
गैरकानुनी रुपमा गिरफ्तार गरिएका आठ जना पत्रकारको रिहाइको माग गर्दै सर्वाेच्च अदालतमा परेको रिटमा आज बहस हुँदै छ ।

संविधानले प्रत्याभूत गरेका मौलिक अधिकारको उल्लंघन गर्दै सरकारले नै पत्रकारहरु गिरफ्तार गर्नु कानुनी राज्य विरुद्ध भएको भन्दै नेपाल सरकारलाई नै विपक्षी बनाएर रिट दायर भएको थियो । नेपाल पत्रकार महासंघका तर्फबाट महासंघका केन्द्रीय सदस्य जन्मदेव जैसीले पत्रकारहरुको गैर कानुनी गिरफ्तारी बिरुद्धको बन्दी प्रत्यक्षीकरणको फरक फरक तीन रिट दायर गर्नुभएको हो ।
सोहि रिटउपर आज सर्बोच्चमा बहस हुन लागेको हो ।

बुटवलमा पक्राउ परेका नेपाल पत्रकार महासंघका जिल्ला कार्य कार्यसमिति सदस्य समेत रहेका क्रान्तिकारी पत्रकार संगठनका केन्द्रीय सदस्य प्रकाश डुम्रे, प्यूठान भिजन मासिक पत्रिकाका पदमप्रसाद पोखरेल र जायश्वर आचार्य, कालिकोटबाट प्रकाशित हुने जनप्रभात साप्ताहिक पत्रिकाका सम्पादक कालिबहादुर महतारा र सहसम्पादक जगदिशनाथ योगीका लागि तीन फरक रिट दायर भएको हो ।
यस्तै काठमाण्डौबाट गिरफ्तारमा परेका जलजला मासिकका सम्पादक खेम थपलिया, निहीगु ज्वज्वलोप्पा नेवारी पत्रिकाका सम्पादक जितेन्द्र महर्जन र मध्याह्न दैनिकका संवाददाता दिपेशी शाहीको रिहाईको माग गर्दै सोमबार छुट्टै रिट दायर भएको थियो ।