पैसा बाड्न गएका नेपालका स्वकीय सचिव र भाञ्जालाई मतदाताले नै पाता कसेर गाउँ निकाला गरे

प्रकाशित मिति : बुध, मंसिर २०, २०७४



२० मंसिर

काठमाडौँ । मौन अवधि ‘मनि अवधि’ परिणत भएको छ । मतदान सुरु हुन एक रात मात्र बाँकी रहँदा देशभर मतदातालाई प्रभावित पारेका घटना सार्वजनिक भइरहेका छन् ।

यसैबीच नेकपा एमालेका वरिष्ठ नेता माधव कुमार नेपालका सचिव र भान्जा पैसाको झोला बोकेर मतदाताको घरदैलोमा पुगे । मतदाताले नै उनीहरुलाई पक्राउ गरी पाता कसेर पठाएका छन् ।

बुधवार दिउँसो नेपालका भाञ्जा नितेश पौडेलसहित स्वकीय सचिवको टोली पैसाको झोला बोक काठमाडौं निर्वाचन क्षेत्र नं २ स्थित नाङ्लेभारेको लामाटोलमा पुगेको थियो । मतदाताले नै उनीहरुलाई पक्राउ गरी दुबै हात पछाडि बाँधेर गाउँ निकाला गरेका छन् । स्थानीयका अनुसार सोझा मतदातालाई उनीहरुले माधव कुमार नेपाललाई भोट हाल्नु पर्ने भन्दै पैसा बाँडिरहेका थिए ।

पूर्व प्रधानमन्त्री समेत भएका नेपालले त काठमाडाँैमै दिउँसै यस्तो काममा जनशक्ति परिचालन गरेका छन् भने गाउँगाउँतिरको अवस्था के होला सजिलै अनुमान गर्न सकिन्छ ।

पर्साको पोखरीयाबाट सशस्त्र प्रहरीले एमालेका उम्मेदवारको पक्षमा मत खरिद गर्नका लागि पैसा बोकेर हिँडेका एमालेका कार्यकर्तालाई नगद रकमसहित पक्राउ गरेको छ ।

पर्साको क्षेत्र नम्बर ३ मा पर्ने पोखरीया नगरपालिका ९ सोमरबारी चोकबाट सशस्त्र प्रहरीले बुधबार बिहान एमाले कार्यकर्तालाई तीन लाख नगदसहित पक्राउ गरेको हो।पर्साको बहुदरमाई नगरपालिका ७ फुलकौल टोला अशोककुमार गुप्ता रौनियार, वासुप्रसाद यादव र वृजेष पटेल पक्राउ परेका हुन् ।

रौनीयार, पर्सा क्षेत्र नम्बर ३ मा प्रतिनिधिसभा सदस्यका लागि वाम गठबन्धनका उम्मेदवार एवम् एमाले नेता राजकुमार गुप्ता रौनीयारका भाइ हुन् । ना १ ह ९३३२ अटो रिक्सालाई समेरबारी चोकमा सशस्त्र प्रहरीले शंका लागेर चेकजाँच गर्दा नगद तीन लाखसहित एमालेको चुनाव चिन्हमा स्वस्तिक छाप लगाइएको मतपत्रका नमुना, एमालेको चुनाव चिन्ह अंकित पर्चालगायतका चुनावी प्रचारका सामाग्री बरामद भएको सशस्त्र प्रहरी नायब उपरीक्षक दुर्गा दत्त पन्तले जानकारी दिए ।