झुठा मुद्दामा पसाउने प्रपञ्च रचिएमा वा रिहाइ नगरिएमा जनअदालतले नयाँ निर्णय लिने नेकपा राप्तीको चेतावनी

गिरफ्तार भएका आफ्ना नेता कार्यकर्ताहरुलाई तुरुन्त विना सर्त रिहाइ गर्न माग

प्रकाशित मिति : शुक्र, मंसिर २९, २०७४



दाङ, मंसिर २९ गते ।

नेपाल कम्युनिष्ट पार्टी राप्ती ब्यूरोले गिरफ्तार भएका आफ्ना नेता कार्यकर्ताहरुलाई झुठा मुद्दा लगाउने षडयन्त्र भइरहेको भन्दै तुरुन्त विना सर्त रिहाइ गर्न माग गरेको छ । आज नेपाल कम्युनिष्ट पार्टी राप्ती ब्यूरो इन्चार्ज सुवासले एक प्रेस विज्ञप्ती जारी चुनाव सेरोफेरोमा गिरफ्तार भएका नेता कार्यकर्ताहरुमाथि झुठा मुद्दामा फसाउने प्रपञ्च रचिएमा वा रिहाइ नगरिएमा आफ्नो पार्टी, जनसत्ता र जनअदालतले नयाँ निर्णय गर्ने बाध्य हुने चेतावनी समेत दिनु भएको छ । “चुनावी प्रतिद्धन्द्धीहरुबीचको आपसी झडप, आक्रमण, तेस्रो पक्षले घटाएका घटनाहरु र आक्रोशित जनताले गरेका प्रतिरोधका घटनाहरुलाई नेकपाका नेता कार्यकर्ताहरुमाथि झुठा मुद्दा लगाउने षडयन्त्र वा झुठा मुद्दामा फसाउने प्रपञ्च रचिएमा वा रिहाइ नगरिएमा हाम्रो पार्टी,जनसत्ता र जनअदालतले नयाँ निर्णय गर्ने बाध्य हुनेछ भन्ने कुरा यसै विज्ञप्तीमार्फत नेपाल सरकार, राज्य, प्रशासन लगायत सम्बन्धीत सबैलाई जानकारी गराउदछौं”– विज्ञप्तीमा उल्लेख छ ।
विज्ञप्तीको पुरा पाठ यसप्रकार रहेको छ

हाम्रो गौरवशाली पार्टी नेपाल कम्युनिष्ट पार्टीले विगत २ महिनादेखि आफ्नो संगठन सुदृढीकरण तथा प्रतिरोध अभियान शान्तिपूर्ण ढंगले सञ्चालन गरिरहेको सर्वविदितै छ । साम्राज्यवादी तथा दलाल संसदवादीहरुको विदेशीको डिजाइनमा देशमा नयाँ दलाल चुन्नको लागि भएको चुनावभन्दा अघि र चुनाव सेरोफेरोमा शान्तिपूर्ण अभियानमा रहेका हाम्रा नेता कार्यकर्तालाई युद्धशैलीमा धरपकड तथा गिरफ्तार गरि यातना दिइएको छ । साथै चुनावी प्रतिद्धन्द्धीहरुबीचको आपसी झडप, आक्रमण, तेस्रो पक्षले घटाएका घटनाहरु र आक्रोशित जनताले गरेका प्रतिरोधका घटनाहरुलाई नेकपाका नेता कार्यकर्ताहरुमाथि झुठा मुद्दा लगाउने षडयन्त्र पनि भइरहेको छ । यसैक्रममा प्युठानमा मोहन पुन, पदमसिंह पुन, रेशम सुनार, निराजन केसी, जुद्ध भण्डारी, कर्ण बहादुर बुढा, नम बहादुर थापा, रोल्पामा सन्तोष सुबेदी प्रयास, बसन्त प्रचण्ड सेन, श्याम घर्ति, राम बहादुर घर्ति, पौरख शाही(जाजरकोट) र दाङमा हेमन्तराज जिसी, जनक विक, अनिल केसी, आर के पाण्डे, रामा चौधरी, मनोज केसी, अमर खड्का लगायतका नेता कार्यकर्ताहरुलाई तुरुन्त विना सर्त रिहाइ गर्न माग गर्दछौं । षडयन्त्र र झुठा मुद्दामा फसाउने प्रपञ्च रचिएमा वा रिहाइ नगरिएमा हाम्रो पार्टी,जनसत्ता र जनअदालतले नयाँ निर्णय गर्ने बाध्य हुनेछ भन्ने कुरा यसै विज्ञप्तीमार्फत नेपाल सरकार, राज्य, प्रशासन लगायत सम्बन्धीत सबैलाई जानकारी गराउदछौं ।
क्रान्तिकारी अभिवादनसहित
मिति २०७४ मंसिर २९ गते                                                                                                                       इन्चार्ज
सुवास
नेपाल कम्युनिष्ट पार्टी राप्ती ब्यूरो