विपदमा परेकाको उद्धार गर्दै रेडक्रसकर्मीहरु

प्रकाशित मिति : बिहि, पुस ६, २०७४



ओमप्रकाश गुप्ता,
देउखुरी ६ पुस ।

रेडक्रस गढवाको भवनबाट एकाएक २४ जनाको समूह रेडक्रस अंकित एप्रोन, लाईफ जकेट र हेलमेट लगाएको टोली गढवा बजारमा निस्कीयो । अगाडीतर्फ रेडक्रसको अग्लो झण्डा र पछाडी तर्फ लाईनवद्ध रेडक्रसकर्मीको ताँती । कसैले रसी समाएको त कसैले जर्किन, कोहिले वाल्टीन त कोही बेल्चा र सब्बल बोकेको दृष्य, त्यसमा पनि टोली नेताले सिठ्ठी फुकेको आवाज सहित एकाएक गढवा बजारमा देख्दा स्थानीय ब्यापारी र गाउँबाट बजार गर्न आएका सर्वसाधाहरणहरु दङ्ग परेर एकोहोरो हेरी रहे । कहाँ के घटना घटेको रहेछ भनेर स्थानीयहरु कौतुहल बने । लाग्थ्यो उनिहरु कतै आगलागी वा दैविक विपत्तिमा परेकाहरुलाई उद्धारगर्न दौडीरहेका छन् । टोलीे गढवा बजार परिक्रमा गरेर हतार हतारमा राप्ती नदीतर्फ पदयात्रामा लम्कीयो ।
राप्ती नदीमा पुगेर २ लाईनमा उभिएका उद्धारकर्ताहरुले यु सेट र ताँती बिधीबाट बाल्टीनमा पानी बोकेर आगो नियन्त्रण गर्न सफल भए । त्यस्तै राप्ती नदीमा बाढी आएको अवस्थामा बगिरहेका मानीसहरुलाई लाईफ जकेट, रसी र ग्यालेन तथा डोरीको प्रयोग गरि नदीमा हामफाले । बगीरहेका मानिसलाई लाईफ जकेट लगाएका उद्धारकर्ताहरुले कठाङ्ग्रीने जाडोमा पनि पौडीएर नदी किनारामा ल्याएर ज्यान बचाए भने बगीरहेकै अन्य मानिसहरुलाई जर्किन र रसी नदीमा फ्याँकेर सफल रुपमा उद्धार गरे ।
यो कुनै काल्पनिक दृष्य नभएर वास्तविकता थियो तर तालिमका उद्धारकर्ताले छायांकनमा देखाएको दृष्यमात्र । प्राकृतिक विपद् सिठ्ठी फुकेर र घण्टी बजाएर आउदैन, न त यो पुर्व जानकारी दिएर नै आउने गर्छ । यस्तै विपदमा खोज तथा उद्धारका लागि नेपाल रेडक्रस सोसाईटीले डेनिस रेडक्रसको सहयोगमा देउखुरी राप्तीपारीका २ वटा गाउँपालिकालाई अति संकटासन्न क्षेत्र मानेर विपदको बेलामा कामगर्ने खोज तथा उद्धारकर्ताहरु तयार गरिरहेको जनाएको छ । कार्यक्रम संयोजक जगत तामाङका अनुसार बर्षात्को समयमा राप्तीनदी र खहरे खोलाहरुको बाढीको उच्च जोखीम र चैत बैशाखको हवाहुरीमा आगलागीको उच्च जोखिममा रहेका देउखुरी राप्तीपारीका २ गाउँपालिकाका १५ वटै वडाहरुमा ४६ वटा समूहहरु बनाएर यस्तै खोज तथा उद्धारको तालिम दिइरहेको बताए । विपदको बेला प्राथमिक उपचार र खोज तथा उद्धारमा समुदायकै मानिसलाई दक्ष बनाएर परिचालन गर्ने रेडक्रसको लक्ष्य रहेको छ तामाङले बताए गढवा र राजपुर गाउँपालिकाका १५ वठा वडा र ४६ कलष्टरमा बाढी पिडित र अग्नी पिडित नागरीकलाई सेवा प्रवाहगर्न सामुदायिक विपद तथा जलवायु उत्थानशिल समूहहरु बनाएर ४ बर्षसम्म उनिहरुलाई विभिन्न गतिविधीबाट दक्ष बनाउने लक्ष्य रहेको उनले बताए । अहिले ४६ वटै समुहहरुलाई प्रथमिक उपचार र खोज तथा उद्धारको तालिम दिईरहेका छौ यस पछाडिका समयहरुमा यो जनशक्तिको परिचालन गर्दै विपद जोखिमलाई कम गर्ने, विपदको समयमा खोज,उद्धार र राहातमा परिचालन गर्ने र समुदायकै मानिसहरुले छानेका योजनाहरुमा सामुदायिक विकास, क्षमता बिकास र संस्थागत विकासका लागि समेत कामगर्ने रेडक्रसको कार्यक्रम रहेको उनले बताए । डेनिस रेडक्रसको सहयोगमा नेपाल रेडक्रस सोसाईटी, दाङ शाखा र उपशाखा गढवाको समन्वयमा कार्यक्रमहरु ४ बर्षसम्म निरन्तर चलिरहने कार्यक्रम संयोजक तामाङले जानकारी दिएका छन् ।