एकीकृत जनक्रान्तिमार्फत नेपालमा वैज्ञानिक समाजवाद स्थापना हुन्छ : नेता आजाद

प्रकाशित मिति : आइत, पुस ९, २०७४



 

युएई,– नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य एवं मध्यपूर्व इन्चार्ज टेकबहादुर खत्री ‘आजाद’ ले एकीकृत जनक्रान्तिमार्फत नेपालमा वैज्ञानिक समाजवाद स्थापना गरिने बताएका छन् ।

नेपाली जनप्रगतिशील मोर्चा युएईले बिहिबार  युएईमा गरेको पत्रकार सम्मेलनमा बोल्दै नेता आजादले विभिन्न देशमा रहेका नेपालीहरुलाई एकीकृत जनक्रान्तिको पक्षमा गोलबन्द हुन आब्हान गर्दै दलाल पुँजीवादी संसदीय व्यवस्थाका कारण झण्डै ७० लाख नेपालीहरु विदेशीमा भूमिमा रहेर श्रम पसिना बेच्न बाध्य हुनुपरेको बताए ।

नेता आजादले पत्रकारहरुले सोधेको प्रश्नको जवाफ दिदै राज्यसत्ताले गरेको प्रतिनिधि तथा प्रादेशिक चुनावले पुरानै दलाल संसदीय व्यवस्थालाई निरन्तरता दिई भ्रष्टाचार र जनघातलाई संस्थागत गरेको बताए । उनले नेपाली जनताको राज्यसत्ता स्थापनाका लागी सम्पूर्ण सर्वहारा, मजदुर, किसान तथा देश विदेशमा रहेका युवाहरु एकजुट हुनुपर्ने बताउँदै त्यसको नेतृत्व नेकपाले गर्ने बताए ।

मोर्चाको हालै सम्पन्न चौथो अधिवेशन तथा युएइमा रहेका नेपालीहरु बिच समसामयिक विषयमा पार्टीको धारणा सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा त्यहाँस्थित नेपालीहरुको ठूलो उपस्थिति रहेको थियो । सम्मेलनको अध्यक्षता मनोज काउचा मगर र सञ्चालन उपाध्यक्ष कमल पोखरेलले गरेको थिए । मोर्चाका सल्लाहकार पशुपति खड्का र पूर्णसिंह लामाको उपस्थिति रहेको थियो ।
मोर्चाको चौथों अधिवेशनले मनोज काउँचा मगरको नेतृत्वमा २५ सदस्यीय नयाँ कार्यसमिति गठन गरेको थियो ।

मोर्चाले विगत लामो समयदेखि युएईमा रहेका नेपाली मजदुरहरुले भोग्दै आएका विभिन्न समस्याहरुका विषयमा संघर्ष गर्दै आइरहेको छ ।