म्यादी प्रहरीको ज्यान गएपछि कालिकोटमा तीन दिनदेखिको तनाव कायमै

प्रकाशित मिति : आइत, पुस ९, २०७४



म्यादी प्रहरीले सेवा, सुविधा माग गर्दै गरेको संघर्षको क्रममा प्रहरीले गोली चलाउँदा एकजना म्यादी प्रहरीको ज्यान गएपछि कालिकोटमा तीन दिनदेखिको तनाव कायमै छ।  हत्याको विरोधमा स्थानीय जनता सडकमा उत्रिएपछि स्थानीय प्रशासनले कर्फ्यु आदेश जारी गरेको छ। आइतबार बिहान दुई घण्टा हटाइएको कर्फ्यु पुनः लगाइएको छ। सनिबार अपरान्ह ४ बजेदेखि कालीकोट, सदरमुकाम मान्मामा अनिश्चितकालका लागि कफ्र्यू आदेश गरेको छ । स्थानीय प्रशासनले परिस्थिति नियन्त्रण बाहिर जान नदिन भन्दै कफ्र्यू आदेश गरेको बताएको छ । शुक्रबार प्रहरीको गोली प्रहारबाट रास्कोट ४, राताखाल निवासी (२२वर्ष) विवेक ऐडीको मृत्यु भएको थियो ।

कालीकोटका सबै दल, स्थानीय, व्यापारी सबैले घटनाको निन्दा गर्दै पशल–व्यापार, दैनिक काम बन्द गरेर संघर्षमा उत्रिएका छन् । स्थानीयले कफ्र्यू तोडेर प्रदर्शन गरेका थिए । सनिबार नै गृह मन्त्रालयले कालीकोट घटनाको सत्यतथ्य जाँचबुझ गर्ने प्रयोजनका लागि गृहमन्त्रालयका सहसचिव मानबहादुर विश्वकर्माको संयोजकत्वमा चार सदस्यीय समिति गठन गरेको छ ।