उच्च रक्तचापका भ्रम र यथार्थ, ध्यान दिनुपर्ने ८ कुरा

प्रकाशित मिति : मङ्ल, पुस ११, २०७४



शहरी जीवनशैली, अस्वस्थकर खाना, तनावयुक्त जीविका, स्वास्थ्यप्रतिको बेवास्ता आदि कारणले उच्च रक्तचाप अर्थात् ‘हाइपरटेनसन’का बिरामीको संख्या दिनानुदिन बढ्ने क्रममा छ।
विशेषतः बुढेसकालमा देखिने भनेर चिनिने प्रेसर, सुगर जस्ता रोग अहिले युवा एवं बालबालिकालाई समेत प्रसस्त देखिने गरेको पाइन्छ। यस्ता रोगप्रति जनमानसमा रहेका बुझाइले झनै अल्मल्याउने गरेको छ। विभिन्न भ्रम र यथार्थका बीचमा रहेका यस प्रकारका रोगबारे समाजमा सही जानकारी पुर्याउने काम अपरिहार्य भइसक्यो। खासगरी, उच्च रक्तचापबारे केही भ्रम र यथार्थ यस्ता छन्:

भ्रम नं. १
कति रक्तचापलाई उच्च मान्ने त?

सामान्य बुझाइ मा १२०/८० एमएमएचजीको मापनलाई हामीले सामान्य रक्तचाप भनेर बुझ्छौं। तर, उमेर, शरीरमा भएका रोग आदिका कारण यो अंक थोरै तलमाथि पर्नु सामान्य नै मानिन्छ।

अन्तर्राष्ट्रिय सिद्धान्तलाई आधार मान्ने हो भने १२०/८० एमएमएचजीलाइ सामान्य प्रेसर, माथिल्लो प्रेसर १२० देखि १४० र तल्लो ८० देखि ९० सम्मलाई प्रेसर हुने खतराको सूचक मानिन्छ।

त्यस्तै, १४० देखि १६० माथिल्लो प्रेसर र ९० देखि १०० तल्लो प्रेसरलाई ‘स्टेज १’ को उच्च रक्तचाप मानिन्छ। अनि माथिल्लो प्रेसर १६० भन्दा धेरै र तल्लो प्रेसर १ सयभन्दा धेरै भएमा त्यसलाई ‘स्टेज २’को उच्च रक्तचाप मानिन्छ।

स्टेज १ र स्टेज २ को उच्च रक्तचापलाई औषधिको आवश्यक पर्छ।

भ्रम नं. २
रक्तचापको औषधि प्रयोग गर्ने र? खान थालेपछि छोड्न मिल्दैन रे।

चिकित्सककहाँ आउने नयाँ उच्च रक्तचापका बिरामीलाई औषधिको प्रयोग गर्न सुझाउँदा प्रायःजसोले गर्ने प्रश्न हो यो। तर, रक्तचापको औषधिबारे जनमानसमा रहेको यो बुझाइ सही छैन। हामीले औषधिको प्रयोग नगर्दा उच्च रक्तचापकै कारण प्यारालाइसिस, हृदयघात, मिर्गौलामा खराबी, आँखामा हुने खराबी जस्ता अनेक समस्याले सताउने गर्छ। बिरामीको ज्यानै सम्म जाने हुन सक्छ।

तर, चिकित्सकको सल्लाह बमोजिम औषधि प्रयोग गर्दा यी यावत समस्याबाट बच्न सकिन्छ। एक पटक प्रयोग गरिएको औषधिलाई आवश्यकता अनुसार घटाउने वा बढाउने गर्न सकिन्छ।

भ्रम नं. ३
एलोपेथिकभन्दा घरायसी औषधि र आयुर्वेद नै राम्रो

यो बुझाइ पनि धेरैमा पाइन्छ। घरायसी र आयुर्वेदिक  औषधिबाट उच्च रक्तचाप निको पार्ने हलडमा धेरैले एलोपेथिक औषधिलाई बेवास्ता गर्छन्। तर, कतिपय संवेदनशील रोगमा प्रमाणित चिकित्सा विधामा नै भर नपरी हुँदैन। उच्च रक्तचाप पनि त्यस्तै समस्या हो, यसलाई हेलचेक्र्याइँ गरेर घरायसी उपचारमा भर पर्दा बिरामीको ज्यानै जान सक्छ। जीवनशैली परिवर्तन गरी सन्तुलित रुपमा चिकित्सकको सल्लाह बमोजिम औषधि प्रयोग गर्नु नै उचित हुन्छ।

भ्रम नं. ४
रोगको सही पहिचानमा कमि

प्रायःजसो बिरामी छातीमा हुने दुखाइलाई पेटको दुखाइ त होला नि भनेर भ्रममा पर्नेगरेको पाइन्छ। जसले गर्दा उच्च रक्तचाप, हृदयघात जस्ता समस्याबाट ज्यानको जोखिम दिन प्रतिदिन बढ्दै गएको छ।

उच्च रक्तचापका बिरामीले ध्यान दिनुपर्ने कुरा:

१. उच्च रक्तचापका लक्षणहरु (टाउको भारी हुने, अल्छी लागिरहने, मुटुको चाल तेज हुने, छाती भारी हुने, चक्कर लाग्ने आदि) देखिएमा तुरुन्तै चिकित्सकको सल्लाह लिन र जाँच गर्न जानुपर्छ। यी यी लक्षण नदेखिए पनि उच्च रक्तचापको समस्या हुने भएकाले नियमित रुपमा जाँच भने गराउनुपर्छ।

२. उच्च रक्तचाप देखिएपछि हरेक बिरामीले चिकित्सकको सल्लाहमा औषधिको प्रयोग गर्नुपर्छ।

३. उच्च रक्तचापका बिरामीले निश्चित अवधिमा शरीरका महत्त्वपूर्ण अंगको आवश्यक जाँचहरु गराउनुपर्छ।

४. दैनिक सामान्य व्यायाम गर्ने र सन्तुलित एवं स्वस्थ खाना खाने बानी बसाउनुपर्छ।

५. धूमपान तथा मद्यपान गर्नु हुँदैन।

६. तनाव रहित स्वस्थ जीवनशैली अपनाउनुपर्छ।

७. चिकित्सकको सल्लाहबिना औषधिको प्रयोग गर्ने, बन्द गर्ने वा थपघट गर्ने गर्नु हुँदैन।

८. शरीरको तौल सन्तुलनमा राख्नुपर्छ।