कम्युनिस्ट पार्टीभित्र रहेर अवसर खोज्ने र लुट्नेहरुको टाउकोमा बम बर्साऔं:असारे काका

प्रकाशित मिति : मङ्ल, पुस ११, २०७४



नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सल्लाहकार समितिका अध्यक्ष ईश्वरी दाहाल ‘असारे काका’ले कम्युनिस्ट पार्टीभित्र रहेर अवसर खोज्ने र लुट्नेहरुको टाउकामा बम हान्नुपर्ने बेला आएको बताएका छन् ।

१२५औं माओ दिवसको अवसरमा नेकपा जनवर्गीय संगठनहरुको संयुक्त आयोजना ‘माओ दिवस समारोह समिति’द्वारा राजधानीको अनामनगरस्थित संवाद बडलीमा आयोजित कार्यक्रमममा अध्यक्ष असारे काकाले पार्टीभित्र देखिएका अवसरवादीहरुलाई रोक्न मालेमावादी दर्शनलाई बलियो पकडनुपर्ने बताए ।

उनले माओले खराब प्रवृत्ति हुर्कन र फैलाउन नदिन हेडक्वार्टरमा बम वर्षाउन पार्टी पंक्तिलाई आह्वान गरेका घटनालाई दिवस कार्यक्रममा स्मरण गराए । दलाल पूँजीवादी व्यवस्थालाई परास्त गर्न नेकपाले लिएको एकीकृत जनक्रान्तिको कार्यदिशा एक मात्र विकल्प रहेको बताउँदै नेकपा नेपाली जनताको पार्टी भएको बताए ।

पार्टीभित्र विभिन्न रुपका अवसरवादी र पलायनकारीलाई पन्छाएर पार्टी अगाडि बढ्नु नै माओ दिवसको सान्दर्भिकता कायम रहने बताए । कार्यक्रममा बोल्ने वक्ताहरुले चीनमा सर्वहारा क्रान्ति सम्पन्न गर्नमा माओको सफल नेतृत्वको चर्चा गरेका थिए । नेकपाका पोलिट ब्युरो सदस्य अनिल शर्मा ‘विरही’ , अखिल (क्रान्तिकारी)का अध्यक्ष पुर्णबहादुर सिंहले  पनि मन्तव्य राख्नुभएकाे थियाे ।  कार्यक्रममा नेकपाका पोलिट ब्युरो सदस्य गम्भीर, पार्टीका विभिन्न जनवर्गीय संगठनका अध्यक्षहरु उपस्थित रहेका थिए । कार्यक्रमको अध्यक्षता अखिल नेपाल महिला संघ क्रान्तिकारीकी अध्यक्ष बन्धु चन्दले गर्नुभएको थियाे  भने कार्यक्रम सञ्चालन अखिल नेपाल जनसांस्कृतिक महासंघका महासचिव खेम थपलियाले गर्नुभएको छ ।