रुकुमकोटमा सदरमुकाम फर्काउने आन्दोलन चौथो दिन पनि जारी

प्रकाशित मिति : आइत, माघ १४, २०७४



रुकुमकोट : गत बिहीबार साँझ बसेको मन्त्रिपरिषद्को बैठकले गरेको निर्णयमा रुकुम पूर्वको सदरमुकाम प्रस्ताव गरिएको रुकुमकोटबाट सदरमुकाम अन्तै सार्ने गरी भएको सरकारी निर्णयको विरोधमा रुकुमकोटमा भैरहेको विरोध प्रर्दशन आज चौथो दिन पनि जारी छ। सदरमुकाम सार्ने निर्णय भएलगतै उक्त निर्णयको विरुद्धमा बिहीबार राति राके जुलुस गरेका स्थानीयले त्यपछिका हरेक दिन साँझपख मसालजुलुस निकालिरहेका छन्।

यस अन्तरगत रुकुमकोट उपत्यकाका सबै डाडँहरुमा शनिबार राति एकसाथ राके जुलुससहित विरोध प्रर्दशन भयो भने रातभरि नै सरकारी कार्यालयहरुको गेटमा स्थानीयहरु धर्ना बसे। माघको चिसोको पर्वाह नगरी निरन्तर आन्दोलनमा उत्रिएका सर्वसाधारणले आज बिहानैदेखी रुकुमकोट र आसपासका क्षेत्रमा प्रर्दशन जारी राखेका छन्।

आन्दोलन परिचालन समितिका संयोजक नन्दलाल शर्माका अनुसार सधैझैं आइतबार पनि बिहानैदेखी प्रर्दशन भएको र १० बजे युवाहरूले शान्तिपूर्ण लाठी जुलुस निकालेर दवाद दिने कार्यक्रम रहेको छ। त्यस्तै सरकारी कार्यालयमा २४ घण्टे धर्ना र दिनभरि जारी रहने शर्माले जनाएका छन् ।

शेरबहादुर देउवा नेतृत्वको सरकारले नै गत गत असोज १९ गते तत्कालीन गृहमन्त्री जनार्दन शर्माद्वारा जिल्लास्तरीय कार्यालयहरुको उद्घाटन गरी रुकुमकोटलाई अस्थायी जिल्ला सदरमुकामकारुपमा घोषणा गरिएको थियो। तर, अहिले त्यही सरकारले आफ्नो उक्त निर्णयलाई बेवास्ता गर्दै रुकुमकोटबाट सदरमुकाम पूर्वको पुथा उत्तरगंगा गाउँपालिका-१२ गोलखारामा सार्ने निर्णय गरेपछि रुकुमकोट र आसपासका स्थानीय निर्णयको विरोधमा उत्रिएका हुन्।

सरकारको निर्णय सार्वजनिक भएलगतै बिहीबार राति विरोध प्रर्दशन थालेका स्थानीयले रुकुम पूर्वसम्म आवतजावत हुने यातायात ठप्प पारेका छन् भने स्थानीय बजार, पसल, उद्योग कल-कारखाना पनि खुल्न दिएका छैनन्।