प्रचण्डले बारम्बार धोका दिए : लाेकेन्द्र बिष्टमगर

प्रकाशित मिति : आइत, माघ २१, २०७४



नेपालमा जनयुद्ध शुरु गर्नुपूर्व ग्रामीण वर्गसङ्घर्षकै दौरानमा गिरफ्तार भई ७ वर्ष जेल जीवन बिताएर रिहा भई भारतको पटनामा पुनः गिरफ्तार भएका लोकेन्द्र बिष्ट मगरले नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) मा स्थायी कमिटी सदस्य रहँदा नै प्रचण्डसँगको वैचारिक मतभेदका कारण राजिनामा दिएर बस्नुभएको छ । उहाँ नेपालमा पुनः नयाँ क्रान्तिकारी पार्टी निर्माण गरी क्रान्तिलाई अगाडि बढाउने अभिलाषा बोक्नुहुन्छ । अहिले नेपालमा क्रान्तिकारी पार्टीमा क. विप्लवले नेतृत्व गरेको नेपाल कम्युनिस्ट पार्टी सबैभन्दा क्रियाशील र सम्भावना बोकेको पार्टी मान्नुहुन्छ । माकेबाट राजिनामा दिनुका कारण र नेपालमा क्रान्तिकारी पार्टी निर्माणका विषयमा रातो खबर साप्ताहिकका निर्देशक गुणराज लोहनीले उहाँसँग लिएको कुराकानीको मुख्य अंश यहाँ प्रस्तुत गरिएको छ –

»» तपाईंं एउटा क्रान्तिकारी पार्टीमा लागेर क्रान्तिकारी भूमिका निर्वाह गर्नुभयो । तपाईंं पार्टीमा लागिसकेपछि दुईपल्ट जेल पर्दा पनि प्रचण्डजी प्रमुख नेता हुनुहुन्थ्यो । अहिले पनि त्यो पार्टी छ तर त्यो पार्टीलाई छोडेर तपाईं पार्टी मात्र होइन, प्रचण्ड अहिले जे गरिराख्नुभएको छ त्यसप्रति विमति राख्दै छुट्टै बस्नुभएको छ । यसको मतलब के हो ?

यसको पहिलो कारण नेपालमा जनयुद्धको थालनी गरेर यहाँसम्म ल्याउने प्रचण्ड, प्रचण्डजीको नेतृत्व, उहाँका सहयोद्धा कमरेड र हाम्रो पनि हात छ । उपलब्ध उपलब्धि जो छन् ती पनि महान् सहिदहरू बेपत्ताहरू, घाइतेहरू, अपाङ्गहरू, मूल नेतृत्व र हाम्रो हात छ । तर अब नम्बर एक कुरा के भयो भने जुन लक्ष्य, उद्देश्यका साथ पार्टी लड्यो सबै लक्ष्य उद्देश्य पूरा नहुँदै फेरि बाटो डाइभर्ट भयो । हामीलाई आशा थियो यू टर्न हुन्छ । कतैबाट फेरि हुन्छ र क्रान्तिका बाँकी कार्यभार पूरा गर्न क्रान्तिमै डट्छ । फेरि कदम बढाउँछ भन्ने आशा थियो ममा । सायद अरूलाई कति थियो र छ मलाई थाहा छैन । त्यो आशा हुन्जेल त्यहाँ बसियो, भनियो, सोधियो । यही तालले कहिले हामी क्रान्ति पूरा गर्छाैँ त ! जुम्ला कारबाही, खारा कारबाहीपछि नेतृत्व अलि आतङ्कित भयो, मरिन्छ कि भनेर नेतृत्व डराएको आभास हुने भो । त्यसरी भइसकेपछि शान्तिप्रक्रियामा आउनुका दुईटा कारण भए : एउटा उपलब्ध उपलब्धिको रक्षा गर्ने, अर्को बाँकी कार्यभार पूरा गर्ने शान्तिपूर्ण रूपमा क्रान्तिको तयारी गर्न हो भन्ने हो उपलब्ध उपलब्धिको रक्षा गर्नु भनेको गणतन्त्रको सङ्घीयता, धर्मनिरपेक्षताको समानुपातिक समावेशी राजनीतिक प्रतिनिधित्वको रक्षा गर्ने कुरा हो । त्यसको रक्षा कति हुन्छ, देख्ने कुरा भयो र तपाईंहामीले क्रान्तिका बाँकी कार्यभार पूरा गर्ने यी बुर्जुवा केही कुरा पूरा भएका हुन् । यसलाई क्रान्तिकारी भने पनि भयो एउटा कोणबाट, अर्को कोणबाट बुर्जुवा भने पनि भयो, जस्तो गणतन्त्र पनि बुर्जुवा भयो । जस्तो सङ्घीयता ल्याउनका लागि जनयुद्ध लड्नैपर्छ भन्ने पनि होइन तर नेपालका सन्दर्भमा भयो भनौँ ।

अब क्रान्तिका बाँकी कार्यभार पूरा गर्न शान्तिपूर्ण ढङ्गले क्रान्तिको तयारी गर्ने भन्ने आइसकेपछि सदन र सरकारबाट सडकबाट त केही काम भएन । कहिल्यै केही भएन । हुनत खोज्यो तर नाचगानको टाइपको पनि भयो । नाचगानले त कहिले क्रान्ति हुन्छ र ? जस्तो छ दिने आन्दोलनमा नाचगान गरियो । प्रचण्ड कमरेड रेखा थापासँग नाच्नुभयो । ठीक छ त्यो ‘माहौल’ त्यस्तो थियो । मैले नेतालाई उडाउन खोजेको होइन, इलीबिल्ली पार्न खोजेको होइन । तर आउने मान्छेलाई आउन दिने भयो, नाच्ने मान्छेलाई नाच्न दिनुपर्‍यो । तर त्यो रूपमा राज्यसत्ता लिन सकिन्छ त ? सकिँदैन । त्यसो भएको हुनाले हाम्रो मुख्य उद्देश्य पूरा भएन र नेतृत्व अर्कैतिर डाइभर्ट भयो । नम्बर दुई, विचार र क्रान्ति सपनाको कुरा आयो । नेतृत्व डाइभर्ट भयो । सपना पनि बिस्तारै ओझेल पर्ने कुरा हो । पार्टीभित्र विचार, राजनीतिक, सैद्धान्तिक कुरालाई लिएर कहिल्यै पनि गहिरो प्रकारले प्रशिक्षण, स्कुलिङ भएन, टिचिङ, कोचिङको कुरा आएन । तेस्रो कुरा यो रूपमा आइसकेपछि क्रान्तिलाई धोका भयो । अर्को कुरा सङ्गठनात्मक रूपमा लथालिङ्ग भयो किनभने सङ्गठन गर्ने कुरामा जनतामा जानुपर्ने हो । जनतामा जानका लागि योजना, कार्यक्रमहरू जनता र गाउँमुखी हुनुप¥यो । ‘एक्सनल’ खालका हुनुप¥यो । त्यसका लागि मूल नेतृत्व नखटीनहुने हुन्छ । मूल नेतृत्व टिम खट्नुपर्ने हुन्छ । तर सदन र सरकारमा बसेर त्यहीँबाटै सबै कुरा भइहाल्छ भन्ने खालको जो जीवनशैली बन्यो, कार्यशैली बन्यो नि, त्यहाँबाट सङ्गठन गर्न जाने झेउलो गर्ने कुरा भएन । गर्नेहरूलाई पनि गर्न दिने भएन । त्यसो भएपछि के भयो भन्दाखेरि सङ्गठन पनि लथालिङ्ग भयो । अनि हिजोका कैयौँ लडाकु क्रान्तिकारी आस्थानिष्ठ बसेका, बाँचेका मान्छेहरू पनि बिस्तारै ओझेल पर्ने कुरा भयो । अथवा उनीहरू निष्क्रिय हुने भो । सेलाउने भयो । किनभने हुने काम हुँदैन, नहुने मात्र हुन्छ । जस्तो कि सरकार र सदनमा जानुभयो भने आफ्ना गुटका मान्छे, आफ्ना निजी मान्छे विभिन्न नातागोताका मान्छेहरूलाई पहिलो प्राथमिकता दिने कुरा भयो ।

पुरानो, पाको, इमानदार, लडाकु, त्यागी, बलिदानी, क्षमतावान् मान्छेलाई भन्दा मुख्यमुख्य नेताको डफ्फाका नातागोताहरू इष्टमित्रहरू, उनका ‘यस मेन’ हरू, दासहरूलाई मात्रै त्यसमा छान्ने कुरा भयो । त्यो कुरा पनि त ठीक होइन । ल, ठीक छ त्यस्तो दुःख गरेका मान्छेलाई पनि हाल्दे हुन्छ नि । त्यो त छैन, जस्तो अहिले हामीले गरेका छौँ । कतिपयले उठाउँदै भनेका छन् । सामाजिक सञ्जालमा यो समानुपातिक हो कि स्वास्नीपातिक हो कि, छोरीपातिक हो कि, बुहारीपातिक हो भन्छन् नि ! यो नातागोता पातिक के त भन्दाखेरि समानुपातिक र समावेशीको उल्लङ्घन र उपेक्षा त तीबाटै भयो नि ! यो खालको भद्दा क्रम जो गरियो यिनै कुराबाट के गरियो त भन्दा बचेखुचेको आस्था र निष्ठा पनि मर्‍यो । मर्दाखेरि एउटा क्षणमा क्रान्ति र इतिहासको एउटा क्षणमा प्रचण्ड कमरेड हाम्रो आदर्श बन्नुभयो । अब त्यो आदर्श भत्कियो र उहाँ आफैले भत्काउनुभयो । भत्किसकेपछि बिग्रेको पार्टीको ठूलो नेता भएर बस्नुभन्दा सप्रेको पार्टीको समर्थक, शुभचिन्तक र सदस्य मात्रै हुनु पनि ठूलो कुरा हो भन्ने मान्यता अन्यथा हो जस्तो लाग्दैन । नामर्दकी श्रीमती हुनुभन्दा मर्दकी नोकर्नी हुनु बेस भन्ने छ नि ! त्यो भनेको के भने राम्रो पार्टी र नेतृत्व विचारको समर्थक र शुभचिन्तक सदस्य मात्रै हुँदाखेरि त्यो राम्रो हुन्छ । तर बिग्रेको, भत्केको एकदमै विकृतिको, विसङ्गतिको घरै बनेको फोहोरको डङ्गुर बनेको पार्टी र जमघटको ठूलो नेता हुनु भनेको त्यत्तिकै, अझ साङ्केतिक रूपमा आफू फोहोर भएको भन्ने पुष्टि हुन्छ । अनि फोहोर भएको पुष्टि गर्न, त्यसलाई अस्वीकार गर्न म एक्लै भए पनि अलग भएँ । मैले छोडिदिएँ । त्यसरी छोडेपछि अहिले म स्वतन्त्र माओवादी भएँ । उहाँहरू राजनीतिक हिसाबले, विचार, आस्था, निष्ठाका हिसाबले च्यूत हुनुभयो । स्खलित हुनुभयो । च्यूत भइसकेपछि त्यहीँ फन्को मार्नुृपर्ने मैले औचित्य देखिनँ ।

»» यस्तो पार्टीभित्र जुन असाध्यै विकृतीकरण भयो त्यसको प्रतिवाद गर्नुभयो कि भएन ? गरेको भए कसरी गर्नुभयो ?

पहिलो कुरा त त्यो पार्टीभित्र यसरी प्रतिवाद गर्ने, कुरो उठाउने संस्कारको अन्त्य भएको छ । दोस्रो कुरा, हामी केही मान्छेले कुरा उठायौँ, लिखित, मौखिक, सामूहिक उठायौँ । व्यक्तिगत उठायौँ । बैठकमा उठायौँ । छुट्टै भेटेर उठायौँ, लेखेर उठायौँ, बाहिर पनि उठायौँ तर त्यो कुरा सुनुवाइ भएन । सुनुवाइ गरे गरेजस्तो गर्ने, कुम हल्लाउने, टाउको चलाउने, जुँगा हल्लाउने कुरा भयो तर त्यसलाई कार्यरूप कहिल्यै दिइएन । जस्तो कसकसले उठाए भने मैले उठाएँ । आहुती र गोपालजीले पनि उठाउनुभयो । अरू साथीहरूले उठाउने कोसिस त गर्नुभयो तर कस्तो भन्दाखेरि सही बोल्न डराउने खालको वातावरण बन्यो । किनभने त्यहाँ अन्तरसङ्घर्ष नामको चीज पहिल्यै बितिसक्यो । कुनै चीज उठायो भने सात जुनीको पापजस्तो देखिन्छ । किन हुन्छ भने एकदम पूर्वाग्रह राखेर, इगो साधेर अलि परैसम्म नबोल्ने र अनि त्यसपछि देख्लास्, पख्लास् भन्नेखालको भित्रैबाट छुरा उद्याउने खालको हुन्छ । अनि त्यस्तो खालको गरेपछि मान्छे डराउने भइहाल्यो । कि त निस्कनुपर्‍यो नत्र भने कि त आत्मसमर्पण गर्ने दब्बु हुनुपर्‍यो । प्रभु भन्ने, हात जोड्ने, हात थाप्ने, केही थुकिदिएपछि चाट्ने नत्र भने ङिच्च परी बस्ने, त्योभन्दा अरू कुरा भएन । त्यसो भएपछि लडियो । थुप्रै प्रकारले लडियो । जस्तो ७१ सालको चैत १७ गते २१ बुँदे असहमति र समस्या समाधानको उपाय यी छन् भनेर पेस गरेँ ।

मैले अलि लामो छलफलपछि पनि नहुने देखेपछि पो स्थायी कमिटीमा थिएँ, स्थायी कमिटी भन्ने पद नपाएका साथीलाई दिनुहोस् । मलाई चाहिन्न यो । पार्टी सदस्य रहन्छु म, अहिले कहीँ जान्नँ तर यो स्थायी कमिटी भन्ने बिनाकामको पद मलाई किन चाहियो भनेर मैले फालिदिएको थिएँ । सात महिनासम्म केही पुछताछ भएन । सात महिनापछि बाबुराम निस्कनुभयो । बाबुराम निस्केको भोलिपल्ट उहाँले फोन गर्नुभयो राती । बाबुराम निस्कनुभयो, बिष्ट बस्नुपर्‍यो । मैले के भनेँ भने कमरेड यस्तो कुरा त होइन नि । सातसात महिनापछि, बाबुराम निस्केपछि आफै तपाईंले यस्तो कुराकानी गर्ने ? त्यो स्तरको नेताले, हाम्रो अभिभावकले बाबुरामको र मेरो दुस्मनी हो र यो पार्टीभित्र बाबुराम निस्केपछि बिष्ट पस्नुपर्ने ? बिष्ट निस्केपछि बाबुराम पस्नुपर्ने यो के कुरा हो ? मैले पेस गरेको २१ बुँदामा के छ, त्यो हेर्नुभएको छ कि छैन ? त्यो बुँदामा मेरो कुनै निजी कुरा छ ? कुनै नेताप्रति इङ्गित छ ? यो कसैसितको टसल हो र ? भनेँ । यो कुरा पूरा गर्ने, होइन भने यस्ता वाहियात कुरा नगर्नोस् भनेँ । उहाँले कुरा ‘डाइभर्ट’ गरेर होइन बिष्टजी, आउनोस् कमरेड, भेट्नुपर्‍यो । तपाईं र म बस्नुपर्‍यो भन्नुभयो । पहिलोपटक बसियो, दोस्रोपटक बसियो, तेस्रोपटक जाने बेला उहाँले भन्नुभयो, तपाईंले उठाएका सबै कुरा पार्टीका लागि हुन्, आन्दोलनका लागि हुन् । यहाँभित्र भएका विसङ्गति–विकृति हटाउनुपर्छ भन्ने कुरा मैले भनेँ । मलाई थाहा भयो, तपाईं फर्किनुहोस् । अहिलेसम्म संविधान बनाउन लागियो, पार्टी बनेन । अब पार्टी बनाउने हो । ल, पार्टी बनाउनका लागि मलाई साथ दिनुहोस्, फर्किनोस् भन्नुभयो । फेरि सेन्ट्रल कमिटीबाटै लोकेन्द्र बिष्ट कमरेडलाई उहाँले दिएको राजीनामा फिर्ता लिन अनुरोध गर्ने र यथास्थानमा आए र काम गर्ने भनेर निर्णय नै गरेछन् । यता वार्ता पनि भयो, कुरा पनि भयो । मलाई के लाग्यो भने पार्टी सेन्ट्रल कमिटीभन्दा म त ठूलो होइन । ठिकै छ, पार्टी बनाउँछन्, सुध्रिन्छन् भने ठीक छ । मलाई अरू के चाहिएको छ र ? क्रान्तिका लागि अगाडि जाने हो भने ठीक छ भन्ने प्रकारले सोचियो र म फिर्ता भएँ । तर मलाई पछि, यो वर्ष के लाग्दै गयो भने मैले फर्केर गल्ती गरेछु । म नफर्कनु पर्ने रहेछ । मलाई फेरि धोका दिए । त्यतिखेर प्रचण्ड कमरेडले पाल्सी कुरा गरे । भित्र अर्कै थियो तर बाहिर डेन्टिङपेन्टिङका कुरा गरे भन्ने लाग्यो । त्यसपछि पार्टी सदस्य राखिदेऊ । पार्टी सदस्य रहन्छु तर पद लैजाऊ भनेँ पहिले । अहिले पार्टी सदस्य पनि खाऊ, लौ म तिम्रो पार्टीमा बस्दिनँ भनेँ । यसरी म लामो समयसम्म लडेँ यो पार्टीमा ।

नेपालको कम्युनिस्ट आन्दोलनभित्र एउटा दरो प्रश्न के छ भने कुनै पनि पार्टीभित्र कम्युनिस्ट निर्माण गर्ने विधि के हो ? समाजवादजस्ता चालचलनमा आएका छन् । जस्ता सोचविचार छन् । रबाफरबैया छन् । जस्ता चिन्तन शैली छन् त्यस्तै हुबहु आएर बन्छ न कि तिनीहरूलाई अलग ढङ्गले तालिम दिनुपर्छ । ‘क्वालिटी अफ लिडरसिप’ को ‘ट्रेनिङ’ दिनुपर्छ । के कम्युनिस्ट नेता हुनका लागि, कार्यकर्ता हुनका लागि कुनै ट्रेनिङ छैन ? कुनै प्रशिक्षण छैन ? कुनै नयाँ चीज साँचोमा ढाल्नु पर्दैन ? कुनै नयाँ चीज साँचोमा ढाल्नु पर्दैन ? हिजोका जिम्मवालका छोराछोरीले जस्तो गर्छन् उस्तै यहाँ कम्युनिस्ट हुने भए कम्युनिस्ट पार्टी किन चाहियो ? मैले यो प्रश्न डेढ दशकदेखि उठाउँदै आइरहेको छु ।

कम्युनिस्ट आन्दोलनभित्र मैले झन्डैझन्डै चार दशक बिताएँ । २३ वर्ष सेन्ट्रल कमिटीमा काम गरेँ । यो पार्टीभित्र मैले नेतृत्वप्रति, सहयोद्धाप्रति र यो पार्टीको नेता–कार्यकर्ताप्रति गरिने व्यवहार पूरै सामन्तहरूले गर्ने व्यवहार गरिन्छ । हो, त्यही कुरा दोहोरिन्छ भने यो पार्टी विघटन गरिदेऊ । के काम छ ? नयाँ सामन्त हामीलाई किन चाहियो ? नयाँ राजा हामीलाई किन चाहियो ? जस्तो उहाहरण म दिन्छुः मेरा सहयोद्धा हेमन्तप्रकाश ओली, उहाँ सहिदको बाबा पनि हो नि । उहाँ र म एउटै गाउँका हौँ । उहाँ र म एउटै ठाउँका, सँगसँगै जन्मेका हौँ । उहाँ एक वर्ष चानचुनले कान्छा हुनुहुन्छ मभन्दा । हामी सँगै कम्युनिस्ट आन्दोलनमा लाग्यौँ । सँगै माथि आयौँ । तर हामी दुईतीनवटा कुरामा सँगै भएनौँ । एउटा दलाल र गुलाम भएनौँ । अर्को पैसा बोकेर नेताहरूलाई कोसेली चढाउन जानेनौँ । गुण्डा, सुन्डमुसन्ड, कुन्द्रे, मुन्द्रे, जगल्टेहरूलाई आफ्नो रखबार, आफ्नो सेक्युरिटी बनाएर टेबुल ठोकेर मलाई यो दिने भए दे, नदिने भए यसो गर्छौं भन्न जानेनौँ । हेमन्त र मेरो यही कमजोरी त हो नि । यो गर्न सकिएन किनभने यो कम्युनिस्ट पार्टी हो । हामी त्यसो किन गर्ने भन्ने सोच्यौँ । हामीलाई गलहत्याएर फालियो । उनीहरू नयाँ सामन्त, नयाँ राजा, नयाँ जिम्मावालहरू हुन् भन्ने हामीलाई लाग्यो । हेमन्त पनि पार्टीभित्र नलडेको होइन । राम्रो अध्ययन गर्ने मान्छे हो । क्षमता भएको मान्छे हो । इमानदार मान्छे हो । हामीलाई त साइड लगाइयो । साइड लगाउन मूल रूपमा प्रचण्डको हात छ । त्यसपछि प्रचण्डजीको पछिल्लोपटक के छ भने उहाँ तीनचारवटा घेराभित्र हुनुहुन्छ । पहिलो घेरा परिवारको घेरा, दोस्रो घेरा लोभीपापीको घेरा, तेस्रो तस्कर, कमिसन, लुटाहा, शोसक, सामन्तहरूको घेरा, चौथो देशी, विदेशी प्रतिक्रियावादीको घेरा । अनि यो घेराभित्र रहीकन असल र हिजोदेखि उहाँलाई, पार्टीलाई र क्रान्तिलाई काँधमा थापेर आएका मान्छेलाई पूरै डिलिट गर्ने काम भइसकेपछि त्यो घेराले उहाँलाई खायो, पचायो र उहाँ रहनुभएन । उहाँ अहिले आएर एमालेमा विलय हुँदै हुनुहुन्छ । मैले यो कुरा किन राखेँ भने सन्दर्भवश अलिकति बाहिर त गएको छैन । एक खालको चरित्र वा प्रवृत्ति हुन्छ पार्टीभित्र । हामी भावनाले पार्टीमा लागियो होला । काम गर्दै जाँदा विचार विकास भयो होला । विचार पनि समातियो । विचार विक्षिप्त भएर लड्दैलड्दै जाँदा फेरि भावनाको किल भयो कि कतै भनेर पनि हेर्न कुरा भयो ।

त्यसैले यस रूपमा हेर्दाखेरि पार्टीभित्र खासगरी असहिष्णु प्रवृत्ति अन्तरसङ्घर्षको शून्यप्रायः कुरा, वर्गीय भावनाको अन्त्यको कुरा, आस्थानिष्ठाको कुरा, क्रान्ति, स्वतन्त्रता र मुक्तिको सपना निस्तेज भएको कुरा यसको प्रमाणका रूपमा पछिल्लो माओवादीका रूपमा त्यसलाई सुन्दर नमुनाकै रूपमा हेर्न सक्छौँ । यतातिर सुन्दर भनौँ वा भद्दा, त्यसरी हेर्न सक्छौँ र त्यहाँ बस्नुको कुनै औचित्य छैन । त्यहाँबाट अझै पनि स्वाभिमानी, इमानदार, त्यागी, बलीदानी, जनयुद्धका राम्रा नेता–कार्यकर्ताहरूको अझै क्रान्तिप्रति, माक्र्सवाद, माओवादप्रति, सहिदका सपना पूरा गर्ने अभीष्ट राख्ने कोही हुनुहुन्छ भने उहाँहरूले बेलैमा आँखा खोल्नुपर्छ । दिमागको ढकनी खोल्नुपर्छ र उहाँहरूले नयाँ बाटो रोज्नुपर्छ । नयाँ बाटो कता हो, के हो त्यो खोज्नुपर्छ ।

»» अब के गर्नुहुन्छ त ?

अब गर्ने दुईवटा कुरा : पहिलो कुरा, अहिले मेरा दुईवटा काम छन् । एउटा काम अध्ययन गर्नु छ । मैले नेकपा एमाले र नेकपा माओवादी केन्द्र भन्ने पार्टी जो छन् र यिनीहरूको जो एकीकरण हुँदैछ, यीबाहेकका कम्युनिस्ट पार्टीका बारेमा अध्ययन गरिरहेको छु । विप्लवजीले नेतृत्व गर्नुभएको पार्टी नेकपा, मोहन वैद्यले नेतृत्व गर्नुभएको क्रान्तिकारी माओवादी अनि मोहनविक्रमको पार्टी, त्यसपछि यता ऋषिजीहरू । त्यसपछि माओवादी केन्द्रबाटै निस्केका दुईजना कमरेडले छुट्टाछुट्टै पार्टी बनाउने अथवा पार्टीका लागि आधारभूमि तयार पार्ने प्रकारले एक ढङ्गले लागिराख्नुभएको छ । गोपाल किराँती र आहुती दुईजनाको पनि नजिकनजिकै छु र अध्ययन गरिरहेको छु । अध्ययनको सिलसिला छ मेरो । पहिले डकुमेन्ट हेर्ने, अर्को उहाँहरूसँग प्रत्यक्ष छलफल गर्ने जसबाट उहाँहरूको दिशा कता हो ? उहाँले गर्न के खेज्दै हुनुहुन्छ ? एउटा कुरा यो हो स्वतन्त्र अध्ययन ।

अब अर्को कुरा, यो त्यति लामो चल्दैन । एउटा निश्चित समयसम्म चल्छ । त्यसपछि यी पार्टीहरूलाई एकीकृत गर्नुपर्छ भन्ने लागिरहेको छ । एक्लाएक्लै डम्फु बजाएर हुँदैन । मिल्नुपर्छ । मिल्न सक्ने कुरामा मिलाएर सकेसम्म पार्टीएकता, नभए कार्यगत एकता गरेर भए पनि अब दुईवटा धार हुने भयो । एउटा संशोधनवादी धार केपी ओली र पुष्पकमलको । उहाँहरू कम्युनिस्ट होइन, वामपन्थीसम्म भन्न पाउँला । पछि वामपन्थी पनि हुनुहुन्न उहाँहरू, कम्युनिस्ट त हुँदै होइन । केही समय वामपन्थी भनेर सुहाउने त हुनुहुन्छ । त्यो वामपन्थी पनि हुनुहुन्न । उहाँ र उहाँहरू अन्त्यमा हुने के हो त भन्दाखेरि सामाजिक प्रजातान्त्रि पार्टी र शक्ति हुन सक्नुहुन्छ । त्यसैले एउटा धार यो भयो संसद्वादी धार । अर्को धार क्रान्तिकारी । खास लेनिनवादी, माओवादी धारभित्र यी कम्युनिस्ट पार्टी, व्यक्ति र नेतृत्व जति हुनुहुन्छ नि, उहाँहरू र हामी सबै मिल्नु जरुरी छ । एकीकृत हुनुपथ्र्यो, ध्रुवीकृत हुने भयो । एउटा धार र ध्रुव त्यता संशोधनवादी धार र अर्को धार क्रान्तिकारी धार । त्यहाँ क्रान्तिकारी कोही छैन । क्रान्तिकारीले यो धार पकड्नुपर्‍यो । यहाँ किसान, मजदुर, सर्वहारा जनताका निम्ति लड्ने पार्टी को हो, उसले आफ्नो शक्तिले युनिफाइड गर्नुपर्‍यो । यहाँका राष्ट्रियता, जनजीविका मुद्दालाई लिएर लड्नुपर्‍यो । लड्ने भनेको हतियार उठाएरै लड्ने भन्ने हुँदैन ।

शान्तिपूर्ण ढङ्गले, सशस्त्र ढङ्गले लड्नुपर्ने हुन सक्छ । क्रान्ति, आन्दोलन र लडाइँ भनेको रहरले गर्ने चीज होइन, बाध्यताले गर्ने चीज हो । त्यसकारणले यो कामका लागि मैले आफूलाई लगाइरहेको छु । मेरो कति पुग्छ, सबै मैले गर्ने कुरा त भएन । तर मैले कमसे कम पनि आफ्नो शक्ति लगाएर अनुरोध गर्ने, नेतृत्वसँग भेट्ने, उहाँहरूलाई योयो आवश्यकता छ, तपाईंहरू जुट्नोस् । मैले मेरो ठाउँबाट के भूमिका निर्वाह गर्नुपर्छ । खासगरी क्रान्तिकारी पार्टीलाई ध्रुवीकृत गर्नुपर्छ भन्नेतिरबाट म लागिरहेको छु । तेस्रो, पार्टी के हुन्छ त भन्दा म भोलि कुनै पार्टीमा लाग्छु कि लाग्दिनँ भन्ने कुरा विस्तारै सोचौँला, अहिले यत्ति । मेरो ऐतिहासिक काम हुन्छ यो । यो काम मैले गर्नुपर्छ । अहिले सबभन्दा क्रियाशील पार्टी भनेको नेपाल कम्युनिस्ट पार्टी हो भन्ने एक अर्थमा देखेको छु । यो कति पर जान्छ, यसले आफ्नो बाटो कति तय गरेको छ, त्यो अलिकति बुझ्न बाँकी छ । संसदीय धारमा एमाले र गैरसंसदीय धारमा नेपाल कम्युनिस्ट पार्टी सक्रिय देखिएका छन् भन्ने मैले बुझेको छु । यी पार्टीले गरिखाऊन् भन्ने हो । स्रोत : रातो खबर साप्ताहिक