कस्तो समाजवाद ? / यो राज्य व्यवस्थाभित्र किन सम्भव छैन वैज्ञानिक समाजवाद ? : गुणराज लोहनी

प्रकाशित मिति : सोम, माघ २२, २०७४



ऐतिहासिकता

सापेक्षित स्थिर भूगोलसहितको नेपाल बन्दै गर्दा नेपाली समाज सामन्तवादी युगमा रहेका तथ्यहरू रहेका छन् । यद्यपि त्यस समयमा दास–मालिक समाजका विशेषताहरू प्रशस्तै थिए । त्यो एक किसिमको दास युगबाट सामन्तवादी युगको संक्रमण थियो । त्यस समयमा सामन्तवादी राज्य व्यवस्थाअन्तर्गत उत्पादन शक्ति र उत्पादन प्रणालीबीच सङ्घर्ष सामन्त र गरिब किसानका रूपमा चलिरहेको थियो । नेपालमा गणराज्यहरू हुँदै गर्दा प्रागकृषिगत उत्पादन प्रणाली रहेको थियो । जब गणराज्यहरू अधिराज्यतिर उन्मुख हुँदै गए अनि सामन्तवादी आर्थिक प्रणाली नेपाल प्रवेश ग¥यो । जब नेपाल एकीकृत अधिराज्य बन्न पुग्यो, सामन्तवादको नेतृत्व भएका कारण सामन्तवादी राज्य प्रणाली कायम भयो ।

सन् १८१६ को सुगौली सन्धिपछि नेपाल सामन्ती मात्र नरहेर अर्धसामन्ती र अर्धऔपनिवेशिक बन्न पुग्यो । यसमा उत्पादनका साधन, उत्पादक शक्ति, उत्पादन सम्बन्ध ..अर्धसामन्ती र अर्धऔपनिवेशिक रह्यो । यो अर्धसामन्ती र अर्धऔपनिवेशिक उत्पादन र वितरण प्रणालीका विरुद्ध उत्पादक शक्तिले सङ्घर्ष गर्दै आयो । सामन्ती राजतन्त्रात्मक राज्य प्रणालीका विरुद्ध वि.सं. १९३३ तिर नै सङ्गठित सङ्घर्ष सुरु भएको थियो । जङ्गबहादुरले आफ्नो शासन प्रणालीका विरुद्ध विद्रोह गरिँदैछ भन्ने थाहा पाएर वि.सं.१९३३ फागुन २ गते लखन थापा, उनका साथीहरू जयसिंह चुमी (राणा), अच्छामी मगर र अन्य चार गरी ७ जनालाई क्रूरतापूर्वक झुन्ड्याएर मारेका थिए । यसरी राणा शासनका नाममा रहेको अर्धसामन्ती र अर्धऔपनिवेशिक शासन प्रणालीका विरुद्ध २००६ र ००७ मा हतियारबद्ध सङ्घर्ष भएका थिए । यो सङ्घर्षले १०४ बर्से राणा शासनको अन्त्य त ग¥यो तर दिल्लीमा काङ्ग्रेस, राजा र राणाका बीचमा सम्झौता भएका कारण २००७ सालको परिवर्तनपछि पनि नेपाल अर्धसामन्ती र अर्धऔपनिवेशिक नै रह्यो ।

त्यसपछि २०४६ सालको आन्दोलनले निरङ्कुश पञ्चायती व्यवस्था त ढल्यो । तर अर्धसामन्ती अर्धऔपनिवेशिक राज्य संरचनामा परिवर्तन आएन । विश्व साम्राज्यवाद उदारवादमा प्रवेश ग¥यो । त्यसको प्रभाव नेपालमा पनि पर्न गयो । यसरी अर्धसामन्ती–अर्धऔपनिवेशिक राज्य संरचनामा उदारवादको प्रभावबाट बन्न गएको उत्पादन प्रणाली उत्पादक शक्तिका बीचमा नयाँ सङ्घर्ष सुरु भयो । यसले एकातिर वर्गीय मुक्तिको आवश्यकता बोध ग¥यो भने अर्कोतिर राष्ट्रिय मुक्ति पनि अनिवार्य बन्न गयो । यसैको फलस्वरूप २०५२ साल फागुन १ गते जनयुद्धको घोषणा भएको थियो । ९÷११ को अमेरिकामा भएको घटनापछि विश्व व्यवस्थामा नयाँ सङ्कट देखा प¥यो । नेपालमा पनि जनयुद्धको विकासले अर्धसामन्ती संरचनामा निकै ठूलो उथलपुथल ल्याइदियो । यसरी १० बर्से जनयुद्ध र १९ दिने जनआन्दोलनबाट सामन्ती राजतन्त्र अन्त्य हुने परिस्थितिमा पुग्यो । यसले सामन्तवादी हैकम हटेर गयो । तर औपनिवेशिक हैकम कायम नै रह्यो । यसले गर्दा नेपालमा दलाल पुँजीवाद स्थापना हुन पुग्यो । राजतन्त्रको अन्त्यपछि पनि नेपालमा राष्ट्रिय पुँजीवादको विकास हुन सकेन । सन् २००० जसरी विश्वमा निगम पुँजीवादको विकास भयो । नेपालमा परम्परागत अर्धसामन्ती र अर्धऔपनिवेशिक राज्य संरचनाको स्थान दलाल पुँजीवाद वा निगम पुँजीवादले लिन पुगेको छ । यहाँका संसदीय राजनीतिक पार्टी, तिनीहरूबाट पालितपोषित अर्थविद्हरूले यसैलाई पुँजीवादको विकास भनी भ्रम छरेका छन् र उनीहरूले अब समाजवाद सम्भव छ भनिरहेका छन् ।

वर्तमान सत्ताको संरचना र त्यसका अवयवहरू

अहिले नेपालमा सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक राज्यव्यवस्था छ । यसको सार रूप भनेको दलाल पुँजीवादी वा निगम पुँजीवादी हो । यस राज्यव्यवस्थाको संरचना, यसको आर्थिक, उत्पादन र वितरण प्रणाली दलाल पुँजीवादी वा निगम पुँजीवादी रहेको छ । यही प्रणालीलाई आधार बनाएर समाजवाद लागू गर्ने भनेको अँध्यारोमा छामछुम गर्नु वा भ्रमको पुलिन्दा बाँड्नु हो ।

क– राज्य संरचना

नेपालमा राजतन्त्रको अन्त्यपछि स्थापना हुन पुगेको दलाल पुँजीवादी वा निगम पुँजीवादी राज्य संरचनाका विशेषता पुँजीवादको विशेषतासँग केही पनि मिल्दैन । यो नयाँ आवरणमा असाध्यै प्रतिगामी, राष्ट्रघाती र जनघाती रहेको छ । नेपालको विगतको राज्य प्रणाली घरेलु र देशीविदेशी प्रतिक्रियावादको आडभरोसामा सञ्चालित थियो । तर अहिले विदेशी प्रतिक्रियावादको शीर्षस्थानमा रहेको निगम पुँजीवादको पनि हस्तक्षेप रहँदै आएको छ । नेपालको अहिलेको पुँजीवादमा मुख्यतया निगम पुँजीवाद, नोकरशाही पुँजीवाद र केही हदसम्म सामन्तवादी पुँजीवादको सम्मिश्रण छ । त्यसैले यस्तो राज्यका नयाँ र फरक विशेषताहरू रहने गरेका छन् ।

निगम पुँजीवाद कुनै पनि राज्य संरचनाभन्दा माथि रहेको हुन्छ । यो विशुद्ध नाफाघाटामा चलेको हुन्छ । यो कुनै राज्यको नियन्त्रणमा रहेको हुँदैन । यसले कुनै पनि राज्यका सबै अवयवहरूलाई खरिद्छ वा आफ्नो अनुकूलतामा राख्दछ । यस्ता देशहरूमा आफूअनुकूल नियम, ऐनकानुन बनाउँछ । देशभित्रको साधनस्रोत आफ्नो नियन्त्रणमा लिनका लागि त्यो देशसँग व्यक्तिगत कम्पनीहरूको सम्झौता, सहमति गराउँछ । राज्य सञ्चालक, राजनीतिक नेता, नोकरशाहहरूलाई किन्छ । हिजोको साम्राज्यवादको जस्तो कुनै देशलाई युद्ध वा ध्वाँसद्वारा नभएर सस्तो मोलमा सन्धि–सम्झौता गरेर हडप्छ । आफूलाई चाहिने जनशक्ति उसैले बनाएको शिक्षा प्रणालीबाट उत्पादन गर्दछ । विगतका १८ वर्षसम्म लागू गरिएका शिक्षा प्रणालीको अध्ययन गर्दा उसले अदक्ष, दक्ष र अति दक्ष जनशक्ति उत्पादन गरिरहेको छ । अदक्ष जनशक्ति शिक्षित त हुन्छ । रोजगारी पाउँदैन । उसको आर्थिक उत्पादनमा कुनै भूमिका नरहने भएकाले आय पनि हुँदैन । दक्ष जनशक्ति निगम पुँजीवादद्वारा सञ्चालित कम्पनीहरूमा निम्न काममा केही समयका लागि कम बेतनमा काम गर्न बाध्य हुन्छन् । अति दक्ष जनशक्ति असाध्यै कम सङ्ख्यामा रहेका हुन्छन् । उनीहरूका सबै क्षमताहरू केही मूल्य दिएर खरिद गर्दछ । यस्ता जनशक्तिले उच्चखालको श्रम मूल्य पाउँछन् । तर तिनीहरू पनि केही समयपछि अवकाश लिन बाध्य हुन्छन् । यसरी विगतमा जस्तो उत्पादन प्रणाली निगम पुँजीवादको नियन्त्रणमा पुग्न गएको छ । राज्य त छ तर त्यसलाई नियन्त्रण गर्ने अर्को निकाय बन्न पुगेको छ ।

ख– आर्थिक प्रणाली

यसरी नेपालमा अहिलेको आर्थिक प्रणाली हिजोको सामन्ती छैन । साथै पुँजीवादी पनि छैन । सामन्तवादी आर्थिक प्रणालीभन्दा पुँजीवादी आर्थिक प्रणाली प्रगतिशील हुने गरेको थियो । यसले औद्योगिकीकरण गरेको गियो । यो राष्ट्रिय चरित्रको थियो । जब पुँजीवादले आफ्नो छुट्टै दर्शनको विकास गर्न सकेन तब उसलाई आफ्नै दृष्टिकोणको अभाव भयो । उसले सामन्तवादी दर्शन वा आदर्शवादी दर्शन अँगाल्न पुग्यो । यसबाट सामन्तवाद र पुँजीवादका बीचमा गठबन्धन हुन पुग्यो र साम्राज्यवादी पुँजीवादको जन्म भयो । लेनिनको पालाको साम्राज्यवादले आफ्नो रूप बदलेको छ । साम्राज्यवादजस्तै अहिले पनि मरणासन्न, परजीवी, अतिकेन्द्रीकरण यो निगम पुँजीवादका विशेषता रहे पनि देशमा सीमित रहेको छैन । उत्पादनका साधन, उत्पादन सम्बन्ध र उत्पादक शक्तिहरूमा फेरबदल आएको छ ।

ग– उत्पादन प्रणाली

अहिलेको नेपालको राजनीतिक र आर्थिक अवस्थाका बारेमा स्पष्ट भैसकेपछि यहाँ आर्थिक प्रणाली र त्यसमा आधारित उत्पादन प्रणाली कस्तो छ भनेर सहजै अनुमान गर्न सकिन्छ । राज्य प्रणालीले त्यहाँको उत्पादन प्रणालीलाई प्रतिबिम्ब गर्दछ । अहिले उत्पादनका साधनहरू दलाल पुँजीवादको हातमा रहेको छ । उत्पादन सम्बन्ध निगम पुँजीवादी राज्य व्यवस्थामा आधारित रहेको छ । त्यसैले पहिलो कुरा नेपालको प्राकृतिक साधनस्रोतको भरपूर उपयोग हुनसकेको छैन । दलाल पुँजीवादले उपयोग गरेकाले राष्ट्रिय उत्पादनमा यसको भूमिका न्यून रहेको छ । जति पनि उद्योगधन्दा चलेका छन् यी सबैजसो विदेशी छन् । यहाँको सस्तो कच्चा पदार्थ र सस्तो श्रमको प्रयोग गरिन्छ । यहीँको बजारमा महँगोमा बेचिन्छ र पुँजी विदेश पठाइन्छ । त्यस कारणले यहाँका नयाँ, ठूला राष्ट्रिय उद्योगहरू खुलेका छैनन् । सामान्य शृङ्गारिक विकास भएको देखिन्छ । यसले राष्ट्रिय पुँजीको विकास हुन सकेको छैन । देशमा रोजगारी सिर्जना हुन सकेको छैन । अहिले शिक्षा र स्वास्थ्य क्षेत्रलालई पनि आर्थिक उत्पादनको माध्यम यस दलाल पुँजीवादले बनाइराखेको छ । एकातिर रोजगारीको सुनिश्चितता नहुनु, भए पनि उचित ज्याला नपाउनु, उत्पादनका साधनमाथि एकलौटी कब्जा जमाउनु दलाल पुँजीवादमा आधारित भएका कारण उत्पादन शक्ति र उत्पादन प्रणालीका बीचमा इतिहासमा नै नभएको नयाँ खाले अन्तरविरोध सिर्जना भएको छ ।

घ– वितरण प्रणाली 

पुँजीवादको वितरण प्रणाली असाध्यै असमान हुने भएकाले यसले वर्गहरूको जन्म गराउँछ । त्यसमा पनि अहिले नेपालमा विकृत पुँजीवाद रहिरहेको छ । विश्वभरि असमानताको खाडल गहिरिँदै गएको छ । निगम पुँजीवाद वर्तमान विश्व अर्थव्यवस्थाले भूमण्डलीकृत चरित्र बोकेको र यस पुँजीवादको विशेष पकड सूचना प्रविधिमा केन्द्रित भएकाले विश्व विकृत पुँजीवादका सबै विशेषताहरू नेपालमा पनि लागू भैराखेका छन् । नेपालको अहिलेको वितरण प्रणालीलाई हेर्ने हो भनें जमिन किसानको हातबाट सस्तो मूल्यमा निगम पुँजीवादीको हातमा पुगेको छ । नेपालका उब्जायोग्य, मनोरम पहाडहरू उनीहरूले कब्जा गरेका छन् । उनीहरूकै योजनामा समथर खेतीयोग्य जमिनहरूमा घडेरी र बस्ती बसाइएको छ । औद्योगिक क्षेत्र असाध्यै कम भएकाले त्यहाँ रोजगारी न्यून छ । कृषिलाई आधुनिकीकरण र औद्योगिकीकरण गरिएको छैन । यसले गर्दा बेरोजगारको सङ्ख्या बढेर गएको छ । यसले गर्दा घरबारविहीन, रोजगारविहीनहरूको सङ्ख्या बढ्दै गएको छ । राज्य पूरै अनुदारवादी भएकाले गाँस, बास, कपास, स्वास्थ्य र शिक्षा नेपाली श्रमजीवी जनताको पहुँचबाट टाढिँदै गएको छ ।

राज्य प्रणाली भनेको व्यवस्थापिका, कार्यपालिका, न्यायपालिका, अर्थप्रणाली, सुरक्षा क्षेत्रको समग्र योग हो । यी पाँचवटै क्षेत्र जनपक्षीय छैनन् । यस्तो प्रणालीभित्र रहेर कसरी समाजवाद लागू गर्न सकिन्छ । समाजवाद भनेको त समानता हो । सामाजिकीकरण, सार्वजनिकीकरण हो । अहिलेको यो राज्यमा सामाजिकीकरण, सार्वजनिकीरण र समानताका कुनै लक्षण छैनन् ।

हुनत केही मान्छेहरूले नेपालमा ‘माक्र्सवादी समाजवाद’ होइन ‘लोकतान्त्रिक समाजवाद’ लागू गर्न सकिने तर्क पेस गरेका रहेछन् । विश्वमा काल्पनिक समाजवादलाई सैद्धान्तिक रूपमा खण्डन गरिसकेपछि वैज्ञानिक समाजवादका विरुद्ध ल्याइएका हिटलरको फासिवादी समाजवाद जस्तै यहाँ पनि लोकतान्त्रिक समाजवादको कुरा गरेका होलान् । यी कुनै समाजवाद अब सम्भव र भ्रम हुनु हुँदैन । अब त वैज्ञानिक समाजवादले मात्र यी सबै अन्तरविरोध र समस्याहरूको समाधान दिन सक्दछ । क्रमशः स्रोत : रातो खबर साप्ताहिक