नेपालको ऋणभार चुलिदै: प्रत्येक नेपालीको टाउकोमा ३६ हजार ऋण !

प्रकाशित मिति : मङ्ल, जेष्ठ १४, २०७६



 

नेपालको ऋणभार चुलिदै गएपछि करिब साढे १० खर्ब रुपैयाँ ऋणमा डुबेको छ । सोमबार सार्वजनिक आर्थिक सर्वेक्षणअनुसार डलर महँगिनु र वैदेशिक ऋण बढ्नु लगायत कारणले नेपालको ऋणभार चुलिएको हो । ‘२०७५ फागुनसम्म भुक्तानी गर्न बाँकी सार्वजनिक ऋण ९ खर्ब ७८ अर्ब ४५ करोड रुपैयाँ छ,’ सर्वेक्षणले भनेको छ । सरकारले अब उठाउने पक्कापक्की भइसकेको आन्तरिक ऋणको ८६ अर्ब रुपैयाँ जोड्ने हो भने १० खर्ब ६४ अर्ब रुपैयाँले मुलुक ऋणमा परेको देखिन्छ । ‘फागुनसम्म प्रतिव्यक्ति ऋण ३३ हजार १ सय ७४ रुपैयाँ छ,’ सर्वेक्षणमा छ ।

त्यसलाई हालको जनसंख्या २ करोड ९५ लाख ५ सयले भाग गर्दा एक जना नेपालीमा ऋणको हिस्सा ३३ हजार रुपैयाँभन्दा बढी देखिएको हो । यो ऋण अघिल्लो वर्ष प्रतिनेपाली ३१ हजार ४ सय ९३ रुपैयाँ थियो । अब उठाउने ऋणलाई समेत जोड्दा ३६ हजार पुग्छ । पुँजीगत खर्च कम भएका कारण स्रोत अभाव नभएर यस पटक सरकारले आर्थिक वर्षको अन्तिममा आन्तरिक ऋण उठाउने भएको हो । केही दिनभित्रमै आन्तरिक ऋण उठिसक्ने राष्ट्र बैंकले जनाएको छ ।

पुँजी निर्माणका लागि आवश्यक लागत र बचतको अन्तर बढ्दै गएको छ । उच्च आर्थिक वृद्धि र पुँजीगत लगानी विस्तारमा सरकारले जोड दिए पनि बचत र लगानीको अन्तर अहिलेसम्मकै फराकिलो बिन्दुमा पुगेको देखिएको छ । यसले आर्थिक कृयाकलाप विस्तारमा आन्तरिक स्रोत परिचालन अझै कमजोर देखिएको छ ।

आर्थिक सर्वेक्षणअनुसार कुल पुँजी निर्माणको तुलनामा कुल गार्हस्थ बचतको वृद्धिदर सुस्त देखिँदा उच्च आर्थिक वृद्धिका लागि चुनौतीपूर्ण हुनेछ । सर्वेक्षणअनुसार लगानी र बचतको अन्तर ४१.८ प्रतिशत पुगेको छ । गत वर्ष यस्तो अनुपात ३७.५ प्रतिशत थियो । चालु आर्थिक वर्षमा ८ प्रतिशत आर्थिक वृद्धि हासिल हुने सरकारी अनुमान भए पनि पर्याप्त लगानीको अभाव र भएको लगानीको पनि प्रभावकारी उपयोग नहुँदा अर्थतन्त्रको लक्ष्य हासिल नहुने देखिइसकेको छ । चालु वर्षको ८ महिनाको तथ्यांकअनुसार ६.८१ प्रतिशतको आर्थिक वृद्धि हासिल हुने सरकारी अनुमान छ । कृषि क्षेत्रको वृद्धि उत्साहजनक भए पनि निर्माण क्षेत्रको वृद्धिदर गत वर्षभन्दा कमजोर छ ।

सर्वेक्षणअनुसार रेमिट्यान्ससमेत हिसाब गर्दा पनि बचत र लगानीको अनुपात ऋणात्मक देखिन्छ । ‘चालु आर्थिक वर्ष ०७५/७६ मा विप्रेषण आयको वृद्धिदर उच्च रहेसँगै कूल राष्ट्रिय बचत वृद्धि भई कूल गार्हस्थ उत्पादनको ५२.४ प्रतिशत पुगेको छ,’ सर्वेक्षणमा भनिएको छ, ‘तथापि कुल राष्ट्रिय बचत र कुल लगानी बीचको अन्तर भनेर बढ्दै गई ९.९ प्रतिशतले ऋणात्मक देखिएको छ ।’फागुन सम्ममा कुल वस्तु निर्यात १४.६ प्रतिशतले वृद्धि भई ६१ अर्ब पुगेको भने वस्तु आयत २३.८ प्रतिशतले वृद्धि भई ९ खर्ब ४९ अर्ब पुगेको उल्लेख छ ।

यस अवधिमा वस्तु व्यपार घाटा ८ खर्ब ८८ अर्व रहेको छ । फागुन सम्ममा शोधनान्तर स्थिति ६९ अर्व घाटामा रहेको छ । यस अवधिमा चालु खाता १ खर्ब ९१ अर्बले घाटामा रहेको छ ।विप्रेशण २३.४ प्रतिशतले वृद्धि भई ५ खर्ब ८२ अर्ब पुगेको छ । श्रम स्वृकिति लिई वैदेशिक रोजगारीमा जानेको संख्या भने ३५.९ प्रतिशतले घटेको छ । गत आर्थिक वर्ष ०७४÷७५ मा कुल लगानी ३३.६ प्रतिशतले वृद्धि भएकोमा चालु आर्थिक वर्षमा वृद्धिदर खुम्चिएको छ । चालु वर्षमा २९ प्रतिशतले लगानी वृद्धि भई २१ खर्ब ५७ अर्ब १८ करोड रुपैयाँ पुग्ने अनुमान अर्थ मन्त्रालयको छ । पछिल्लो तीन आर्थिक वर्षको कुल लगानीको औसत वृद्धि ४२.२ प्रतिशत रहेको छ ।