इरानी सैन्य कमाण्डरकाे हत्या गर्नु अन्तराष्ट्रिय सम्बन्धको आधारभूत मान्यता विपरित हो : चीन

प्रकाशित मिति : सोम, पुस २१, २०७६



इरानी सैन्य कमाण्डर कासिम सुलेमानीको ज्यान जाने गरी अमेरिकाले गरेको आक्रमणप्रति चीनले प्रतिकृया जनाएको छ । चिनियाँ विदेश मन्त्रालयका प्रवक्ताले अमेरिकाको उक्त कदम अन्तराष्ट्रिय सम्बन्धको आधारभूत मान्यता विपरित भएको बताएका छन् ।

प्रवक्ता जेङ सुआङले सोमबार एक वक्तव्य प्रकाशित गरी भनेका छन्, चीनले आफ्नो निष्पक्ष अडान कायम राख्दै मध्यपूर्वको शान्ति सुरक्षा खलबलिन नदिन उचित कदम चाल्नेछ । उनले इरानले बाह्य दबावमा भए पनि न्यूक्लियर सम्बन्धी सम्झौता पालन गर्दै आएको स्मरण गराए ।

इरानले संयमता प्रदर्शन गर्दै सम्झौता उल्लंघन नगर्ने राजनीतिक इच्छा प्रकट गर्दै आए पनि सुआङले उल्लेख गरे । अमेरिकाले ट्रम्प सत्तामा आएसँगै उक्त सम्झौताबाट हात झिकेको थियो । सुआङले अमेरिकाले हिंसात्मक कदम उठाएर अन्तराष्ट्रिय सम्बन्धको आधारभूत मान्यता उल्लंघन गरेको बताए ।

जहाँसम्म अन्तराष्ट्रिय मामिलाको कुरा हो । चीन जहिल्यै हिंसात्मक कारबाहीको विपक्षमा छ उनले भने, हिंसाले समाधान दिँदैन । न्यूक्लियर मामिलामा सबै पक्ष निष्पक्ष र इमान्दार छलफलका लागि तयार हुनुपर्छ । त्यो नै समाधानतर्फको प्रस्थानबिन्दु हुनेछु, सुआङलाई उधृत गर्दै ग्लोबल टाइम्सले समाचार लेखेको छ ।