देशको स्वाधीनता र स्वतन्त्रताका पक्षमा आफू सधैं लडिरहने महराको प्रतीज्ञा

प्रकाशित मिति : सोम, फाल्गुन ५, २०७६



निवर्तमान सभामुख कृष्णबहादुर महराले देशको स्वाधीनता र स्वतन्त्रताका पक्षमा आफू सधैं लडिरहने बताएका छन्।

डिल्लीबजार कारागारबाट रिहा भएलगत्तै एक वक्तव्य जारी गर्दै महराले आफूले न्यायको लडाइँ जितेको र आफूमाथिको आरोप गलत सावित भएको बताएका हुन् ।

वक्तव्यमा महराले भनेका छन्, ‘अन्ततः म माथि लगाइएको आरोप गलत सावित भएको छ। सम्मानित अदालतले मलाई निर्दोष ठहर गर्दै सफाइ दिएको छ। म सम्मानित अदालतप्रति विशेष आभार एवं धन्यवाद व्यक्त गर्दछु।

उनले स्वाधीनताको लडाइँमा आफू निरन्तर लागिरहने प्रतीज्ञा समेत गरेका गछन् ।

विज्ञप्तिमा भनेका छन्, ‘एक देशभक्त नेपालीका रुपमा मुलुकको स्वाधीनताको रक्षा मेरो पहिलो र उच्च प्राथमिकतामा सधैं थियो, अहिले पनि छ र सदैव रहिरहनेछ।

विज्ञप्तिकाे पूरा पाठ –
आदरणीय दाजुभाई तथा दिदीबहिनीहरु

अन्ततः म माथि लगाइएको आरोप गलत सावित भएको छ। सम्मानित अदालतले मलाई निर्दोष ठहर गर्दै सफाइ दिएको छ। म सम्मानित अदालतप्रति बिशेष आभार एवं धन्यवाद व्यक्त गर्दछु। यस क्रममा सक्रियतापूर्वक पहल र सहयोग गर्ने मेरो परिवारका सम्पूर्ण सदस्यहरु, मित्रहरु, मेरो पक्षमा वकालत गर्ने कानुन व्यवसायीहरु र राजनीतिक व्यक्तित्वहरुप्रति हार्दिक आभार प्रकट गर्दछु।

म ३० दिन प्रहरी हिरासत र १०३ दिन डिल्लीबजार कारागारमा बसी तथाकथित आरोप खेपेको छु। यस अवधिमा मलाई सद्भाव र सहानुभूति दिनुहुने मेरा समर्थकहरु, शुभचिन्तकहरु, अस्पतालका स्वास्थ्यकर्मी र कर्मचारी मित्रहरु, प्रहरी मित्रहरु र डिल्लीबजार कारागारका सम्पूर्ण बन्दी साथीहरुलाई हार्दिक आभारसहित धन्यवाद दिन चाहन्छु।

एक देशभक्त नेपालीका रुपमा मुलुकको स्वाधीनताको रक्षा मेरो पहिलो र उच्च प्राथमिकतामा सधैं थियो, अहिले पनि छ र सदैव रहिरहनेछ। नेपालको राष्ट्रिय स्वाधीनता र नेपाली जनताको स्वतन्त्रता इतिहासदेखि नै गौरवपूर्ण रहेको छ र सधैं रहिरहनेछ।

धन्यवाद !
२०७६ फागुन ५
कृष्ण बहादुर महरा
प्रतिनिधि सभा सदस्य, दाङ–२