हिरासतमै गुणराज लोहनीकाे स्वास्थ्यमा गम्भीर समस्यापछि अस्पताल भर्ना

प्रकाशित मिति : मङ्ल, फाल्गुन ६, २०७६



राष्ट्रिय जागरण मञ्चका संयोजक गुणराज लोहनीलाई अस्पताल भर्ना गरिएको छ । प्रहरी हिरासतमा रहेका लोहनीलाई गम्भीर समस्या भएपछि अस्पताल भर्ना गरिएको हो ।

लोहनीलाई सोमबार साँझ वीर अस्पतालको इमरजेन्सीमा भर्ना गरिएको छ । स्वास्थ्यमा गम्भीर समस्या देखिएपछि लोहनीलाई हेटौडाबाट उपचारको लागि काठमाडौं ल्याइएको थियो ।

पारिवारिक स्रोतका अनुसार लोहनीलाई अहिले वीर अस्पतालको इमरजेन्सीमा राखेर उपचार गरिँदैछ । अहिले लोहनीको स्वास्थ स्थीर रहेको पनि अस्पताल स्रोतले बताएको छ ।

गत माघ ६ गते लोहनीलाई प्रहरीले चितवनबाट गिरफ्तार गरेको थियो । जिल्ला अदालत चितवनको आदेशमा आइतबार रिहा भएलगत्तै प्रहरीले लोहनीलाई पुनः गिरफ्तार गरेको थियो । मकवानपुर प्रहरीले लोहनीलाई अभद्र व्यवहारमा सात दिनको म्याद थपेर हिरासतमा राखेको थियो । तर, लोहनीको एकाएक स्वास्थ्य समस्या देखिएको छ ।

गम्भीर अस्वस्थताका कारण पार्टीबाट बिदा लिएर उपचार गराइरहेका र राष्ट्रियताका विषयमा बहस गर्न ‘राष्ट्रिय जागरण मञ्च’ गठन गरेर भारतीय अतिक्रमण, नेपाली भूभाग कब्जा, अमेरिकी परियोजना एमसीसीलगायत विषयमा अन्तरक्रिया गरेर काठमाडौँबाट चितवन पुग्नासाथ गत माघ ६ गते उनलाई प्रहरीले गिरफ्तार गरी अभद्र व्यवहारको मुद्दा लगाएको थियो ।