प्रवासी नेपाली जन समाज भारतको राष्ट्रिय सम्मेलन सम्पन्न, आजादको नेतृत्वमा ३७ सदस्यीय कार्यसमिति निर्वाचित

प्रकाशित मिति : सोम, फाल्गुन १२, २०७६



प्रवासी नेपाली जन समाज भारतको अध्यक्षमा आजाद सेन थापाको नेतृत्वमा ३७ सदस्यीय नयाँ कार्यसमिति निर्वाचित गर्दै राष्ट्रिय सम्मेलन सम्पन्न भएको छ । विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी निकट भारतस्थित प्रवासी संगठनको दोश्रो राष्ट्रिय सम्मेलनले आजाद सेन थापाको अध्यक्षतामा ३७ सदस्यीय नयाँ कार्यसमिति निर्वाचित गरेको हो ।

जनसमाजको उपाध्यक्षमा जयरुप बडाल र दामोदर पंगेनी, बिष्णु मल्ल महासचिव, गोविन्द पाण्डे र कृष्ण बोगटी सचिव र कोषाध्यक्षमा दिपक तिरुवा निर्वाचित भएका छन् ।

त्यसैगरी सम्मेलनले १५ सदस्यीय बैकल्पिक केन्द्रीय कमिटी र ११ सदस्यीय सल्लाहकार समिति पनि चयन गरेको छ ।

सम्मेलनको उद्घाटन नेकपाका केन्द्रीय सदस्य ओमप्रकाश पुनले गरेका थिए । सम्मेलनको उद्घाटन गर्दै पुनले नेपालको दलाल संसदीय व्यवस्थाको अन्त्य नगरेसम्म नागरिकले जीवन गुजाराको लागि प्रवासीभूमि जान नरोकिने बताए । पुनले पार्टीले एकीकृति जनक्रान्तिमार्फत वैज्ञानिक समाजवाद स्थापनको लागि नयाँ संघर्षको उठन गरेको बताए ।

“जबसम्म संसारबाट साम्राज्यवाद र पुँजिवाद ध्वस्त हुने छैनन् त्यतिबेलासम्म जनताको मुक्ति हुने छैन । मौलाइरहेको दलाल पुँजिवाद ध्वस्त नभएसम्म नेपाली जनताको स्वाधिनता र आत्मसम्मान प्राप्त गर्ने छैनन् । कुनैबेला काँग्रेसले जमिन जोत्नेको नारा दिएर संघर्ष गरे, जनताले साथ दिए । झापालीहरुले क्रान्तिकारी भूमिसुधारको नारा लिए जनताले समर्थन गरे, कुनैबेला नेकपा माओवादीले आमूल परिवर्तनको नारा दियो, सबै उत्पीडित जनता, आदिवासी, दलित सबै जनता जनयुद्धमा लामबद्ध भयौ तर नेतृत्वले गद्धारी गर्यो” पुनले भने । उनले जनयुद्धको नेतृत्व क्रान्तिकारी धाराबाट प्रतिक्रान्तिकारी धारामा गएकोले जनताको आमूल परिवर्तनको चाहना पूरा हुन नसकेको बताउँदै आफ्नो पार्टीले क्रान्तिको बाँकी कार्यभार पू‍रा गर्न झण्डा उठाएको बताए ।

पुनले पार्टीले एकीकृत जनक्रान्तिमार्फतको माध्यमबाट प्राप्त हुने वैज्ञानिक समाजवादले मात्रै उत्पीडित वर्ग, क्षेत्र, समुदायको मुक्ति हुने भएकोले सबैलाई एकीकृत जनक्रान्तिको झण्डामुनि गोलबद्ध हुन आग्रह समेत गरे । उनले अबको क्रान्तिलाई कुनै नेता विशेषको होइन उत्पीडित वर्ग, जाति, क्षेत्र र समुदाय विषयको बनाउन पार्टीले नयाँ संघर्ष सुरु गरेको बताए ।

वैज्ञानिक समाजवाद स्थापना भए मात्रै नेपालीले नेपालमै सीप र ज्ञान अनुसारको रोजगार पाउने भन्दै त्यसको लागि सहयोग गर्न भारतमा रहेका सबै नेपालीलाई पुनले आग्रह गरे ।

सम्मेलनमा भेषराज भुसाल, रामलाल विश्वकर्मा, सन्तोषी बिक, पूर्णिमा धामी, आरोह नेपाली, नेकपा मसाल निकट एकता समाजका नेता शोभाखर अधिकारी लगायतले शुभकामना दिएका थिए ।

त्यसैगरी अन्य भाइचारा संगठनहरुले पनि शुभकामना सन्देश पठाएका थिए । काम, अध्ययन र पेशा-व्यवसायको क्रममा भारतका विभिन्न ठाउँमा रहेका नेपालीहरु सहभागी रहेको सम्मेलनका केन्द्रीय सदस्यहरुमा रामचन्द्र रोका, तेज तिरुवा, डिल्लीराज पोखरेल, गोकुल थापा, हिरालाल विश्वकर्मा, विष्णु जिसी, कमल रावल, अमर सिंह, देवेन्द्र रावल, महेन्द्र चन्द, रामबहादुर खत्री, शिवराज देवकोटा, प्रेम नेपाली, रुपराज भण्डारी, झनक राज भण्डारी, विपना शाही कमल आचार्य, झरना बिक, धनेन्द्र विश्वकर्मा, अशोक शर्मा, हरिशचन्द्र शिशिर, विष्णु भट्ट, ज्ञानसागर ध्वजाली लगायत निर्वाचित भएका छन् ।

त्यसैगरी सम्मेलनले १५ सदस्यीय वैकल्पिक केन्द्रीय सदस्यीय समेत निर्वाचित गरेको छ । जसमा तुलराम कुँवर, मिना कौशल, शान्ता बस्नेत, पुजाराना मगर, शुशिला विश्वकर्मा, लोकबहादुर घर्तिमगर, विनोद विश्वकर्मा, कृष्ण, पुष्प चन्द, हर्क नेपाली, हेमन्त कुण्डली, पुरन थापा, रामचन्द्र देउवा, शुभाष पुन, रमप्रसाद परियार रहेका छन् ।

सम्मेलनले ११ सदस्यीय सल्लाहकार समिति पनि निर्वाचित गरेको छ । जसमा मोतीराम गौतम, भिमकान्त घिमिरे, माधव आरके, शिवलाल बिक, बाबुलाल नेपाली, तरुण बिक, पदम बिक, देवीप्रसाद काफ्ले, बाबुराम विश्वकर्मा, हुमकान्त कुँवर र भोजराम ढकाल निर्वाचित भएका छन् ।