कोरोना भाइरसबाट विश्वरभर २८ सयको मृत्यु, ८२ हजार प्रभावित

प्रकाशित मिति : शुक्र, फाल्गुन १६, २०७६



चीनबाट सुरु भएको नयाँ कोरोना भाइरसको संक्रमणबाट हालसम्म २ हजार ८ सयभन्दा बढीको ज्यान गएको छ । ११ वटा युरोयिन देशहरुमा कोरोनाका संक्रमितहरुको संख्या बढ्दै गएको छ ।
चीन बाहेक हालसम्म ४४ देशमा कोरोना भाइरसको संक्रमण देखा परेको छ । भाइरसका कारण विश्वभर ८२ हजार भन्दा बढी प्रभावित भएको अन्तराष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् । चीन बाहेक अन्य देशहरुमा फैलन थालेपछि विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) का महानिर्देशकले संक्रमण विरुद्धको लडाइँ अब निर्णायक चरणमा पुगेको बताएका छन् ।विश्व स्वास्थ्य संगठनका महासचिव टेड्रोस अधानम गेब्रीससले कोरोना भाइरसका विषयमा अब मुख्य चासोको स्थान चीन नभई बाँकी विश्व भएको बताएका छन् । गत दुई दिनदेखि नयाँ भाइरस संक्रमितको संख्या चीनमा भन्दा बाँकी मुलुकमा बढी देखिएको छ । यतिबेला चीनमा ४८ हजार ६३० संक्रमित छन् भने दुई हजार ७४७ को ज्यान गएको छ ।

चीन बाहिर तीन हजार ४७४ संक्रमित हुँदा ५४ को ज्यान गएको छ । ‘बाँकी संसारमा जे भइरहेको छ, हाम्रो मुख्य चासो त्यसमा छ,’ टेड्रोसले भने । चीनबाहेक अन्य देशमा पनि महामारीको रुपमा फैलिएको संक्रमणलाई महानिर्देशक टेड्रस एड्हानोम गेहब्रेयससले सबैभन्दा बढी चिन्ताको विषय रहेको बताए ।
उनले महामारीको रुपमा देखा परेको भाइरस जुनसुकै बेला पनि आफ्नो देशमा फैलन सक्ने भन्दै सावधानी अपनाउन सरोकारवालाहरुको ध्यानाकर्षण गराएका छन् । उचित उपाय अपनाए त्यसको प्रकोप नियन्त्रण गर्न सकिने उनले बताए ।
पछिल्लो समय इरान, इटाली र दक्षिण कोरियामा तीव्र रुपमा फैलिइरहेको भाइरसका कारण मृतकको संख्या बढी रहेको समाचारमा जनाइएको छ ।