कोरोना भाइरस कोभिड -१९ को महामारी र जनत्रास

प्रकाशित मिति : बुध, चैत्र १२, २०७६ - सम्झना वि.क.



आजको परिवेश विश्व मानव समुदायको लागि सन्त्रासमय र अत्यासलाग्दो बनिरहेको छ । विश्वका शक्तिशाली देशहरु समेत हुतुतुतु भै रहेका छ्न् । विश्वमा आफुलाई शक्तिशाली ठान्ने अमेरिका जस्तो मुलुक पनि कोरोना महामारीको अगाडि झुक्न बाध्य भएको छ । ठूलो मानवीय क्षति गर्दै कोरोना भाइरसले संसार भरिका मानव समुदायको बिचमा आतंक मच्चाइरहेको छ ।
यो मानव जातिको लागि सङ्कट र विपत्ति हो । नेपालमा एक जनामा कोरोना सङ्क्रमण भेटिएको पुष्टि भएपछि नेपालीहरु माझ पनि सन्त्रासको मात्रा अत्याधिक बढेको छ । विश्वको जरजर अबस्थालाई   नेपालीहरुले पनि सामना गर्नैपर्ने बाध्यता आइपुगेको छ ।
देश लकडाउनमा, ब्यक्ति कोरोन्टाइनमा नेपाल लगायत विश्वका बहुसंख्यक देशको हबिगत उस्तै उस्तै । गरिबी र राजनीतिक प्रदुषणले भङ्गार पारेको देशका नागरिकको समस्या हल गर्ने सामर्थ्य न सरकारसँग हुन्छ न त नागरिक स्वयं समस्याको हल गर्ने सामर्थ्य राख्न सक्छन् । पुजीवादी राज्यको नीति नै पुजिपतिहरुको संरक्षण गर्ने र श्रमजीवीहरुमाथि हैकम जमाउने प्रकृतिको हुन्छ नै । श्रमिकहरुको जटिल समस्या पनि सामान्य हुन्छ भने पुजिपतिहरुको सामान्य समस्या पनि  जटिल बनाएर त्यसलाई सत्ताले हल गर्ने प्रयत्न गर्दछ ।
कोरोना भाइरसको महामारीले सिङ्गो मानव समुदायलाई असर पुर्याएको छ । बरु यो महामारीले एक पटक फेरि साम्राज्यवादलाई असफल बनाउने संकेत देखिएको छ भने बरु नाम मात्रको भएपनि समाजवादले विश्व मानव जातिको लागि ठूलो मानवीय सहयोग गरिरहेको कोरोना प्रभावित मानिस र देशहरूले अनुभूति गरिरहेका छन् । यसकाे ज्वलन्त उदाहरणको रुपमा इटलीले युरोप र अमेरिकासँग सहयोग माग्दा उनीहरु मानवीय सम्बेदनाहिन भएका छन् भने सात समुन्द्र वारिको चीन इटली पुगेर कोरोना संक्रमित इटालियनहरुलाई सबै प्रकारको सहयोग गरिरहेको छ ।समाजवादी क्युवाले आफ्ना देशका डाक्टरहरुलाई इटाली पठाएर नजिकैको साम्राज्यवादी अमेरिकालाई मानवीयताको पाठ पढाएको छ । थोरै भएपनि समाजवादी नीति अबलम्बन गर्दा कोरोना भाइरसको पहिलो इपि सेन्टर चिन जसले कोरोनालाई नियन्त्रणमा  मात्र ल्याएको छैन उसले आफ्नो प्रबिधि र जनशक्ति लगाएर संसारलाई नै कोरोना मुक्त बनाउने अभियानमा नायक बनेर उभिने प्रयत्न गरिरहेको छ । कोरोना महामारीले बिश्वका जनताले साम्राज्यवाद र समाजवाद बीचको अन्तर छुट्याउने अबसर पनि जुराइ दिएको छ ।
नेपाल जस्तो देशमा त झन् राज्यदेखि जनतासम्म एकताबद्ध भएर मात्र कोरोना विरुद्ध बिजय प्राप्त गर्न सकिन्छ । किनकी विज्ञ र प्रबिधि दुबै कमजोर भएको देश हो नेपाल । शासकीय मनोवृत्तिको कुरा गर्दा त झन् ब्यवस्था नै शासित मनोवृत्तिले ग्रस्त व्यवस्था अझ भनौं पुजीवाद भन्दापनि तल्लाेस्तरको । आग्रह र पूर्बाग्रहले ग्रस्त शासकीय प्रणालीले कोरोनामाथि बिजय प्राप्त गर्न निकै नै अप्ठ्यारो छ । त्यसैले सचेतना र सेल्फअनुशासन नै कोरोना विरुद्धको बलियो हतियार हुनेछ नेपाल राष्ट्रको लागि ।
राज्य अविभावक बनेर सबैलाई एकताबद्ध गरेर जनतालाई कोरोनाको सन्त्रासबाट मुक्त गर्नु पर्ने बेला बिडम्बना नै भन्नु पर्छ एउटा राजनैतिक पार्टी नेपाल कम्युनिस्ट पार्टीका नेता कार्यकर्ताको धरपकड र गिरफ्तारीलाई झन् बढाइरहेको छ । गैरन्यायिक तरिकाबाट गिरफ्तार गर्दै तर्साउन खोजिदैछ उनीहरु पनि नेपाली नागरिक हुन् के कोरोनाले उनीहरुलाई सङ्क्रमण गर्दैन ? त्यो पार्टीका कार्यकर्तालाइ क्वारेन्टाइन बस्नु पर्छ कि पर्दैन ? यो विषयमा सरकारले सामान्य मानवीय संबेदनालाई समेत कुल्च्याइ दिएको छ । त्यही भएर श्रमजीवीहरुले भन्दा रहेछ्न् पुजीवादले मानवजातिको लागि क्रूरता र दु:खको भारी मात्र बोकाउदछ ।मानवीयता, मानव अधिकार पुजिवादको हात्तीको देखाउने दाँत जस्तै हुन् । विप्लव ने. क. पा. ले आक्रमक कार्यक्रम रोकिसकेको विज्ञप्ति निकाल्दासम्म पनि सरकारी धरपकट गिरफ्तारी रोकिएको छैन । सरकार साच्चिकै जिम्मेवार भएर विप्लव नेकपामाथि लगाएको  प्रतिबन्ध फिर्ता लिएर कोरोना विरुद्धको अभियानमा विप्लव नेकपालाई पनि जनताको सेवामा बेरोकटोक लाग्न दिनु पर्दछ आस्थाका आधारमा बन्दी बनाइएकालाई सबैलाइ रिहा गर्नु पर्छ । सरकारी सुरक्षाकर्मिहरुको ध्यान कोरोना विरुद्धको अभियानमा केन्द्रित गर्नुपर्दछ न कि विप्लव कार्यकर्ता खोज्न हाेइन ।
कोरोना एउटा युगको महामारी बन्न पनि सक्छ । कोरोना शक्तिशाली भाइरसको रुपमा विश्वमा फैलिरहेको छ, यसले धनी गरिब, सानो ठूलो, उचनिच, एउटा पार्टी अर्को पार्टी केही छुट्टाउदैन त्यसैले एक अर्कामा सचेतना बाडौँ, सक्ने सहयोग गरौँ ! म बाचे हुन्छ अरुलाई जेसुकै होस् भन्ने भावना त्यागौँ, कत्तिपनि लापरबाही नगरौँ ।अन्य देशमा धेरै जनाले ज्यान गुमाइसकेका छ्न् । हामी पनि सचेत रहौँ देश लकडाउन छ । ज्याला मजदुरी गरेर खाने मजदुरहरूलाई लकडाउनले पार्ने प्रभावको राज्यले विशेष ख्याल गर्नु जरुरी छ । कोहिले धेरै सामान घरमा थुपार्ने कोहि भोकै मर्ने स्थितिको सृजना हुदैछ । सबैको समस्या सबैले बुझौँ । मजाक गर्नु हुदैन, आतङ्कित र भयभित नबनौँ, मनोबल उच्च बनाएर आफुलाई तम्तयार राखौँ । साबुनपानीले पटकपटक हात धौअाैँ, सरसफाइमा विशेष ध्यान देऔँ ।
विश्वमा यतिबेला सङ्कट पैदा भएको छ, समस्यासङ्गै समाधान पनि अवस्य आउनेछ, समस्या समाधान रहित हुदैन समयले ल्याउने सङकटको सामाना गर्नुको विकल्प हुदैन, सबै सचेत र सतर्क रहदै बिश्वलाई नै त्राहीत्राही  पार्दै नेपाल प्रबेस गरेको कोरोना कोविड १९ लाई पराजित गरौँ । विपतको बेलामा मानव जीवनमा खेलवाड गर्दै कालोबजारी, ठगी बेइमानी गर्नेलाई दण्ड गर्नै पर्छ । जटिलतासँग लड्न सबै एकताबद्द भएरै लड्नु पर्दछ । भौतिक दूरी बढाऊँ भावनात्मक दूरी नजिकाऊँ ।
विश्व मानव जातिलाई सधैँभरी त्रासमा बस्न बाध्य पार्ने विश्व साम्राज्यवादलाई पराजित गरेर मात्र सम्पूर्ण मानव जातिको सुन्दर भबिस्य सुरक्षित बनाउन सकिन्छ ।कोरोना भाइरसको महामारी नियन्त्रण गर्ने भनेको  तत्कालको मानवीय क्षति कम गर्ने कुरा हो, यसकाे लागि सबैले आ-आफ्नो ठाँउबाट भगिरत प्रयत्न गरेर यसलाई पराजित गरौँ ।