कोरोना भाइरसले विश्वका २१ हजारभन्दा बढी मानिसको मृत्यु

प्रकाशित मिति : बिहि, चैत्र १३, २०७६



विश्वव्यापी महामारी बनेको कोरोना भाइरसले विश्वका २१ हजारभन्दा बढी मानिसको मृत्यु भैसकेको छ । अहिलेसम्म १९५ देशमा कोरोना भाइरसको संक्रमण फैलीएको छ । गत २४ घण्टामा विश्वभर २ हजार ३ सय ६ जना मृतक थपिएका छन् । याे सँगै मृतककाे सङ्ख्या २१ हजार २ सय पुगेकेा छ ।

सबैभन्दा बढी इटालीमा ६ सय ८३ र स्पेनमा ६५६ जनाको मृत्यु भएको छ । फ्रान्समा २३१ र अमेरिकामा १५६ जनाको मृत्यु थपिएको छ ।

चीनमा भने ६ जना नयाँ मृतक थपिएका छन् । यससँगै चीनमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३ हजार २ सय ८७ पुगेको छ । चीनमा सबैभन्दा धेरै ८१ हजार २ सय ८५ जना संक्रमित छन् ।

स्पेनमा मृतकको संख्या आश्चर्यजनकरुपमा बढेको छ । स्पेन धेरै मृत्यु हुने देशहरुको सूचीमा दोस्रो स्थानमा छ । स्पेनमा ३ हजार ६ सय ४७ जनाको मृत्यु भएको छ । यो चीनको भन्दा ३ सय ६० ले बढी हो ।

सबैभन्दा धेरै मानिसको मृत्यु भएको देशको सूचीमा भने इटली छ । इटलीमा ७ हजार ५ सय ३ जनाको मृत्यु भएको छ । ५ हजार २ सय १० जना नयाँ संक्रमित थपिएका छन् ।

अमेरिकामा १० हजार ९ सय ४१ जना नयाँ संक्रमित थपिएका छन् भने ९ सय ३५ जनाको मृत्यु भएको छ ।

इटालीमा एकैदिन ६८३ को मृत्यु
सबैभन्दा बढी मानिसको मृत्यु इटालीमा भएको छ । इटलीमा एकैदिन ६८३ को मृत्यु भयो ।
त्यहाँ कोरोना भाइरसको संक्रमणका कारण ७ हजार ५०३ जनाको मृत्यु हुँदा ५० जनाभन्दा बढी इसाई धर्मका पादरीको पनि निधन भएको सरकारी अधिकारीले बताएका छन् ।

कोरोनाका कारण मृत्यु हुनेमा लोवेरे बेर्गोमोस्थित चर्चका पादरी ७२ वर्षे जुसेप्पे बेरार्देली पनि छन् । बेर्गोमो कोरोना भाइरसका कारण सबैभन्दा बढी प्रभावित शहरमा पर्छ । फादर जुसेप्पेको मार्चको सुरुमा निधन भएको हो ।
भाइरसबाट पोपकै मृत्यु हुन थालेपछि सबजसो गिर्जाहरु बन्द गरिएका छन् ।
कोरोना भाइरसका कारण सबैभन्दा बढी प्रभावित इटालीमा करिब ७५ हजारमा संक्रमण देखिएको छ ।

बुधबार मात्र इटालीमा ५ हजार २१० नयाँ संक्रमित फेला गरेका छन् । यससँगै मुलुकमा समग्र संक्रमितको संख्या ७४ हजार ३०० नाघेको छ । चीनपछि सबैभन्दा बढी प्रभावित इटालीमा चीनमा भन्दा दोब्बरभन्दा पनि बढी मानिसको ज्यान गइसकेको छ ।

करिब १० हजार जनामा निको भएको छ भने अरुले एकान्तवासमा रहेर उपचार गराइरहेका छन् ।
अमेरिकामा १० हजार संक्रमित थपिए,न्युयोर्क सहरका झण्डै आधा कोरोना संक्रमित ४५ वर्षमुनिका

अमेरिकामा बुधबार एकैदिन १० हजारभन्दा बढी नयाँ संक्रमित थपिएका छन् । यससँगै अमेरिकामा पनि समग्र भाइरस संक्रमितको संख्या ६५ हजार ७०० नाघेको छ । अमेरिकामा बुधबार मात्र १५५ जनाको भाइरसको कारण ज्यान गुमाएका थिए । यससँगै समग्र मृत्यु हुनेको संख्या पनि ९३५ पुगेको छ ।

इटालीपछि दोस्रो सबैभन्दा धेरै मानिसको ज्यान गएको स्पेनमा अहिलेसम्म ३ हजार ६०० भन्दा धेरै मानिसले ज्यान गुमाइसकेका छन् भने ४९ हजार ५०० भन्दा धेरै मानिसमा यो भाइरसको संक्रमण पुष्टि भइसकेको छ । विश्वभर कोरोना भाइरसको संक्रमण ४ लाख ६८ हजार नाघेको छ भने मृत्यु हुनेको संख्या पनि २१ हजार नाघेको छ ।

यस्तै अमेरिकाको न्युयोर्कमा कुल १५ हजार ५ सय ९७ काेराेना संक्रमितमध्ये ५६ प्रतिशत पुरुष छन् ।कोरोना संक्रमणबाट ज्यान गुमाइरहेकामध्ये पनि पुरुष धेरै छन् । हालसम्म ज्यान गुमाएका मध्ये ६१ प्रतिशत पुरुष रहेको हेल्थ डिपार्टमेन्टले जनाएको छ ।

न्युयोर्कमा कोरोना भाइरसको संक्रमणमा ४५ वर्षमुनिका व्यक्ति परेका छन् । एनवाईसी हेल्थ डिपार्टमेन्टका अनुसार, संक्रमितमध्ये झण्डै आधा मानिस ४५ वर्षमुनिका छन् । यसमा पनि पुरुष बढी छन् ।

सीएनबीसीका अनुसार, न्युयोर्क सहरका १८ देखि ४४ वर्षका ४६ प्रतिशत मानिस कोरोनासँग जुधिरहेका छन् । ४५ देखि ६४ वर्ष उमेर समूहका ३३ प्रतिशत मानिसमा पनि कोरोना देखिएको छ । त्यस्तै, ६५ देखि ७४ सम्मका ११ र ७५ भन्दा माथिका ८ प्रतिशत व्यक्तिमा कोरोना भाइरसको संक्रमण भएको छ ।

न्युयोर्क स्टेटको न्युयोर्क सहर कोरोनाको सबैभन्दा बढी चपेटामा परिरहेको छ । हाल न्युयोर्क राज्यभर ३० हजार ८ सय ११ मानिसमा कोरोना पुष्टि भएको छ । यीमध्ये १७ हजार ८ सय ५६ त न्युयोर्क सहरकै छन् । हरेक तीन दिनमा यहाँको संक्रमण दोब्बरले बढिरहेको त्यहाँका सरकारी अधिकारीलाई उद्धृत गर्दै सीएनबीसी डटकमले जनाएको छ । अमेरिकी राष्ट्रपति ट्रम्पले हटस्पट भएको जनाएका छन् ।
भारतमा कोरोनाबाट मृतकको संख्या १३ पुग्यो, ६०० बढी संक्रमित
भारतमा कोरोना भाइरस को कारण ज्यान गुमाउनेको संख्या १३ पुगेको छ । स्थानीय सञ्चार माध्यमका अनुसार बुधबार भारतमा यो भाइरसको कारण तीन जनाको ज्यान गएको हो ।

बुधबार बिहान ५४ वर्षीय मानिसले कोभिड–१९ को कारण ज्यान गुमाएका थिए । त्यस्तै साँझपख मध्यप्रदेशको उज्जैनमा ६५ वर्षीया महिलाले ज्यान गुमाएकी थिइन् । बुधबार राति गुजरातको अहमदावादकी ८५ वर्षीया महिलाको पनि यो भाइरसको कारण ज्यान गएको बताइएको छ । यससँगै भारतमा मृत्यु हुनेको संख्या १३ पुगेको हो ।

भारतमा कोरोना भाइरसको प्रकोप पनि २५ राज्यमा फैलिसकेको छ । स्थानीय सञ्चारमाध्यमका अनुसार अहिलेसम्म भारतमा ६८६ जनामा यो भाइरसको संक्रमण देखिएको छ ।

भारतमा यो भाइरसको संक्रमण फैलिन नदिन २१ दिनसम्म लकडाउनको निर्णय गरिएको छ । अहिलेसम्म भारतको महाराष्ट्र र केरला भाइरसबाट सबैभन्दा प्रभावित देखिएका छन् । पछिल्लो केही दिनयता भारतमा कोरोना भाइरसको संक्रमितको संख्यामा उल्लेख्य वृद्धि भएको छ ।