समाजवाद र पुँजीवादको बहसमा कोरोना भाइरसले उत्पन्न गरेका तरङ्गहरू

प्रकाशित मिति : शुक्र, चैत्र २१, २०७६ - सविन पाेखरेल



सन् २०१९ डिसेम्बर ३१ अर्थात् पुस १५ गते चीनको बुहानमा पत्ता लागेको नोबेल कोरोना भाइरस (पछि नामकरण गरिएअनुसार कोभिड -१९) ले आजका दिनसम्म आइपुग्दा विश्व–मानव समुदायलाई अस्तव्यस्त बनाउँदै लगेको छ । यो आलेख लेखिरहँदा संसारभरि ४७,२४५ जना मानिसको ज्यान गइसकेको छ भने ९,३५,९५७ मानिस सङ्क्रमित भएका तथ्याङ्कहरू विभिन्न सञ्चार माध्यामहरूले सार्वजनिक गरेका छन् । मृतक र सङ्क्रमितहरूको सङ्ख्या मेडिकल्ली रेकर्ड भएका कोरोना परीक्षण गरिएका मानिसहरूको मात्र हो । अस्पताल नगएका र परीक्षण नगरिएका सङ्क्रमितहरूको सङ्ख्या कति छ भन्ने कुरा आकलन गर्न सकिएको छैन । हाल उपचाररतमध्ये कयौँ बिरामीहरूले भेन्टिलेटरको सहायताले कोरोनासँग अन्तिम सङ्घर्ष गरिरहेका छन् ।

संसारका विकसित भनिएका मुलुकहरू जस्तो कि अमेरिका, स्पेन, जर्मनी, इटालीलगायत मुलुकका अस्पतालहरूले समेत बिरामीको चापलाई थेग्न सकिरहेका छैनन् । इटाली र स्पेनमा मृतकहरूको सङ्ख्या बढ्दा शव व्यवस्थापनमा समेत कठिनाइ भएको छ । बिरामी र मृतकहरूले अस्पतालहरू भरिभराउ भएका छन् ।

सङ्क्रमनको दर कति तीव्रतामा विस्तार भएको छ भने कयौँ जनस्वास्थ्य विज्ञ तथा विश्लेषकहरूले महामारी नियन्त्रणका लागि तत्काल कठोर कदम नचाल्ने हो भने विश्वका बहुसङ्ख्यक मानिसहरू कोरोनाबाट सङ्क्रमित हुनेछन् । त्यसपछिको भयावह स्थिति आकलन गर्नै नसक्ने प्रकृतिको हुनेछ । सिङ्गो मानवजीवन र मानवसभ्यताको एउटा अध्यायको विघटन र अर्को अध्यायको सुरुआत हुनेछ । महामारीले निम्त्याउने बहुआयामिक प्रकारको सङ्कटलाई पूर्वानुमान लगाउन त कठिन छ तर सामान्य तथ्यहरूको विश्लेषण गर्दै गर्दा उत्पन्न भैरहेका बहुआयामिक तरङ्ग अनि सम्भावित परिदृश्यलाई भने केही मात्रामा भए पनि अनुमान लगाउन पक्कै सकिन्छ ।

विश्वभरिका २०० भन्दा बढी देशमा फैलिसकेको यो महामारीलाई कुनै एउटा देश र ठाउँ विषेशलाई जोडेर विषयको विश्लेषण गर्ने कुरा र निष्कर्ष निकालिहाल्ने कुरा वस्तुपरक र न्यायोचित दुवै हुँदैन । त्यसैले सिङ्गो मानव जातिमाथि देखापरेको यो मानवीय सङ्कटलाइ विश्व–मानव जातिको एउटा सदस्यको हैसियतले र मानव जातिकै अस्तित्व बचाउने हिसाबले सोच्नु आज प्रत्येक मानव सदस्यहरूको कर्तव्य हुन आएको छ ।

मानवीय संवेदनाका कारुणिक दृश्यहरू दिनप्रतिदिन बढिरहेका छन् । आफ्ना प्रियजनहरू बिरामी पर्दा उनीहरूलाई सजिलै अस्पतााल पुर्याउने कुरालाई कोरोनाले झन अप्ठ्यारो मात्र बनाएको मात्र छैन, बिरामी भेट्ने कुरालाईसमेत कोरोना प्रतिबन्ध लागेको छ । कहाँसम् मभने आफ्ना प्रियजनहरूको दाहसंस्कारमा समेत आफन्तजनहरूको उपस्थिति भइरहेको छैन । एउटै परिवारका सबै सदस्यहरू कोरोना सङ्क्रमित हुँदा उनीहरूलाई स्याहारसुसार गर्ने मानिसहरूसमेत छैनन् । एउटै घरका बाबुछोरी, लोग्नेस्वास्नीसमेत एकै दिन निधन भइरहेका दुःखान्त खबरहरू आइरहेका छन् । कोरोनाको त्रास र चिन्ताले जर्मनीका अर्थमन्त्रीले गरेको आत्माहत्याको खबर कम अप्रिय छैन । बेलायतका राजकुमार, प्रधानमन्त्री र स्वास्थ्यमन्त्रीलाईसमेत कोरोनाले आक्रमण गरेको छ । राजकीय सत्ता सञ्चालन गरिरहेका शासक–प्रशासक र बडेबडेमानका पुँजीपतिहरूलाईसमेत कोरोनाले त्राहीत्राही बनाइरहेको छ । गरिबीको मारमा रहेका संसारभरिका बहुसङ्ख्यक जनताको कोरोना परीक्षण गर्ने र प्रभावितहरूको तथ्याङ्क सङ्कलन गर्ने हो भने त्यसको कारुणिक र पीडादायी दृश्यले आज कुनै पनि मानवजातिको सदस्यले आफूलाई समाल्न निकै कठोर बन्नु पर्नेछ ।

महामारीको रोकथाम र नियन्त्रणका लागि भन्दै कोरोना फैलिएका अधिकांश देशहरूले आफ्ना देशलाई लकडाउन गरिरहेका छन् । सामाजिक दूरी कायम गर्न र सङ्क्रमितहरूवाट रोग विस्तार हुन नपाओस् भनेर यस्तो विधि अपनाइएको दाबी गरिएको छ । यसो गरिरहँदा स्थिति कस्तो छ भने दैनिक काम गरेर आफ्नो छाक टार्ने, गरिबीको रेखामुनि रहेका संसारभरिका जनताले खाली पेट बस्नुपर्ने बाध्यताले उनीहरूलाई पिरोलिरहेको छ । गरिबी, बेरोजगारी र भोकमरीको त्रासदीमा बाँचिरहेका मान्छेहरूलाई कोरोना महामारीको त्रासदी थपिएको छ । यसरी नै विश्व मानवजातिलाई लामो समयसम्म घरमै बन्धक बनाएर राख्ने हो भने कोरोना महामारी र त्रासदीले भन्दा भोकमारीको महामारीले बढी क्षति पु¥याउनेछ । संसारभरिका पुँजीपतिहरूले आफूलाई सुरक्षित राख्न सकेसम्म प्रयत्न त गर्ने नै छन् तर सिङ्गो मानव समुदायको सङ्कटलाई पुँजीवादले पराजित गर्न सक्नेछैन किनकि मानवजातिमाथि आइपरेको यो सङ्कट ल्याउने काममा पुँजीवादीहरू नै बढी जिम्मेवार छन् । पुँजीवादी चिन्तन, विचार र योजनाले मानवीय सङ्कटलाई हल गर्न सग्दैन, बरु यसले अरू कयौँ ठूल्ठूला सङ्कट र महाविपत्ति निम्त्याउँछ । यसको उदाहरणका रूपमा पहिलो र दोस्रो विश्वयुद्धलाई लिन सकिन्छ । आफ्नो असफलतालाई ढाकछोप गर्न मानव सभ्यतामाथि नै हमला गरेका दृष्टान्तहरू मानवजातिले पहिलो र दोस्रो विश्वयुद्धमा भोगिसकेका छन् । त्यसैले पनि श्रमजीवी, मेहनतकश जनताले सिङ्गो मानवजातिको रक्षाका लागि एकपटक यो कोरोना महामारीलाई पराजित गर्नैपर्ने भएको छ । कोरोना महामारीले निम्त्याइरहेका बहुआयामिक प्रकारका समस्याहरूसँग जुधेर मात्र योसँग विजयी बन्न सकिन्छ । सुतुरमुर्गले झैँ टाउको लुकाउने साम्राज्यवादी, पूँजीवादी, दलाल पुँजीवादी संसद्वादी तरिकाले यसलाई पराजित गर्न सकिँदैन किनकि यिनीहरूले राज्यसत्ताका सबै अङ्गहरूलाई गरिबी, बेरोजगारी, भोकमारी, अशिक्षा, कुरीतिविरुद्ध परिचालन गर्दैनन् । साम्राज्यवाद भनेको पुँजीको मात्र अति केन्द्रीकरण नभएर पुँजीपतिहरूको पनि अति केन्द्रीकरण हो जसले बहुसङ्ख्यक मेहनतकश श्रमजीवीहरूलाई शोषण गरेर आफूले धन कुम्ल्याउने, आफ्नो सम्पत्ति बचाइराख्ने र आफ्नो रबाफ विस्तार गरिरहने एक मात्र रणनीतिक लक्ष्यमा योजनाबद्ध लागिरहेको हुन्छ । मानवसेवा उसका लागि हात्तीको देखाउने दाँतजस्तै हुन्छ । यसको पछिल्लो उदाहरणका रूपमा संसारको महाशक्ति देश भनेर चिनिएको अमेरिका जसलाई मेहनतकश श्रमजीवी जनताले अमेरिकी साम्राज्यवाद भन्छन् त्यही देशमा आज सबभन्दा बढी कोरोना सङ्क्रमित देखिएका छन् । राष्ट्रपति ट्रम्पले बढी मान्छेको कोरोना परीक्षण गरेकाले सङ्क्रमित बढी देखिएको भनेर तर्क गरेका छन् तर त्योभन्दा महत्वपूर्ण कुरा भनेको ट्रम्प प्रशासन, कोरोना महामारी नियन्त्रणभन्दा संसारभरि आफ्नो रबाफ बचाइराख्न तल्लीन छ । आफ्ना नागरिकको स्वास्थ्य समस्यालाई बेवास्ता गरेको छ जसले गर्दा सङ्क्रमितहरूको सङ्ख्या दिन दुई गुणा, रात चौगुनाका दरले बढिरहेको छ । कोरोनाको त्रासदीमा रहेको विश्व–मानव समुदाय र विभिन्न देशहरूमा आफ्नो प्रभाव कायम राख्न, महामारीको सङ्कटलाई दुरूपयोग गरेर आफूमा शक्ति केन्द्रित गर्ने योजनामै अमेरिका तल्लीन देखिन्छ । त्यसकारण पनि अमेरिकामा सङ्क्रमितहरूको सङ्ख्या वृद्धि भएको कुरा बुझ्न कुनै अप्ठ्यारो छैन । अरू पुँजीवादी देशहरूको हविगत पनि उस्तै छ । दोस्रो विश्वयुद्धले जन्माएको युरोपियन युनियन कोरोनाको महामारीले गर्दा सङ्कटको डिलमा उभिएको छ । विश्वमा हालसम्म सबभन्दा बढी कोरना प्रभावित देश इटालीले सहयोगको याचना गरिरहँदा युरोपियन युनियनका जर्मनीलगायत देश चुप लागेर बसेका छन् । यी र यस्ता कयौँ दृष्टान्तले आज संसारको ध्यान त्रासदीपूर्ण तरिकाले केन्द्रित गरेको छ । यहाँ कोरोना महामारीले फेरि उजागर गरिदिएका केही तथ्य, सन्दर्भ र तरङ्गलाई विशेष जोड दिएर चर्चा गर्नु सान्दर्भिक हुने देखिन्छ ।

एक : विचारधारात्मक तरङ्ग

विश्वभरि कोरोनाको सन्त्रास फैलिरहँदा संसारभरिका बुद्धिजीवी र लेखकहरूमा जबर्जस्ती कित्ताबन्दी बढिरहेको छ । एकथरी बुद्धिजीवी, लेखक जसले असफल पुँजीवादी व्यवस्थाबाट मानिसहरूको आस्था नडग्मगाओस् भनेर मानवतावादी पुँजीवाद भनेर उदारवादी सोचाइसहितका विचारहरू प्रकट गरिरहेका छन् । दिन–प्रतिदिन सङ्कटग्रस्त बन्दै गइरहेको पुँजीवादको आर्थिक मन्दी र त्यसले निम्त्याएका अनेकौँ सङ्कटलाई कोरोनाको कारण देखाएर पुँजीवादको रक्षा गर्न कम्मर कसेर लागेका छन् । दक्षिणकोरियाको एउटा चर्चमा पास्चरले काल्पानिक ईश्वरीय शक्तिलाई सर्वशक्तिमान बनाएर प्रार्थना गर्न लगाउँदा सयौँजनामा कोरोना फैलिएको छ । यस्ता गम्भीर प्रकृतिका विषयको बहसबाट भने उनीहरू लगातार भागिरहेका छन् । भौतिक जगत्का तथ्यहरूलाई समेत तोडमरोड गर्ने, आफ्नो शक्ति र प्रविधिको समेत दुरूपयोग गरेर प्रकृति विज्ञानमाथि हमला गर्ने र प्रकृतिलाई समेत आफ्नो काबुमा राख्न दुस्साहस गर्ने पुँजीवादी साम्राज्यवादी विचार, दृष्टिकोण कोरोना महामारीको अगाडि हावा फुस्किएको टायरजस्तो बनेको छ । अमेरिकालगायत संसारभरिका ठूल्ठूला पुँजीवादी साम्राज्यवादी देशहरूमा तीव्रतामा बढिरहेको कोरोना र यसले पुर्याइरहेको मानवीय क्षति तत्कालको मानवीय सङ्कट नै हो, त्योभन्दा पनि महासङ्कट भनेको पुँजीवादी विचार र दृष्टिकोणको हो । यो सङ्कटलाई कसैगरी पनि ढाकछोप गर्न नसकिएपछि कतिपय पुँजीवादी मुलुकहरूले समेत समाजवादका केही विशेषता जसलाई आजभोलि पुँजीवादीहरूले लोक कल्याणकारी भन्ने शाब्दिक जामा लगाइरहेका छन् त्यसकै सहारामा आफ्ना असफलता र सङ्कटलाई हल गर्ने प्रयत्न गरिरहेका छन् । यसवाट असफल पुँजीवादले तत्काल आफ्नो प्राण भर्ने कामभन्दा अर्को केही गर्नसक्ने देखिँदैन ।

अर्कोतिर समाजवादी बुद्धिजीवी र लेखकहरू पुँजीवादका असफलताहरूलाई तथ्य र तर्कका आधारमा प्रस्ट पारिरहेका छन् । पुँजीवादले मानवीयताका पक्षमा होइन, पुँजीको संरक्षणका लागि काम गर्दछ । श्रमिकहरूलाई उत्पीडनमा राखेर पुँजीपतिहरूको संरक्षणमा जोड गर्दछ । त्यसैले संसारका पुँजीवादी मुलुकका जनताहरू कोरोनाबाट बढी प्रताडित छन् । पुँजीवादीहरूले मानवीय संवेदनालाई पूरै बेवास्ता गरिरहेका छन् किनकि दार्शनिक हिसाबले यिनिहरू भौतिक विज्ञानको अस्त्र बोकेर अध्यात्मवादका अनुयायी बनिरहेका हुन्छन् जुन अस्त्र जनताका लागि मानवताका लागि होइन, दुनियाँलाई शोषण गर्न प्रयोग गर्दछन् । त्यसकारण उनीहरू असफल भइरहेका छन् । यसको ठीक विपरीत समाजवादी विचार, दृष्टिकोण र योजनाले मानवीय सहायता र मानवीय आवश्यकता पूर्ति गर्न सम्पूर्ण ध्यान केन्द्रित गरेको हुन्छ । मानवीय श्रमले विकास गरेका भौतिक विज्ञानका अस्त्रहरूलाई मानव सेवामै लगाउने द्वन्द्वात्मक भौतिकवादी दृष्टिकोणले समाजवादीहरूलाई निर्देश गर्दछ । पुँजी भनेको मानवीय आवश्यकता र समस्या हल गर्ने साधन मात्र हो, यो साध्य होइन भन्ने स्पष्ट दृष्टिकोण समाजवादीहरूसँग हुने गर्दछ । त्यसैले समाजवादी मुलुकहरू कोरोनाको महामारी नियन्त्रणमा लिन सफल भइरहेका छन् । यो आज संसारका अगाडि देखिएको तथ्य हो जस्तो कि चीनमा कोरोना फैलिरहँदा चाइनिज भाइरस भनेर चीनलाई गिज्याइरहेको साम्राज्यवादी अमेरिका मानवीयताका पक्षमा उभिन नसक्दा आज सबभन्दा बढी कोरोना सङ्क्रमितहरूको देश भएको छ भने चीन कोरोना नियन्त्रण गर्न करिब सफल भएको छ । यस्तै समाजवादी भेनेजुयलाले आफ्नो देशमा कोरोना सङ्क्रमित देखिनेबित्तिकै चीनसँग सहयोग माग्यो । आफ्नो सरकारको ध्यान देशका नागरिकहरूमा केन्द्रित ग¥यो । यो आलेख तयार पारिरहँदासम्म तीन महिनाको अवधिमा जम्मा ११९ जनामा मात्र कोरोना भाइरस सङ्क्रमित छ जसलाई उसले अरू थप मान्छेहरूमा विस्तार हुनै दिएको छैन । भेनेजुयला अमेरिकाको आँखाको कसिङ्गरजस्तै देश हो । मानवीयताका पक्षमा काम गरेकाले ऊ कोरोना नियन्त्रणमा लिन सफल भयो । अमेरिका भने चीनलाई गाली गरेर बस्यो । आज ऊ आफैँ महामारीको जालोमा फसेको छ । शासकहरूको गलत रबैयाले गर्दा अमेरिकी नागरिकहरू महामारीको जोखिम मोल्न बाध्य भइरहेका छन् । यी सामान्य तथ्यहरूले के देखाउँछन् भने मानवीय जीवनमा आइपर्ने आर्थिक, सामाजिक, महामारीलगायत सबै सङ्कटको हल गर्ने सामथ्र्य माक्र्सवादी विचार, दृष्टिकोण, योजना र यसबाट प्रेरित समाजवादले मात्र राख्छ । पुँजीवादी विचार असफल सङ्कटग्रस्त विचार र दृष्टिकोण हो । त्यसैले यसले मानवीय सङ्कट हल गर्न सक्दैन भन्ने तथ्य फेरि अर्कोपटक उजागर भएको छ । अब एकपटक फेरि संसारभरिका सबै बुद्धिजीवी, लेखक र श्रमजीवी जनता माक्र्सवाद र पुँजीवादको अन्तरलाई नयाँ शिराबाट सोच्न बाध्य हुनेछन् । यसलाई नयाँ वैचारिक तरङ्ग पनि भन्न सकिन्छ ।

दुई : राजनीतिक सत्तामा तरङ्ग

राजनीतिक सत्ताको चरित्र र प्रकृतिको चर्चा गर्दा यो कुन दर्शन र दृष्टिकोणबाट निर्देशित छ भन्ने कुरा मुख्य भएर आउँछ । आज संसारमा पुँजीवादी दर्शनलाई अवलम्बन गरिरहेका साम्राज्यवादी देशहरू जस्तै अमेरिका, बेलायत, भारतलगायत देशमा सञ्चालित पुँजीवादी सत्ता, खुला बजारलाई अवलम्बन गरे पनि माकर््सवादी आस्था, विचार र दर्शनका आधारमा आआफ्नै विशेषतामा निर्माण भएका र चलिरहेका चीन, क्युबा, भेनेजुयला, उत्तरकोरियाजस्ता देशहरूमा सञ्चालित फरकफरक विशेषताका समाजवादी सत्ता र अविकसित र तेस्रो विश्वका देशहरू जस्तै नेपाल, पाकिस्तान, भुटान, बङ्गलादेशमा सञ्चालित दलाल पुँजीवादी सत्ता । तीन फरक चरित्रका सत्ताहरू विश्वका विभिन्न देशहरूमा सञ्चालित छन् । हुनत बहुराष्ट्रिय कम्पनी र साम्राज्यवादीहरूको सेवा गरेबापत प्राप्त कमिसनबाट आफ्नो ऐसआरामको जिन्दगी व्यतित गरिरहेका दलाल पुँजीवादी सत्ताका सञ्चालकहरूलाई छुट्टै क्याटागोरीमा नराखेर चर्चा पनि गर्न सकिन्छ तर दलाल पुँजीवादी सत्ताको चरित्र पुँजीवादी सत्ताको भन्दा पनि गएगुज्रेको हुने हुँदा यसका बारेमा पनि चर्चा गर्नैपर्ने देखिन्छ ।

पुँजीवादी सत्ताले देशको शासन–प्रशासन बनाउँदा र सञ्चालन गर्दा नाफालाई मात्र हेरेको हुन्छ । पुँजीवाद चरम सङ्कटग्रस्त पुँजीवादमा अर्थात् उत्तरसाम्राज्यवादमा गइसकेपछि ऊ आफ्नो अस्तित्व बचाइराख्न झन्पछि झन् क्रूर बनिरहेको छ । यस्ता सत्ता अभ्यास गरिरहेका देशका शासकहरूले संसारभरिका सबै साधनस्रोतलाई आफ्नो नियन्त्रणमा लिनका लागि दिनरात षड्यन्त्रका जालहरू बुनिरहेका हुन्छन् जस्तै संसारभरिका काम गर्न लायक सबैखाले मानवीय जनशक्तिलाई सस्तो मूल्यमा आफैँले किन्ने, मानवीय श्रम र सभ्यताले विकास गरेका विज्ञानका सबै आविष्कारहरूलाई आफ्नो नियन्त्रणमा राख्ने, बजार पुँजीलाई वित्त पुँजीमार्फत केन्द्रीकरण गर्ने, सामान उत्पादन गर्दा जहाँ सस्तो मूल्यमा उत्पादन गर्न सकिन्छ त्यही गर्ने तर बिक्रीवितरण गर्दा बढी नाफा लिनलाई आफ्नै सीमित डालोबाट मात्र गर्ने, नाफाका लागि सिन्डिकेट र कार्टेलिङ लाद्ने, प्राकृतिक साधनस्रोतमाथि कब्जा जमाउन मानवीय संवेदनाहीन बनेर जुनसुकै देश र जनतामाथि फौजी हमला गरेर नरसंहार मच्चाउनेजस्ता घृणित काम पुँजीवादी सत्ताका चारित्रिक विशेषता नै हुन् । गाँस, बास, शिक्षा, स्वास्थ्य, रोजगार, सञ्चारलगायत आधारभूत कुराहरूलाई समेत पुँजीवादी सत्ताका सञ्चालकहरूले नाफा कमाउने साधन बनाइरहेका हुन्छन् । यी भनेका नित्तान्त मानवीयतासँग जोडिएका विषयसमेत हुन् । अनि कसरी सम्भव हुन्छ पुँजीवादी सत्ताबाट मानवीयताका पक्षमा काम ! पुँजीवादीहरूले कोरोनाजस्तो महामारीसँगको लडाइँलाई पनि नाफाघाटाको व्यापारसँग जोडेर मात्र आफ्नो योजना बनाउँछन् । त्यसकै प्रतिफल रोग र महामारीले पनि पुँजीवादीहरूलाई असफल बनाउँदै लगेको छ जसले गर्दा पुँजीवादी मुलुकभित्रका जनताहरूले झन् बढी दुःख पाइरहेका छन् । कोरोना महामारीको प्रभावलाई न्यूनीकरण गर्दै अमेरिका बन्द गर्नका लागि बनेको हैन भन्दै हिँड्ने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प आज आएर १८० डिग्रीको फन्को मारेर चीनको सिको गर्दै अमेरिकालाई लकडाउन गर्ने स्थितिमा आइपुगेका छन् । उनी महामारीलाई नियन्त्रण गर्न असफल भएका छन् । यो आलेख लेख्दै गर्दा अमेरिकामा सङ्क्रमितहरूको सङ्ख्या २,१५,३०० पुगेको छ । सङ्क्रमण बढ्नुमा ट्रम्पले जनतालाई दोष दिएका छन् । संसारको मुख्य पुँजीवादी मुलुक अमेरिका असफल भएको कुरालाई पुँजीवादी सत्ताको असफलता नभनेर के भन्ने ?

अर्कोतिर आफ्नै विशेषतासहितको समाजवादी सत्ता अभ्यास गरिरहेका मुलुकहरू औँलामा गन्न सकिनेजति मात्रै छन् । यिनीहरूको सत्ता निर्माणको पृष्ठभूमि भनेको सामन्तवाद, साम्राज्यवादविरोधी सशस्त्र सङ्घर्ष हो । यिनीहरूले द्वन्द्वात्मक भौतिकवादलाई आफ्नो जीवनदर्शन मान्छन् भने माक्र्सवादलाई यिनीहरू निर्देशक सिद्धान्तका रूपमा लिन्छन् । यिनीहरूले अवलम्बन गरिरहेका नीति र कार्यक्रमहरू कति माक्र्सवादसम्मत छन्, त्यो छुट्टै चर्चा गर्नलायक विषय भने पक्कै हो तर यस्ता समाजवादी सत्ता अभ्यास गरिरहेका देश अहिले पनि पुँजीवादी अमेरिकासँग विचार, राजनीति, अर्थतन्त्र र प्रविधिसँग सीधासीधा टक्कर गरिरहेका मात्र छैनन्, संसारभरि एकतर्फी रजाइँ मच्चाइरहेको अमेरिकाको घमण्ड तोड्दै अगाडि बढिरहेका छन् । जस्तो चीन, क्युबा, भेनेजुयला र उत्तरकोरिया । मानवीय सेवामा सत्ताको ध्यान केन्द्रित गर्ने, आफ्ना देशका सबै नागरिकहरूलाई उनीहरूको क्षमताअनुसारको काम दिने, काम र आवश्यकताअनुसारको दाम दिने, गाँस, बास, कपास, शिक्षा, स्वास्थ्यलगायत मानवीय आवश्यकताका आधारभूत कुरालाई किनबेचको वस्तु नबनाई राज्यले जिम्मा लिने समाजवादी सत्ताका आधारभुत विशेषता हुन् । आफूले प्राप्त गरेका अनुभव र विकास गरेका प्रविधिहरू मानवजातिको हितका निम्ति संसारभरिका मानवजातिले प्रयोग गरून् भन्ने उच्च चाहना समाजवादी चिन्तकहरूले राखिरहेका हुन्छन् । यसको ताजा उदाहरणका रूपमा चीनलगायत मुलुकहरूमा महामारी फैलिरहँदा अमेरिका चीनलाई गिज्याइरहेको थियो भने समाजवादी मुलुक क्युबाले आफ्ना चिकित्सकलाई महामारीको नियन्त्रण र उपचार गर्न भेनेजुयला र इटली पठाइरहेको थियो । तत्कालीन रोम साम्राज्यका बादशाह निरोलाई समेत माथ गर्ने गरी ट्रम्प प्रशासन र युरोपियन युनियनकै सदस्य राष्ट्र जर्मनीले समेत इटलीले गरेको सहयोगको याचनालाई सुनेनन् । मानवजातिले प्रकृतिसँग गरिरहेको कोरोना भाइरस सङ्घर्षलाई सबै मिलेर जित्नुपर्ने बेला उल्टै पुँजीवादको बाँसुरी धुन बजाएर बसे । सायद यतिबेला इटालियनहरू आफ्नो देशका पूर्ववादशाह निरोको नयाँ अवतारका रूपमा डोनाल्ड ट्रम्प र एन्जेला मर्केललाई देखिरहेका छन् । उता चीनले आफ्नो देशको कोरोना महामारीलाई नियन्त्रणमा लिएर पनि इटालियन जनताको सहयोग गर्न आफ्ना दक्ष चिकित्सकहरूलाई आवश्यक सामग्रीसहित इटाली पठाइसकेको छ भने मानवजातिको भविष्यका लागि सबैसँग मिलेर लड्ने घोषणा गरेका छन् चिनियाँ राष्ट्रपति सी जिनपिङले । समाजवादी मुलुक भेनेजुयलाले कोरोना महामारीलाई पूरै नियन्त्रणमा लिइसकेको छ । उत्तरकोरियाले कोरोना महामारीलाई आफ्नो सीमाभित्र प्रवेश गर्नै नदिने प्रण गरेको छ । पुँजीवादी मुलुकहरू जस्तै स्पेन, आयरल्यान्ड र दक्षिणअफ्रिकाले समेत समाजवादी मुलुकहरूले अवलम्बन गर्ने नीति (देशभित्रका सबै निजी अस्पतालहरूलाई राष्ट्रियकरण गर्ने) लागू गरेर कोरोना महामारीको रोकथाम नियन्त्रण र उपचार गरिरहेका छन् । उल्लिखित तथ्यहरूबाट के कुरा प्रस्ट हुन्छ भने मानवकेन्द्रित समाजवादी व्यवस्था जहाँ स्वास्थ्यजस्तो मानवीयतासँग जोडिएको विषय सम्पूर्ण हिसाबले राज्यको नियन्त्रणमा हुन्छ, पुँजीवादले बनाएजसरी किनबेचको वस्तु बनाउन पाइँदैन, सत्ताको ध्यान मानव सेवामा केन्द्रित हुन्छ । त्यसैले जस्तोसुकै महामारीलाई पनि कठोर सङ्घर्ष गरेर पराजित गर्न सकिन्छ । कोरोना महामारीको तरङ्गले समाजवादी चिन्तनसँग जोडिएको सत्ता र पुँजीवादी चिन्तनसँग जोडिएको सत्ताको भेद छुट्ट्याउने ऐतिहासिक अवसर संसारभरिका मानवजातिलाई मिलेको छ ।

दलाल पुँजीवादी सत्ता चलिरहेका मुलुकहरूको सत्ता सञ्चालनमा पुँजीपतिहरूको हालीमुहाली भइरहेको हुन्छ । यस्ता मुलुकमा सत्ता सञ्चालन गरिरहेका शासकहरूको छुट्टै आफ्नो योजना हुँदैन । यिनीहरू बहुराट्रिय कम्पनी र पुँजीपतिहरूको सेवा गर्ने कारिन्दाका रूपमा काम गरिरहेका हुन्छन् । यिनीहरू पुँजीवादी मुलुकका शासकहरूजस्तो आफैँ उद्योगहरूका एकल मालिक बन्नसक्ने औकातमा हुँदैनन् तर पुँजीपतिहरूले भनेअनुसारका नीतिनियम बनाएर, उनीहरूको व्यवस्थापक भइदिएबापत उनीहरूबाट कमिसन प्राप्त गर्दछन् । यिनीहरू पुँजीवादी देशका शासकहरूसँगको हिमचिमबाट उनीहरूले प्राप्त गरिरहेका ऐसआरामको जिन्दगीका लालची बन्न पुग्छन् र विलासी गाडी, आलिसान महलका दास बनेर आफ्नो जिन्दगी गुजरा गरिरहेका हुन्छन् । त्यसैले यस्ता शासकहरूको ध्यान मानवसेवामा केन्द्रित हुनै सग्दैन । त्यही भएर दलाल पुँजीवादी सत्तालाई पुँजीवादी सत्ताभन्दा पनि गएगुजे्रको सत्ताका रूपमा बुझ्ने गरिन्छ । कमिसनखोरी, भ्रष्टाचार, तस्करी, कालोबजारी, आसेपासे भरौटेहरूको भर्ती, विभिन्न काण्डैकाण्डका शृङ्खलाबद्ध ब्रह्मलुट, सत्ता र शक्तिको आडमा खोलानाला, बनजङ्गल सबैको दोहन अनि कमिसन र नाफाका लागि देशका प्राकृतिक सम्पदा नदीनाला र भौगोलिक अस्मितासमेत विदेशीलाई बेच्न पछि नपर्ने दलाल पुँजीवादी सत्ताका मुख्य चरित्र हुन् जहाँ शिक्षा, स्वास्थ्यजस्ता अति संवेदनशील सेवा र वस्तुहरू पनि पुँजीपतिहरू र सत्ता सञ्चालकहरूको मिलोमतोमा नाफा कमाउने साधन बनाइएका हुन्छन् । भ्रष्टाचार नभएको कुनै क्षेत्र बाँकी रहँदैन जसको ताजा उदाहरणका रूपमा हालै गम्भीर मानवीय संवेदना र जटिलतासँग जोडिएको कोरोना भाइरसको जाँच र उपचारका लागि आवश्यक पर्ने सामग्री खरिदमा समेत नेपाल सरकारका जिम्मेवार पदाधिकारीहरूबाटै चरम भ्रष्टाचार भएको खबर सार्वजनिक हुँदा सम्पूर्ण जनतालाई समेत विश्वका अगाडि लज्जाबोध गराएको छ । एक अर्ब चौबीस करोड अठसठ्ठी लाख रुपैयाँको कोरोना परीक्षण र उपचार सामग्री खरिद गर्दा इमरजेन्सीका नाममा तीन महिनाअघि सुरु भएको ठेक्काप्रक्रिया भङ्ग गरेर सीधै एउटा कम्पनीमार्फत सामान खरिद गर्ने कुराले कुनै पनि बहानाबाजी र छलकपटपूर्ण भ्राष्टाचारको कालो कर्तुतलाई ढाकछोप गर्न सक्दैन । सरकार यस्तो इमरजेन्सीको पर्खाइमा थियो जसकारण सम्पूर्ण प्रक्रिया मिचेर खरिद गर्न सकियोस् । कोरोनाको पाँचौँ बिरामी भेटिँदा सरकारलाई यस्तो अवसर जु¥यो । यही हो दलाल पुँजीवादको भद्दा रूप । सामान्य ज्वरो आएका बिरामीलाई उपचारै नगरेर फर्काइदिने विभिन्न मेडिकल कलेज र निजी अस्पतालहरूको अमानवीय र निकृष्ट व्यवहारको जति निन्दा गरे पनि कमै हुन्छ । यस्ता मानवताविरुद्धका अपराधमा संलग्न माफियाहरूकै प्रभावमा दलाल पुँजीवादी सरकार चलिरहन्छ, उनीहरूलाई कारबाही गर्नुको सट्टा उनीहरूकै संरक्षक बन्दछ किनकि यस्ता जनतालाई लूटखसोट गर्न खोलिएका निजी स्वास्थ्य संस्थाहरूमा पुँजीपतिहरू र सरकार सञ्चालकहरूको संयुक्त लगानी हुन्छ जसले गर्दा माफिया र सरकारको घाँटी छुट्टिनै नसक्ने गरी जोडिन पुग्छ । निजी मेडिकल कलेज र अस्पतालहरूको राष्ट्रियकरण गर्ने कुरा दलाल पुँजीवादी व्यवस्थामा गधालाई धोएरै गाई बनाउने असम्भव कुराजस्तै हो । राष्ट्रियकरणका लागि त समाजवादी सत्ता चाहिन्छ । सामाजिक पुँजीवादीहरू जहिले पनि समाजवादको जलपमा जनतालाई झुक्याएर आफ्नो निजी स्वार्थ पूरा गर्न तल्लीन भइरहेका हुन्छन् । देशका हजारौँ नागरिक आफ्नो देश आउनका लागि सीमामा बसेर अलापबिलाप गर्दा पनि लकडाउनका नाममा कानमा तेल हालेर बस्ने तर आफूलाई कम्युस्टि भनिरहने शासकहरूको हददर्जाको नालायकीपनले समग्र कम्युनिस्ट आन्दोलनकै खिल्ली उडाइरहेको छ । यसप्रकारको ताजुबलाग्दो स्थिति मुनाफा र कमिसनकेन्द्रित दलाल पुँजीवाद कायम रहँदादेखि नै रहन्छ ।

कोरोना महामारीले फेरि पनि उत्पन्न गरिदिएको तरङ्ग के हो भने जतिसुकै लूटखसोट मच्चाएर धनको थुप्रोमा सुते पनि समाजवादको अगाडि पुँजीवाद रुन्चे र निरीह बनेको छ । पुँजीवादको पतनलाई धनदौलत र घमण्डले रोक्न सक्दैन भन्ने तथ्य फेरि अर्कोपटमक पुष्टि भएको छ । मानवीय सङ्कटलाई हल गर्नसक्ने निर्विकल्प राजनीतिक सत्ता भनेको वैज्ञानिक समाजवाद मात्र हो ।

तीन : विज्ञान र प्रविधिमा तरङ्ग

मानवीय विवेक, ज्ञान, क्षमता, सीप, श्रम र विकासको स्वाभाविक प्रक्रियामा नयाँनयाँ वैज्ञानिक आविष्कार र प्रविधिको विकास भइरहेको हुन्छ । पुँजीवादले प्रविधि र श्रमको सम्बन्धलाई बेवास्ता गर्दै प्रविधिमा अत्यधिक जोड गर्दछ । प्रविधिको प्रयोग, उपयोग वर्गव्यवस्थासँग जोडिएको कुरालाई पुँजीवादले अर्कोतिर मोड्ने प्रयत्न गरिरहेको हुन्छ । बहुसङ्ख्यक मेहनतकस श्रमजीवीहरूलाई पुँजीवादले प्रविधिको मनोवैज्ञानिक आतङ्क मच्चाइरहेको हुन्छ र तिनै मेहनतकस श्रमजीवीहरूबाट प्रविधि आफ्नो नियन्त्रणमा राखिराख्ने दुष्प्रयास गर्ने श्रमचोर नाफाखोरहरूको सञ्जाल हुन्छ पुँजीवादी व्यवस्थामा । त्यसको ठीक उल्टो समाजवादी व्यवस्थामा प्रविधिलाई मानवजातिको सेवामा प्रयोग गरिन्छ । विज्ञानका कयौँ क्षेत्रमा प्रविधिको चामत्कारिक विकास भइरहेको सन्दर्भमा कोरोना भाइरसको महामारी सङ्कटले यसको रोकथाम नियन्त्रण र उपचारका लागि नयाँ प्रविधिको विकास गर्नैपर्ने भएको छ । कोरोनासँगको सङ्घर्षबाटै प्रविधिको विकास सम्भव छ । विशेषगरी सम्भावित बिरामीहरूको खोजी गर्ने, बिरामीहरूको तुरुन्त कोरोना परीक्षण गर्ने र सङ्क्रमितहरूको तुरुन्त उपचार गर्ने गरी विभिन्न प्रविधिको विकास भइरहेका खबरहरू सबैतिर आइरहेका छन् । कोरोनाविरुद्धको भ्याक्सिन र नयाँ औषधिको खोजीका लागि स्वास्थ्य वैज्ञानिकहरूले निरन्तर प्रयास गरिरहेका छन् । विशेषगरी चीन र अमेरिकाले प्रयोगमा ल्याएका भनिएका प्रविधि र अनुभवहरू संसारभरि प्रयोग भइरहेका छन् ।

चिनियाँहरूले ४० हजार चिकित्सक र अन्य स्वास्थ्यकर्मीहरूलाई सवा करोड जनसङ्ख्या भएको बुहान सहरमा केन्द्रित गरी डाक्टरहरूलाई मानिसहरूका घरघरै पठाएर सबैको स्वास्थ्य परीक्षण गरेर कोरोना नियन्त्रणमा लिएको देखिन्छ । चिनियाँहरूले मानवीय श्रमले सिर्जित प्रविधिलाई सँगै जोडेर कोरोना प्रभावितहरूको उपचारका लागि आवश्यक पर्ने अस्पतालहरू रातारात निर्माण गरे । पूरै सहर लकडाउन गरेर सम्भावित सङ्क्रमितहरूको खोजी, परीक्षण र सङ्क्रमितहरूको उपचार यति तीव्रतामा गरे जसलाई पुँजीवादी विचारकहरूले चीन सरकारले नागरिकका सबै गोपनीयता आफ्नो नियन्त्रणमा लियो, प्रविधिले मानवीय चेतनालाई समेत नियन्त्रण राख्न सक्छ भन्ने व्याख्या गर्दै चिनियाँहरूको अद्भुत चामत्कारिक श्रमशक्तिलाई अवमूल्यन गर्ने दुस्साहस गरे । कहाँसम् मभने चिनियाँ श्रमजीवी वैज्ञानिकहरूले विकास गरेका प्रविधिलाई पुँजीवादले विकास गरेको प्रविधि भनेर एकहोरो रटान गरिरहेका छन् । सायद चिनियाँहरूले गरेको जस्तै कोरोना परीक्षण र उपचार प्रविधिको विकास अमेरिकाले गरेको हुन्थ्यो भने उसले यतिबेला नाफा कमाउनका लागि खर्बौं डलरमा बेचिरहेको हुन्थ्यो कि त यस्तो अनुभव र प्रविधि अरूलाई नदिएर आफ्नो नियन्त्रणमा राखिराख्न प्रयत्न गरिरहेको हुन्थ्यो । तर चीनसँग थोरै भए पनि समाजवादी दृष्टिकोण भएकाले आफूले प्राप्त गरेको अनुभव र विकास गरेको प्रविधि विश्व–मानव समुदायका लागि आफ्ना दक्ष स्वास्थ्य प्राविधिकमार्फत संसारभरि विस्तार गरेको छ । त्यही भएर माथि नै चर्चा गरिएको हो– प्रविधिको प्रयोग र उपयोग पनि वर्ग व्यवस्थासँग जोडिएको हुन्छ । पुँजीवादले प्रविधिलाई नाफाका लागि प्रयोग गर्छ भने समाजवादले प्रविधिलाई मानव सेवाका लागि प्रयोग गर्दछ । कोरोनासँगै तैरिरहेको आजको दुनियाँमा देखिएको अर्को सत्य हो यो ।

अन्त्यमा

कोरोना भाइरसले निम्त्याएको जटिलतामाथि विजय प्राप्त गर्न बहुआयामिक प्रकारको सङ्घर्ष गरेर मात्र जित हासिल गर्न सकिन्छ । मानवजाति अन्तर्राष्ट्रिय जाति हो भनेर यूजे पोत्तरले आफ्नो गीतमार्फत भनेको कुरा फेरि अर्कोचोटि प्रस्ट हुने अवसर कोरोनाले जुराइदिएको छ । कुनै देश, ठाउँ, जाति, वर्गसँग मात्र जोडेर यस्तो खालको लडाइँमा विजय प्राप्त गर्न सकिँदैन, बहुआयामिक सङ्कट र जोखिमको हल गर्न सिङ्गो मानवजाति एकताबद्ध भएर मात्र सम्भव छ । महामारीसँगको सङ्घर्ष मानवजातिकै अस्तित्व रक्षासँग जोडिएको सङ्घर्ष हो । त्यसैले यस्तो महामारीलाई पराजित गरेर मानवजातिले विजय प्राप्त गर्नै पर्दछ । कोरोना प्रभावित देश र जनताहरूले भिन्नभिन्न प्रकारको अनुभव प्राप्त गरेका छन् । ती प्राप्त अनुभव र विकसित प्रविधिलाई सिङ्गो मानवजातिको पुँजीका रूपमा रक्षा गर्दै त्यसको थप विकास गरेर मात्र महामारीको नयाँ चुनौतीबाट पार पाउन सकिन्छ । कोरोनासँग सम्बन्धित विभिन्न तथ्य, तथ्याङ्क र सिकाइहरू विभिन्न सञ्चारमाध्यमहरूमा सार्वजनिक भइरहेका छन् । यसलाई आतङ्क र त्रासदीका रूपमा होइन, सचेतना र अनुभवका रूपमा ग्रहण गर्नु पर्दछ ।

कोरोनाको कारण देखाएर संसारका पुँजीवादीहरूले आफ्नो सङ्कटलाई ढाकछोप गर्ने कोसिस पक्कै गर्नेछन् । लकडाउनको जालभित्र जनतालाई बन्धक बनाएर मनपरी गर्ने कुरा कुनै पनि कोणबाट क्षम्य नहोला । विश्व–मानवजातिले आफ्नो भविष्य सुरक्षित गर्न संसारभरिका साम्राज्यवादी पुँजीवादी लुटेराहरूसँग विजयी बन्न निरन्तर सङ्घर्ष गरिरहनेछ । नाफाखोर पुँजीवादबाट मानवजातिको एकता रक्षा र विकास सम्भव छैन । त्यसैले मानवजातिको अपराजित दर्शन माक्र्सवाद र सबै मानवलाई समान व्यवहार गर्ने वैज्ञानिक समाजवादले मात्र विश्व–मानवजातिलाई एकताबद्ध गर्न सक्छ भन्ने सत्यको विद्युतीय तरङ्ग संसारभरिका पुँजीवादीहरूका मस्तिष्कमा कोरोना भाइरस (कोभिड १९) ले फेरि ठोक्काइदिएको छ । पुँजीवादीहरूले प्रकृतिमाथि गरेको हमलालाई प्रकृतिले प्रतिरोध गर्न खोज्दा आज सबै मानवजाति कोरोनाको आक्रमणमा परेको छ । त्यसैले सबै एकताबद्ध भएर विजयी बन्नुको विकल्प छैन ।
२० चैत, २०७६