आज एकै दिन थप तीन जनामा कोरोना देखापरेसँगै नेपालमा कोरोना संक्रमणको संख्या ९

प्रकाशित मिति : शनि, चैत्र २२, २०७६



आज एकै दिन थप तीन जनामा कोरोना देखा परेसँगै नेपालमा कोरोना संक्रमणको संख्या ९ पुगेको छ । श्वास्थ्य मन्त्रालयका अनुसार भारतबाट फर्किएका दुई जना र एक जना नेपालमै गरी तीन जनामा कोरोना फेला परेको छ । स्वास्थ्य मन्त्रालयले संक्रमण भएका थप तीनजना बिरामी फेला परेको बताएको छ । मन्त्रालयको आधिकारिक फेसबुक पेजमा दिइएको जानकारीअनुसार तीनैजना धनगढीका हुन् । यो सँगेै नेपालमा कोरोना संक्रमितको संख्या ९ जना पुगेको छ ।

संक्रमितमा भारतको मुम्बइबाट फर्किएका कैलालीका २१ वर्षीय पुरूष, भारतकै उत्तराखण्डबाट फर्किएका कञ्चनपुरका ४१ वर्षीय पुरूष र कैलालीकी ३४ वर्षीय महिला रहेको मन्त्रालयको पेजमा उल्लेख गरिएको छ।

यी महिला यसअघि कैलालीमा भेटिएका संक्रमित पुरूषकी आफन्त भएको पनि मन्त्रालयले जनाएको छ । योसँगै पहिलो पटक नेपालभित्रै अर्को व्यक्तिमा कोरोना संक्रमण भएको पनि पुष्टि भएको छ ।

मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार यसअघि गएको चैत ४ गते कतारको दोहा हुँदै काठमाण्डौ जहाजमा फ्रान्सबाट आएकी काठमाण्डौकी एक युवती र बेल्जियमबाट कतार हुँदै नेपाल आएकी बाग्लुङकी १९ वर्षिया युवतीमा संक्रमण देखिएको थियो ।
कोरोना संक्रमित ९ मध्ये एकजना उपचारपछि घर फर्किसकेका छन् । अन्यको उपचार भइरहेको र उनीहरको स्वास्थ्य अवस्था सामान्य रहेको डाक्टरले बताएका छन् ।