आफ्नो देशमा एकजना पनि कोरोना भाइरस संक्रमित नभएको उत्तर कोरियाकाे घाेषणा

प्रकाशित मिति : शनि, चैत्र २२, २०७६



उत्तर कोरियाले आफ्नो देशमा कोरोना भाइरस (कोभिड–१९) एकजना पनि संक्रमित नभएको बताएको छ । विश्वभर कोरोनाबाट मृत्यु हुनेको संख्या ६१ हजार नजिक पुग्दैगर्दा उत्तर कोरियाले भने आफ्नो देशलाई कोरोनामुक्त घाेषणा गरेको छ ।

उत्तर कोरियाको केन्द्रीय आपतकालीन केन्द्रका प्रमुख पाक म्योङ्ग सुले अहिलेसम्म एक जना व्यक्तिमा पनि कोरोनाको संक्रमण नभेटिएको बताए । उनले कोरोना रोकथामको आफ्नो प्रयास पूर्णरुपमा सफल भएको बताए ।

उत्तर कोरियाका सरकारी संचारमाध्यमहरुले सर्वोच्च नेता किमजोङ उनले एउटा कार्यक्रमलाई सम्बोधन गरिरहेको फोटा सार्वजनिक गरेका छन् । मंचमा सँगै देखिएका नेताहरुले मास्क लगाएपनि नेता उनले भने लगाएका छैनन् । निर्माण क्षेत्रका कामदार तथा मजदूरलाई सम्बोधन गर्दै नेता उनले कोरोनाबाट आतंकित हुने पर्ने नभएको बताए । उनले कोरोनाभाइरसबाट देशलाई मुक्त गर्न सबै योजना बनाएको बताउँदै विश्वस्त हुन अपील गरे ।

उत्तर कोरियाको इपिडिमियोलोजी विभागका प्रमुख पाक म्योङ सुले अपनाएका कडा कानून र मापदण्डका कारण उत्तर कोरिया कोरोनाबाट बच्न सफल भएको बताए ।

सीमा बन्द, विदेशबाट आउने सबैजनालाई अनिवार्य रुपमा क्वारेन्टाइनमा राख्ने, हरेक नागरिकको निगरानी गरेर राज्यले नै उपचार गर्नेजस्ता कार्यहरु गरेका कारण कोरोना संक्रमण नभएको सुले बताए ।

उत्तर कोरियाका अधिकारीहरुले मानविय हिसाबले कोरोनासँग लडिरहेका देशहरुलाई सहयोग गर्ने बताएका छन् । अमेरिकालाई संकेत गर्दै एक अधिकारीले भने, “आफूलाई शक्ति सम्पन्नको दाबी गर्ने देशका नागरिकको अवस्थमा देखेर हामीलाई दया लागेको छ । बरु मानविय हिसाबले ती देशका नागरिकलाई हामी सहयोग गर्न तयार छौं ।”

कोरोनाभाइरसले अमेरिकामा महामारीको रुप नलिदै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सबै कुरा बाहिर ल्याउन भन्दै कोरोनाविरुद्ध लड्न उत्तर कोरियलाई सहयोग लिन पत्र पठएका थिए ।

यसअघि उत्तर कोरियाको अधिकारीको पछिल्लो भनाई अमेरिकाको उक्त पत्रको जवाफको रुपमा लिइएको छ ।