कोरोनाको उद्गमस्थल वुहानमा लकडाउन हटेपछि जनजीवन सामान्य

प्रकाशित मिति : बुध, चैत्र २६, २०७६



कोरोनाभाइरसको उद्गमस्थल चीनको वुहानमा जारी लकडाउन हटाइएइको छ । कोरोनाका नयाँ संक्रमित नभेटिएपछि ११ हप्तापछि लकडाउन हटाइएको हो ।

चिनियाँ संचारमाध्यमहरुका अनुसार मंगलबार रातिदेखि जारी लकडाउन खुलाइएको छ । लकडाउन खुलेसँगै बुधबार विहानैबाट वुहानमा चहलपहल सुरु भएको छ ।

सडकमा राखिएका अवरोध हटाइएको छन् । छोटो तथा लामो दूरीका सार्वजनिक यातायात सुरुचारु भएका छन् । घरभित्रै उकुसमुकुस भएका स्थानीय खुला ठाउँमा निस्केका छन् ।

वुहानमा मानिसहरुलाई लकडाउन अवधिभर खाद्यान्न खरिद वा अन्य अत्यावश्यक कामको लागि मात्र बाहिर जाने अनुमति थियो । वुहानमा ७६ दिन पछि लकडाउन खुलेपछि साना र मझौला आकारका व्यवसायीहरुले काम सुचारु गर्न सुरु गरेका छन् । ठूला उद्योगले यसअघि नै काम सुचारु गरिसकेका थिए ।

यो शहरमा १ करोड १० लाख मानिसहरु बसोबास गर्दै आएका छन् ।

लकडाउन खुलेसँगै बुधवार १० हजार यात्रु बोकेर दुई सय विमानहरू वुहान सहरबाट अन्यत्र जाने तय भएको छ भने एकसय वटा रेल छुट्ने चिनियाँ संचारमाध्यमहरुले बताएका छन् ।

कोरोनाको उद्गम वुहान खुलेपनि विश्वका अन्य देशहरुमा भने आतंक झनझन बढ्दै गएको छ । पछिल्ला अब कोरोनाको केन्द्र अमेरिका बन्ने देखिएको छ । पछिल्लो चौबिस घण्टामा अमेरिकामा अहिलेसम्मकै बढीको मृत्यु भएको छ भने संक्रमितको ंसंख्या ४ लाख पुगेको छ । मृत्यु हुनेको संख्या १३ हजार नजिक पुगेको छ ।