भारतीय अतिक्रमणले राष्ट्रघातीहरुको अनुहार छर्लङ्ग बनाइदियाे: जनसांस्कृतिक महासंघ

प्रकाशित मिति : मङ्ल, बैशाख ३०, २०७७



अखिल नेपाल जनसांस्कृतिक महासंघले भारतीय साम्राज्यवादको पछिल्लो अतिक्रमणले नेपाली सत्तासीनहरूका राष्ट्रघाती अनुहार पनि अझै छर्लङ्ग बनाइदिएको भन्दै नेपाललाई आफ्नो वास्तविक नक्सा तुरुन्त सार्वजनिक गर्न र भारतलाई कालापानीबाट आफ्नो सेना तुरुन्त फिर्ता गर्न आग्रह गरेको छ । महासंघका महासचिव खेम थपलियाले आज एक प्रेस विज्ञप्ति जारी गर्दै सो आग्रह गरेका हुन् । महासचिव थपलियाले भारतले नेपालको सिमानामा नङ्ग्रा गाड्न थालेको सन् १८१६ को सुगौली सन्धिबाटै हो भन्दै नेपालका लम्पसारवादी शासकका कारण भारत आज पनि नेपालको सीमा अतिक्रमण गर्न हौसिँदै छ । नेपाली भूमिबाट भारतीय शासकलाई धपाउन राष्ट्रिय जनप्रतिरोध सङ्घर्ष अपरिहार्य बन्दै गएको छ । कालापानी, लिपुलेक र महाकाली सन्धि एकापसमा जोडिएका विषय हुन् । महाकाली बेचुवा केपी ओलीहरू अहिले सत्तामा विराजमान छन् । ओलीको भित्री उद्देश्य भारतीय साम्राज्यवादको चाकरी गरेर आफ्नो कुर्सी जोगाउनु मात्रै भएको ठोकुवा गरेका छन ।
यस बिषयमा अखिल नेपाल जनसांस्कृतिक महासंघका महासचिव खेम थपलियाले आज जारी गरेको प्रेस विज्ञप्ति यस प्रकार रहेको छ –
“इतिहासको यो घडीमा सिङ्गो मानवजातिले कोरोना भाइरस ‘कोभिड १९’ महामारीको विरुद्ध लडिरहेको छ । नाफा–स्वार्थका लागि पुँजीवादीहरू कोरोना महामारीको बेलामा समेत लुटखसोटको प्रतिस्पर्धामा उत्रिएका छन् । श्रमजीवीहरूले संसारभर झन् ठूला सुनामी–सङ्कटको सामना गर्नुपर्ने अवस्था देखिँदै छ । उत्पीडित तथा श्रमजीवी जनताको दैनिकी कष्टकर र जर्जर बन्दै गएको यतिबेला पुँजीवाद तथा उनको लालन–पालनमा बाँचेका कथित बौद्धिकहरू अभाव र गरिबको रोदनमा दलाल पुँजीवादी–सङ्गीत भर्ने कुचेष्टा गरिरहेका छन् । न्यायप्रेमी जनसुमदायले विभिन्न माध्यमबाट उठाएका फासिवादी ओली सरकारका भ्रष्टाचार, अनियमितता र तमाम निकृष्ट जनविरोधी हर्कतका विरुद्ध न्यायप्रेमी जनसमुदायको प्रतिरोध अभियानमा हाम्रो सङगठन अखिल नेपाल जनसांस्कृतिक महासङ्घ, केन्द्रीय समिति हार्दिक ऐक्यबद्धता जाहेर गर्दछ ।
कोरोना महामारीबाट जनताको रक्षार्थ लागू गरिएको लकडाउनको अवस्थामै भारतीय सामज्यवादले ‘नयाँ नक्साकाण्ड’ पछि फेरि ‘मानसरोवर राजमार्गकाण्ड’ घटाएको छ । कालापानी, लिम्पियाधुरा र लिपुलेकलाई भारतले आफ्नो सिमानाभित्र समेटेर गरेको सार्वजनिक नयाँ नक्साङ्कनको विवाद सेलाउन नपाउँदै नेपालको राष्ट्रिय अखण्डता र नेपाली जनताको भावनाका विरुद्ध भारतले अझ अगाडि बढेर नेपाली भूमिमा राजमार्ग नै बनाउनु, अझ रक्षामन्त्रीले त्यसको उद्घाटनसम्म गर्नु एवम् त्यसलाई भारतीय प्रधानमन्त्री मोदीले आफ्नो सपना पूरा भएको अभिव्यक्ति दिनुले हाम्रो सङ्गठनको गम्भीर ध्यानाकर्षण भएको छ । भारतको यस प्रकारको हददर्जाको हेपाहा, मिचाहा र पेलाहा प्रवृत्तिप्रति हाम्रो घोर आपत्ति छ । झन्डै छ दसकअघि चीन–भारतबिच युद्ध हुँदा रणनीतिक महत्वको कालापानीमा भारतीय सेनाले खडा गरेको क्याम्प आज पनि दुरुस्तै रहँदा नेपाली शासकहरूले अहिले गोहीको आँसु बगाउनुको कुनै अर्थ छैन ।
अहिले नेपाली जनमासमा प्रश्न उठिरहेको छ कि तत्कालीन नेपाल सरकार र तिनका प्रधानमन्त्री, रक्षामन्त्री र परराष्ट्रमन्त्रीहरू आजसम्म किन मौन रहे ? भारतसितको सीमा समस्या समाधानमा पटक्कै ध्यान नदिने नेता, कुटनीतिज्ञ तथा राजनीतिक दलहरू अहिले न्वारानदेखिको बल लगाएर किन चिच्याइरहेका छन् ? दिल्ली पुगेका बेला प्रम ओलीले कालापानी समस्यालाई किन गम्भीरतापूर्वक उठाएनन् ? अहिले भारतीय ‘राजमार्गकाण्ड’ को घट्नुमा नेपाली शासकहरूको लाचारी र लम्पसारवाद नै मुख्य कारण हो । अहिले पनि भारतको ‘बडिल्याङ्वेज’ ले ऊ कुनै पनि हालतमा नेपाली भूमिबाट पछि हट्ने देखिँदैन । भारतले आफ्नो विकिपिडियाको अङ्ग्रेजी संस्करणमा कालापानी टेरिटोरी आफ्नो भएको भन्दै निकै अघिदेखि अन्तर्राष्ट्रियकरण गरिसकेको छ । तर, यस्तो गम्भीर र संवेदनशील विषयमा नेपाल सरकार र विशेषतः नेपालको परराष्ट्र मन्त्रालय पुरै बेखबर छ । भारतीय साम्राज्यवादको पछिल्लो अतिक्रमणले नेपाली सत्तासीनहरूका राष्ट्रघाती अनुहार पनि अझै छर्लङ्ग बनाइदिएको छ । हामी चाहन्छौँ– नेपालले आफ्नो वास्तविक नक्सा तुरुन्त सार्वजनिक गरोस् । भारतले कालापानीबाट आफ्नो सेना तुरुन्त फिर्ता गरोस् ।
भारतले नेपालको सिमानामा नङ्ग्रा गाड्न थालेको सन् १८१६ को सुगौली सन्धिबाटै हो, जसले नेपालको एकतिहाइ भूगोल खुम्च्याइदिएको थियो । नेपालका लम्पसारवादी शासकका कारण भारत आज पनि नेपालको सीमा अतिक्रमण गर्न हौसिँदै छ । नेपाली भूमिबाट भारतीय शासकलाई धपाउन राष्ट्रिय जनप्रतिरोध सङ्घर्ष अपरिहार्य बन्दै गएको छ । कालापानी, लिपुलेक र महाकाली सन्धि एकापसमा जोडिएका विषय हुन् । महाकाली बेचुवा केपी ओलीहरू अहिले सत्तामा विराजमान छन् । ओलीको भित्री उद्देश्य भारतीय साम्राज्यवादको चाकरी गरेर आफ्नो कुर्सी जोगाउनु मात्रै हो ।

मातृभूमिको रक्षार्थ राष्ट्रियताको पक्षमा सडकमा उत्रिएका युवा–विद्याथीलगायत प्रवुद्ध व्यक्तित्वहरूलाई सरकारले अन्धाधुन्ध र अपमानजनक रूपमा पक्रिरहेको छ तर पनि देशव्यापी प्रतिरोधको राप–ताप बढिरहेको छ । हामी चाहन्थ्यौँ– ओली सरकार आफ्नो जमिनभित्र घुसेर उत्पात मच्चाउने दुष्टहरूलाई लघारोस्, तर सरकार उल्टै तात्तातो कफीको चुस्की लगाउँदै प्रभुको पाउमा रातो किस्तीमा राखेर कुटनीतिक नोट टक्र्याइरहेछ । भारतीय साम्राज्यवादले नेपालको चारदर्जन बढी स्थानमा सिमाना अतिक्रमण गरेको छ, हजारौँ हेक्टर जमिन लुटेको छ । लाखौँ जनतालाई बेघरबार बनाएको छ । वीर पुर्खाको श्रम, सीप र रगतद्वारा आर्जित आफ्नो भूमिको रक्षार्थ राष्ट्रिय स्वाधीनताको आन्दोलन उठाउन अनिवार्य भइसकेको छ । तसर्थ, हामी सम्पूर्ण क्रान्तिकारी, देशभक्त, बुद्धिजीवी, बौद्धिक, प्राज्ञिक, लेखक–कलाकार, साहित्यकार, युवा–विद्यार्थी, किसान, मजदुर, महिलालगायत सबैलाई राष्ट्रिय स्वाधीनताको यो महान् लडाइँमा एकजुट हुन यसै विज्ञप्तिमार्फत विशेष अपिल गर्दछौँ ।”