भारतमा रहेका नेपालीहरु भोकमरीको समस्यामा पर्दै: प्रवासी नेपाली जनसमाजद्वारा राहत वितरण

प्रकाशित मिति : बुध, बैशाख ३१, २०७७



शिशिर विष्ट – भारत ।
विश्व महामारीको रुपमा फैलिरहेको कोरोना महामारीले पारेको बन्दा बन्दीका कारण भारतका विभिन्न सहरहरुमा अप्ठ्याराेमा परेका नेपालीहरुलाई नेपाल सरकारले स्वदेश फिर्ता गर्ने कुराको कुनै पहल नगरेपछि र भारतमा रहेको नेपाली दुतावासले पनि कुनै सरोकार नराखेपछि रोजगारीको शिलशिलामा भारत रहेका प्रवासी नेपालीहरु यतिबेला कोरोनाको उच्च जोखिमसँगै भोकमरीको समस्यामा पर्दै गएका छन् । करिब दुई महिनाको लामो बन्दका कारण होटल कलकारखानाहरु बन्द भएपछि त्यहाँ काम गर्ने नेपालीहरु यतिबेला काम विहिन बनेर कोठाहरुमा बस्दै अाएका छन् । उता काम पनि नहुने यता कोठामा भएको राषणपानी सकिएपछि धेरै जस्तो नेपालीहरुको चुल्हो नजल्ने अवस्था भएपछि विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी निकट प्रवासी नेपाली जनसमाज भारतले राहत वितरण गरेको छ ।
प्रवासी नेपाली जनसमाज भारत नाशिक नगर कमिटीकाे अायोजना र जनसमाज भारत नाशिक नगर कमिटिकाे अगुवाईमा समस्यामा रहेका करिब १ सय घरपरिवारलाई राहत स्वरुप दाल चामल वितरण गरिएको छ । राहत वितरण कार्यक्रमकाे नेतृत्व समाजसेवी शिशिर विष्ट, मित्र लाल वि. क. र नगर अध्यक्ष गणेश वलीले गर्नुभएको थियो ।