म बिर्सिएकाे छैन अामा

प्रकाशित मिति : आइत, जेष्ठ ४, २०७७



म हराएको छैन आमा म, आउने छु ।
आँखा भरि सपनाहरू
मन भरी रहरहरु
बाँकी छ्न् अझै
सपना पूरा गर्न हिडेको हुँ
म हराएको छैन

जब आकाशमा कालो बादल मडारिन्छ ।
अन्यायको झरीले
निस्ताम्मै दुब्छन् बस्तीहरु
तब
पहरेदार बस्तिको म
आउनै पर्छ आमा म आउने छु

बस ! सास फेर्न गाह्रो हुन्छ
ती आततायी अत्याचारी बुटहरु
जस्ले किचलिएको पीडा त हुन्छ नै
र पनि केही छैन म आउछु आमा

मैले सुनिरहेको छु
त्यो पारी बस्तीहरुमा
भयावह ! कोलाहल !!
रोग
भोग
शोकले आजित भई मान्छेहरु
नसुन्छ कसैले उसको आवाज
न अधिकारको लागि बोली दिन्छ कसैले
अझैसम्म
मेरा जस्तै पिडाहरु बोकेर
बसिरहेका कर्मवीरहरु
हार केही नहि जिते संसार
मुक्तिको लागि मृत्यु
जुट्दैछन् माटोको कसम खाएर
म जस्तै दुरुस्तै
अल्लि मुजा परेका गालाहरुमा
विद्रोहको भाव झल्काउदै
भोक लाग्दा रोटी मागेर
गल्ति गरेको उनीहरु
अर्थात्
भुइँ मान्छेहारु !

मैले देखेको छु
अबोध चेलीमाथि झम्टिदा बाजले
दर्दले अाक्रान्त मुटुमाथि
रमाइरहेका सियारहरु
हो मैले देखिरहेको छु
ढालिदै ! सारिदै गरेको सिमा स्तम्भ

त्यसैले
पहरेदार बस्तिको म
आउने छु आमा
विद्रोहको आगो सल्काउने
‘चे’ बनेर

आउने छु आमा म साच्चै ‘चे’ बनेर
म हराएको छैन
बिर्सिएको छैन
यात्रा गरि रहेको छु

– धनु ओली कोषाध्यक्ष, अखिल(क्रान्तिकारी) रुकुम