मेरो जन्मदिन र बा! अामा

प्रकाशित मिति : सोम, जेष्ठ ५, २०७७



बा ! आमाको कर्तव्यनिष्ठ छोरा र यो देशको कर्तव्यनिष्ठ नागरिक बन्नेछु । मलाई यो धर्तीमा पाइला टेकाउने तपाई आमा बाप्रति हार्दिक नमन! उच्च सम्मान र सम्झना !

 

जेठ ५, मैले मेरी आमाको गर्भबाट यो धर्तीमा पाइला राखेको दिन । यो दिनमा मलाई औधी खुशी हुनु पनि छैन र यो दिनको धेरै धेरै हर्ष बढाइ पनि गर्नु छैन । न त फेरि यो दिनमा दुखी नै छु न त पोख्नु छु पिडा र वेदना । केवल यो दिनमा म यो संसारमा मलाई सबैभन्दा बढी, सबैभन्दा पहिला चाहने, माया, ममता र स्नेह प्रदान गर्ने मेरा बा र आमाको बारेमा केही शब्दहरु रट्न मात्रै चाहन्छु । म यो पृथ्वीमा खाली हात र नाङ्गो शरीर लिएर जोड जोडको रुन्चे आवाजको चिच्याहटमा जन्म लिदै गर्दा मेरी आमा सुत्केरी व्यथाको त्यो बेलाको प्रसव पिडालाई भुलेर मुसुमुसु हाँस्दै, मलाई छातिमा टाँसेर मलाई चुमिरहेकी थिइन र मेरा जीवनका सबै पिडा भुलेर मेरी आमालाई छोरा उपहार दिएकोमा मौन धन्यवाद दिदै आफ्ना दाजुभाइसँग म छोराको बाबा भएँ भन्दै मेरो जन्मको खुशियालीमा भुइँ खुट्टा छाडेर मेरा बा प्रचारप्रसार गरिरहेका थिए होला । मेरा हजुरबुबाको मेरा बाले समेत राम्रोसँग अनुहार देख्न पाएनन् भने मैले त देख्ने कुरै भएन तर मेरी हजुरआमा मेरो नाती जन्मेको खुशियालीमा महिनौंदेखि बन्द भएको बुहारी (मेरी आमा) सँग बन्द भएको बोलचाललाई तोड्दै खै नातीको अनुहार कस्तो छ हेर्छु भन्दै थिइन होला । मेरो ठुली दिदि त सानोमै माओलमै बस्ने भएकोले खासै खुशी वा दुखी (सूचना तथा संचारको अभावले भाइ जन्मेको ढिला थाहा पाउनुभयो होला) हुनुभएन होला । मेरो सानो दिदि म जन्मदा भर्खर २ बर्षको हुनुहुँदो रहेछ सायद उहाँलाई मेरो जन्म आश्चर्य र अच्चमको हुनुपर्छ र लागेको हुनुपर्छ यहाँ के भैरहेको छ । मेरा अन्य सबै नजिकका आफन्तहरु ठुलो बा, ठुली आमा, मामा माइजु, फुपु फुपाजुहरु मेरो जन्म भएको खबर पछि सायद सबैको अनुहार खुशीले टल्केको हुनुपर्छ । जन्मनु – बढ्नु, बृद्धअवस्थामा पुग्नु र मर्नु प्रकृतिको नियम हो यो हिजो देखि आजसम्म चलिरहेको छ र भोलि पनि यसरी नै चल्नेछ । भलै कसैको मृत्यु प्राकृतिक प्रकोप, युद्ध, रोगको कारण अल्पायुमै हुनसक्छ यसलाई हामीले अपवाद पनि मान्न पाइन्छ होला । म पक्कै पनि आफु खुशी र रहरले यो संसारमा आएको होइन यदि म खुशी, रहर र चाहानाले यस संसारमा आउँदो हुँ त आमाको गर्भबाट निस्कदै गर्दा मेरो रुवाइको चिच्याहट हुँदैन थियो होला । यदि त्यसाे हुन्थ्यो होला त मेरो चिच्याहटमा खुशी र उमंगको हर्षउल्लासमय हाँसोको खित्का हुन्थ्यो होला ।तर मेरा बा र आमा लगायत मेरा बा र आमाका सबै आफन्त र नातेदारको खुशी र चाहानामा मेरो जन्म भएको हुनुपर्छ । त्यसैले त म जन्मिदा उहाँहरुको ओठमा हाँसो, मनमा खुशी र हर्षउल्लास हुँदो हो । मेरा लागि सबै आफन्तहरु निकै महत्वपूर्ण,निकै प्रेमिल छन् । तथापि म आज धेरै शब्दको कारखाना खोल्ने पक्षमा छैन । म मात्रै मेरा बा र आमाको म प्रतिको माया, प्रेम, स्नेह, करुणा, त्याग, तपस्या, बलिदानी र समर्पणको बारेमा २ शब्द रटान लगाउन गइरहेको छु । मेरा बा कहिलै पनि नयाँ, सुकिलो र मुकिलो लुगामा हुदैनन् । मेरा बाको शरीरमा सधैं एउटै टोपी, कमिज र पाइन्ट हुन्छ र त्यो पनि सकुशल होइन च्यात्तिएर टालो हालेको र मैले हुन्छ । मेरा बाको खुट्टाले कहिलै नयाँ र महँगो जुत्ता र चप्पल पाएनन् । सायद चप्पल मुनिबाट काठ र ढुङ्गा बिजाउँछन् होला ।मेरा बा कहिले भोको पेट, कहिले नाङ्गो शरीर, कहिले खाली खुट्टा त कहिले खाली थाप्लोमा भारी बोकिरहेका छन् । मैले मेरा बाको पसिनाले निथ्रुकै भिजेको शरीर देखेको छु । दु:ख, कष्ठ, मेहनत, परिश्रम गर्दागर्दै कामको चापले चाउरी परेको अनुहार देखेको छु । मेरा बाको भारी बोक्दा बोक्दा खुइलिएर थाप्लोमा कपाल छैन । मेरा बाका हात र खुट्टा चिराचिरा भएर फाटेका छन् । हिड्न र खाना खान पनि मुस्किल पर्छ यस्ता थुप्रै कहानी छन् मेरा बाका ।

जो कहिलै टेलिभिजनको पर्दा आउँदैनन् । पत्रिकामा छापिदैनन् । रेडियोमा बज्दैनन् । युटुब र अनलाइनका रहस्यमय कथाहरू र व्यथाहरु बन्दैनन् यति हुँदाहुँदै पनि मेरा बाले हरेस खाएको मैले कहिलै देखेको छैन । मेरा बाले मलाई प्रत्येक वर्ष नयाँ शैक्षिक सत्रमा विद्यालय पोशाक किन्देकै छन् । मलाई लुगाको अभाव छैन, जब मलाई नयाँ किन्न मन लाग्छ पैसा माग्न थाल्छु भए खल्ती बा! नभए ऋण मागेर भएपनि मेरा बाले मलाई कपडा किन्न पैसा उपलब्ध गराइ हाल्छन् । कुनै दशैँ छुटेको छैन कि मेरा बाले मलाई नयाँ लुगा नल्याइदिएको होस् । कुनै हिउँद ॠतु छैन बाले मलाई नयाँ कोट नकिनेको तर मेरा बा मैले एकबर्ष अगाडि लगाएको कोट लगाउँदै पुष माघ तेरो पुरानो कोटले धकेलिहाल्छ त तन्नेरी मान्छेले नयाँ कोट किन भन्छन् ।मेरो खुट्टामा जुत्ता र चप्पल पातलो हुन दिदैनन् आफ्नो लागि नयाँ किनेका छन् भने मेरो पुरानो जुत्ता र चप्पल लगाउँदै भन्छन् तन्नेरीले नयाँ लगा । मेरा बाले यति मात्रै होइन मेरा लागि धेरै त्याग, समर्पण र बलिदानी गरेका छन् जब म जन्मे उनले त्यही दिनबाट आफु र आफ्नो सपनाहरूलाई तिलान्जली दिएर मेरो र मेरा सपनाहरूको बारेमा सोच्न थाले आज पनि यो कोरोनाको कहरको बिच मेरा बा परदेशमा रगत र पसिना बेचिरहेका छन् र सन्तानको निम्ति आफ्नो रगत र पसिनासँग आफ्नो भारु साटिरहेका छन् । त्यसैले मेरा बा संसारको सबैभन्दा उत्कृष्ट बा हुन् । मेरि आमा पनि मेरा झैँ म जन्मेदेखि आफुलाई बिर्सिन, आफ्ना सपनाहरूलाई बिर्सिन, भुल्न लागेको माइतीघर मेरो जन्मपछि त चटक्कै बिर्सिन । मेरी आमाले आफ्नो सबै कुरा ममा समाहित गरिसकेकी थिइन् । मेरी आमाले मलाई ९ महिना गर्भमा राखिन्, दुध चुसाइन् । माया र ममता दिइन् । तपाईहरुलाई अचम्म लाग्नसक्छ मेरी आमालाई आफ्नो नाम समेत लेख्न आउदैन उनी अ, आ ….अ: र क, ख, ग……..ज्ञ जाँंन्दैनिन् तर मेरी आमा शिक्षक हुन् जसले मलाई ताते ताते गराउँदै हिडडुल गर्न, बोल्न, खान, लगाउन, रितिरिवाज, परम्परा, संस्कार र संस्कृति, न्याय र अन्याय, सहि र गलत, सत्य र असत्य आदि इत्यादी जीवनमा सबै भन्दा बढी र पहिला सिकाउने मेरी आमा नै हुन् । मेरी आमा स्वास्थ्य क्षेत्रकी नर्स पनि हुन् उनले बच्चामा मलाई अलिकति ज्वरो आयो, टाउको दुख्यो भने तातो पानी तताएर खुवाउने गर्थिन् । मेरो हातखुट्टा काट्यो भने झारपात (घाउ सुकाउने) मिनेर लगाइदिने गर्थिन् ।
धेरै पटक बिरामी हुँदा आमाको काख र तातो पानीले निको भएका उदाहरण पनि मसँग छन् । मेरी आमा होटेल म्यानेजमेन्ट पढेकी त छैनन् तर पाँचतारे होटलको खाना भन्दा मिठो लाग्छ मलाई उनले पकाएको खाना ।एउटा किस्सा म सानोमा अबेरसम्म पढ्दा मेरी आमाले मलाई भन्थिन् सुत् अब कति पढ्छस् ? भोलि पढ्लास् बिरामी हुने हुन्छ । बिरामी भएको बेला जान्ने कहाँ गएर अक्षता हेराएका दिनहरु पनि याद छन्, झारफुपक गरेका दिनहरु पनि याद छन् तथापि बच्चामै एउटा गुण चाही मसँग थियो । मलाई अक्षता हेराउदा, झारफुक गर्दा सन्चो भइन्छ भन्ने विश्वास लाग्दैन थियो र कहिलेकाहीँ आमासँग भन्थें भने कहिलेकाहीँ मौन बिद्रोह गरेर बस्थे । मलाई यति धेरै माया गर्ने संसारकै उत्कृष्ट मेरी आमाका पनि हातमा ठेला उठेका छन् । पैतलाहरु फाटेका छन् ।अब त बुढी हुन् थालिन् क्यारे कताकता कपाल पनि फुल्न थालेको छ । छाला चाउरी पर्न लागेको छ ।लवाइखवाइमा मेरा बाको जस्तै किस्सा छ मेरी आमाको पनि वर्षौंसम्म पुरानै कुर्ता र सुरुवाल लगाउँछिन् । गुन्यु र चोला लगाउँदा चोलो टालटुल पारेको हुन्छ ।

मेरा बा र आमाले आफ्ना सपनाहरू तिलान्जली दिएर जब मबाट सपना देख्न थालेका थिए । सबैका बाआमा झैँ मेरा बा र आमाको पनि सपना थियो र छ छोराले राम्रोसँग पढोस्, लेखोस् र जागिर खाओस् र यो बुढेसकालमा हामी बुढाबुढीको हेरचाह गरोस् । तर बा र आमाले सोचे भन्दा अलि फरक सोच, विचार, चिन्तन, मनन र विवेचना गर्दै जाँदा मैले क्रान्तिको मार्ग रोज्न पुगेको छु । तथापि आज म यो विषयमा लेख्न चाहन्न अन्य कुनै दिनमा यो विषयमा पनि कलम चलाउने नै छु ।सायद, यहीकारण अभिव्यक्त नगरे पनि मेरा बा र आमा मसँग असन्तुष्ट हुनुहुन्छ । सायद देख्नुहुन्छ कसैको छोराले जागिर खाएको, कसैको छोरा विदेश गएर पैसा कमाएर पठाएको र कसैले व्यापार गरिरहेको तर आफ्नो जेठो छोरो भने क्रान्ति गर्छु भन्दै क्रान्ति मार्गमा लम्किरहेको, हजारौं कठिन, चुनौतीपूर्ण, संगिन, भीषण र आदिमय क्षणको सामना गरिरहेको र सम्झनुहुन्छ जनयुद्धमा थुप्रै निर्दोष, इमान्दार र जनपक्षीय युवाहरूको तत्कालिन तानाशाही, निरंकुश र आततायी सत्ताले अमानवीय तवरले निर्मम हत्याका शृङ्खला मच्चाएको ।त्यसैले झस्काउँछ मेरा बा र आमालाई क्रान्तिको शब्दले । लाग्छ छोरा कतै मर्छ कि लामो समय जेल बस्छ कि?मलाई आज पनि राम्रोसँग याद छ आज भन्दा ३ बर्ष अगाडि १६ वर्षको ठिटोलाई तत्कालिन प्रहरी प्रशासन र भर्खरै निर्वाचित भएका केही कथित जनप्रतिनिधिहरुको राजनीतिक तुष र पुर्वाग्रहको कारण झुठो मुद्दामा हिरासत राखी अनुसन्धानको नाममा गैरन्यायिक तवरले २९ दिनमा हिरासतमा राख्यो । जब हिरासतमा मेरी आमा मलाई भेट्न गइन् । त्यतिबेला आमाको आँखाबाट तपतप आँसु चुइरहेका थिए त्यो बेला मैले पनि आफ्ना आँसुलाई थाम्न सकिन र जब म २९ औं दिनपछि धरौटीमा निस्कें र बालाई फोन गरें । बाले रोदनपुर्ण स्वरमा भन्नुभयो राजनीति / साजनिती नगर खुरुखुरु पढ्न जा, म घरजग्गा बेचेर पनि पढाउँछु । त्यो बेला पनि मेरो आँखाबाट आँसु रसाइरहेका थिए र जीवनमा बा र आमाको चिन्ता सहितको रोदनबाट भावुक भएको दिन जुन दिन मेरो जीवनभर अविस्मरणीय बन्ने छ । त्यो भन्दा पछाडि पनि पटक पटक राजनीतिक आस्था र विचार अभिव्यक्तिका कारण हिरासत जीवन जिउन पर्‍यो । पछिल्ला हिरासतका बसाई मेरा बा र आमालाई पनि सामान्य भएको र राज्यले बिनाकारण आफ्नो छोरा र उसको पार्टीका नेताकार्यकर्तालाई गिरफ्तार गरेको, झुट्ठा मुद्दा लगाएको भन्ने कुरामा विश्वस्त हुनुभएको थियो । र सबैभन्दा गजबको कुरा बा र आमालाई मैले र मेरो पार्टीले उठाएका एजेन्डा सहि भएको बुझ्दै जानुभएको छ र आज उहाँको जेठा छोरा याने की म जन्मेको दिनमा एउटा कुरा बा र आमा दुवैलाई आग्रह गर्छु कि ए बा ! ए आमा यदि न्याय, सच्याइ, रुपान्तरण, शान्ति, समानता, स्वाधीनता, समृद्धि र अग्रगमनको पक्षमा आवाज उठाउने तपाईंको छोराहरू (सबै क्रान्तिकारी) सहिद नै भए पनि त्यो परिस्थितिको सजिलै सामना गर्नुहोला ।

आमा ! बा तपाईंको छोरा सधैँ बा ! आमाको कर्तव्यनिष्ठ छोरा र यो देशको कर्तव्यनिष्ठ नागरिक बन्नेछु । मलाई यो धर्तीमा पाइला टेकाउने तपाई आमा बाप्रति हार्दिक नमन! उच्च सम्मान र सम्झना !

प्रेम प्रशान्त बोहरा
अध्यक्ष
अखिल(क्रान्तिकारी) रुकुम पश्चिम