भारतीय सेना प्रमुखकाे अभिव्यक्ति विरुद्ध युवा संगठनद्वारा दाङमा विरोध सभा

भारतसामु सरकार गुलामी बनेर झुक्छ भने देशको जिम्मा युवाहरूलाई दिन अाह्वान

प्रकाशित मिति : सोम, जेष्ठ ५, २०७७



दाङ, ५ जेठ ।
नेपाल भारतबिच सिमा विवाद चर्किरहेको बेला कालापानी, लिपुलेक र लिम्पियाधुरा हुँदै नेपाली भूमिभित्र भारतले मनोमानी ढंगले सडक निर्माण गरेको र सो क्षेत्र आफ्नो भएको दाबी गरिरहेको बेला भारतीय सेना प्रमुख मनोज मुकुन्द नराभनले नेपाललाई चीनको उक्साहटमा विरोध गरेको अभिव्यक्तिको विरुद्धमा युवा संगठन नेपाल, दाङले विरोध सभा गरेको छ ।

विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीको सहायक संगठन युवा संगठन नेपाल दाङको आयोजनामा केन्द्रीय  कार्यक्रम अनुसार अाज तुलसीपुरमा भाैतिक दूरी कायम गर्दै युवाहरूले भारतीय सेना प्रमुखकाे उक्त अभिव्यक्तिप्रति कडा अापत्ति जनाउँदै चर्काे नारासहित विरोध सभा कार्यक्रम सम्पन्न गरेका छन् ।
कार्यक्रममा बोल्दै युवा संगठनका केन्द्रिय सदस्य बिरेन्द्रले भारतले नेपाली भूमिमाथि वर्षौदेखि सिमा अतिक्रमण जस्तो जघन्य अपराध र खेलवाडपुर्ण ढंगले नाङ्गो हस्तक्षेप गरेको र पछिल्लो समयमा कालापानी क्षेत्रमा नेपाली भूमि मिचि सडक निर्माण कार्य गरेको हुदा छिमेकी राष्ट्रले मित्रवत सम्बन्ध तोडेको बताउनुभयो ।

भारतीय सेना प्रमुख मनोज मुकुन्द नराभनले केही दिन अघि नेपाललाई चीनको उक्साहटमा लिपुलेककाे कुरा उठाएको र लिपुलेक भारतकाे हो भन्ने अभिव्यक्ति दिएका थिए ।
त्यसप्रति अापत्ति जनाउँदै उनले भने – ‘यदि यो राज्यसत्ता र सरकार भारतको सामु गुलामी बनेर झुक्ने अवस्थामा छ भने सम्पुर्ण देशभक्त स्वाभिमानी नेपाली युवाहरुलाई जिम्मा दिइयोस् ।’

नेपाल कम्युनिस्ट पार्टीको योजना र आदेशमा युवा संगठन नेपालको अगुवाइमा सिमा रक्षाका निम्ति लाखौँ युवाहरु कालापानीमा रेड परेड खेल्न तयार रहेको बताएका छन् । उनले भारतसङ्ग गरिएका सम्पुर्ण असमान सन्धी सम्झौता तुरुन्त खारेज गर्न समेत माग गरे ।
उनले भने -‘नेपाली नागरिक र क्रान्तिकारी शक्ति त्यति अबुझ र अचेत छैनन् आफ्नो भूमि रक्षाका निम्ति अर्को कुनै राष्ट्रले उस्काउनु, उचाल्नु पर्ने ।’

राष्ट्रिय स्वाधीनताका लागि बलिदान गर्न सक्ने आट साहस र चेतनाले भरिपुर्ण भएको कुरा भारतीय शासकहरुले राम्रोसङ्ग बुझ्न चेतावनी दिए । कार्यक्रममा सहभागी र आम युवाहरुलाई एक पटक मिचिएको सिमा फिर्ता गराउन नेपाल आमाको लाल रक्षक बन्न अनुरोध र आह्वान गरे ।
यस्तै अर्को प्रसंगमा उनले भने -‘हाम्रो पार्टीले राष्ट्रियतासँग सम्बन्धित समस्यालाई बलियोसँग उजागर गरेको कारणले, सिमा समस्या समाधान गर्न राज्यलाई चुनौती दिएको कारणले पनि हाम्रो पार्टीमाथि गैर न्यायिक राजनीतिक प्रतिबन्ध लगाएको छ ।’
उक्त कार्यक्रमको सहजीकरण संगठनका सह-सचिव शिर्षकले गरेका थिए ।
सभामा युवाहरूले भारतीय साम्राज्यवाद– मुर्दावाद !, लिम्पियाधुरा, कालापानी, लिपुलेक– हाम्रो हो !, भारतीय सेना मुर्दावाद!, युवा संगठन जिन्दावाद!, नेपाल कम्युनिस्ट पार्टी जिन्दावाद!, एकीकृत जनक्रान्ति जिन्दावाद! लगायतका नारा लगाएका थिए ।