भूमि अतिक्रमण विरुद्ध कैलाली, जाजरकोट, रुपन्देही, दैलेख लगायत देशभर मसाल जुलुस, पुत्लादहनसहित विरोध सभा सम्पन्न

प्रकाशित मिति : सोम, जेष्ठ ५, २०७७



नेपाल कम्युनिष्ट पार्टी र पार्टी निकट अखिल (क्रान्तिकारी) र युवा संगठन नेपालले साेमबार देशव्यापी रूपमा नेपाली भूमि अतिक्रमण तथा भारतीय शासकहरु विरुद्ध मसाल जुलुस, प्रदर्शन, विरोध सभा कार्यक्रम गरेका छन् ।
कैलाली, जाजरकोट, रुपन्देही, दैलेख, पूर्वकाे झापामा समेत भारतीय प्रधानमन्त्री माेदी तथा भारतीय रक्षा मन्त्री तथा भारतीय सेना प्रमुखको पछिल्लो अभिव्यक्तिले नेपालकाे सार्वभौमसत्तामाथि अाँच पुर्याएकाे भन्दै त्यसको विरुद्ध पुत्ला जलाउनुका साथै मसाल, प्रदर्शनसहित काेणसभा गरेका छन् ।

यसैक्रममा अखिल (क्रान्तिकारी) र युवा संगठन नेपाल, कैलालीले संयुक्तरूपमा मसालजुलुस र विरोध प्रदर्शन गरेका छन् । कैलालीकाे धनगढी र लम्की लगायतका विभिन्न ठाउँमा मसालजुलुस र विरोध सभा गरिएको बताइएको छ ।


ने.क.पा.को गौरीगंगा नगर कमिटीले गौरीगंगा नगरपालिका ८ स्थित पूर्वपश्चिम राजमार्गमा
नेपालको भूमि मिचेर चीनसँग जोड्ने सडक मार्गको उद्घाटन गर्ने भारतीय रक्षामन्त्री र नेपालकै भूमि लिपुलेकलाई भारतकाे हो र नेपालले अरुकै इशारामा कुरा उठाएको अभिव्यक्ति दिने भारतीय सेना प्रमुखकाे पुत्ला दहन, मसालजुलुससहित विराेध प्रदर्शन गरे ।

धनगढीकाे विरोध सभा कार्यक्रममा सम्बोधन गर्दै नगर इन्चार्ज अनमाेल र अखिल (क्रान्तिकारी) अध्यक्ष सुवासले नेपालको भौगोलिक अखण्डता र स्वाधीनता माथि गरिएको भारतीय हस्तक्षेप र नेपाल सरकारको राष्ट्रिय आत्मसमर्पणवादी रबैयाका विरुद्ध एकजुट भएर राष्ट्रिय स्वाधीनताको आन्दोलनमा सरिक हुन सम्पुर्ण देशभक्त नागरिक, बुद्धिजीवी , प्राध्यापक , मजदुर, श्रमिक, सुरक्षाकर्मी , पत्रकार ,नागरिक समाज , लगायत सम्पुर्ण राष्ट्रभक्त , न्यायप्रेमी जनसमुदायमा आग्रह गरेका छन् ।

साथै लम्कीमा भएको कार्यक्रमलाई युवा संगठन नेपाल कैलालीका अध्यक्ष दिपकले सम्बोधन गरेका थिए ।

जाजरकोटमा पनि युवा संगठन नेपाल जाजरकोटकाे अायाेजनामा युवाहरूले प्लेकार्डसहित प्रदर्शन गरेका छन् ।


यस्तै नेपाल कम्युनिस्ट पार्टी, दैलेखले नेपाली भूमि लिपुलेकमाथि भारतीय साम्राज्यवादले गरेको हस्तक्षेप विरुद्ध केन्द्रीय कार्यक्रम अनुसार साेमबार जिल्लाको आठबिस नगरपालिका, ठाँटीकाँध गाउपालिका ,नौमुले गाउँपालिका र गुराँस गाउँपालिकामा मसाल जुलुस कार्यक्रम सम्पन्न गरेको छ ।
भारतीय साम्राज्यवाद-मुर्दाबाद!, लिपुलेख लिम्पियाधुरा हाम्रो हो!, लिपुलेकमा सडक निर्माण कार्य बन्द गर!, नेपाल कम्युनिस्ट पार्टी जिन्दाबाद! लगायतका नारा सहित मशाल जुलुस कार्यक्रम सम्पन्न भएको बताइएको छ । आठबिस नगरपालिकामा पार्टीका जिल्ला कमिटी सदस्य सुदर्शन, प्रकाश, ठाटीकाँध गाउपालिकामा शँकेत, पबित्रा र लाल बहादुर भन्डारी, नौमुले गाउँपालिकामा भुपेन्द्र र गुराँस गाउपालिकामा जिल्ला सेक्रेटरी मदुरोको नेतृत्वमा मसाल जुलुस सम्पन्न भएको छ ।
त्यसैगरी रुपन्देहीमा पनि अखिल (क्रान्तिकारी) विरोध सभा गरेको छ ।

यस्तै भूमि अतिक्रमण विरुद्ध अखिल (क्रान्तिकारी) कास्की, नवलपरासीले पनि मसालजुलुससहित प्रदर्शन गरेका छन् ।

यस्तै नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी निकट अखिल (क्रान्तिकारी)ले झापामा प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र माेदीकाे पुत्ला जलाएकाे छ । नेपाल भारतबिच सिमा विवाद चर्किरहेको बेला कालापानी, लिपुलेक र लिम्पियाधुरा हुँदै नेपाली भूमिभित्र भारतले मनोमानी ढंगले सडक निर्माण गरेको र सो क्षेत्र आफ्नो भएको दाबी गरिरहेको बेला सत्तासिन दल भने राजनीतिक खिचातानीमा ब्यस्त रहेको भन्दै अखिल (क्रान्तिकारी) का जिल्ला संयाेजक कुमार शाहीले आक्राेश ब्यक्त गरे । इतिहासकाे स्मरण गर्न सरकारलाई चेतावनी दिँदै नाराबाजी सहित पुत्ला दहन गरेकाे अखिल (क्रान्तिकारी)ले जनाएको छ ।

युवा संगठन नेपाल र अखिल (क्रान्तिकारी) काे केन्द्रीय कार्यक्रम अनुसार देशैभर कार्यक्रम गरिएको बताइएको छ ।