मनिषा कोइरालाको अभिव्यक्तिमाथि प्रहार हुनु सांस्कृतिक अतिक्रमण हो- जनसांस्कृतिक महासङ्घ

प्रकाशित मिति : बिहि, जेष्ठ ८, २०७७



८ जेठ ।

अखिल नेपाल जनसांस्कृतिक महासङ्घले बलिउड चलचित्र उद्योगमा लामो समयदेखि योगदान गर्दै आएकी मनिषा कोइरालाले दिएको देशभक्तिपूर्ण अभिव्यक्तिलाई सम्मान गर्न माग गरेको छ ।

विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी निकट अखिल नेपाल जनसांस्कृतिक महासङ्घका महासचिव खेम थपलियाले बिहीबार एक प्रेस विज्ञप्ती जारी गर्दै भारतीय मिडियाहरुबाट नेपाल र नेपाली राष्ट्रियताका विरुद्ध गरिएका तमाम अनर्गल प्रचारको सशक्त प्रतिवाद गर्ने बताएका छन् ।
उनले साम्राज्यवादी भारतले सामाजिक, सांस्कृतिक रूपमा समेत नेपालमाथि अतिक्रमण गर्दै आएको भन्दै मनिषा कोइरालाको अभिव्यक्तिमाथि प्रहार हुनु सांस्कृतिक अतिक्रमणकै नयाँ शृङ्खलाको रुप भएको बताएका छन् ।

भारतले नेपाल र नेपाली जनताको भावनामाथि चोट पु¥याउने सम्पूर्ण हर्कत बन्द नगरे महासंघले नेपालमा हिन्दी गीतहरू बजाउन रोक लगाउने र सम्पूर्ण भारतीय च्यानलमाथि प्रतिबन्ध लगाउन बाध्य हुने भन्दै नेपाली राष्ट्रियता र नेपाली देशभक्तिपूर्ण भावनाको सम्मान गर्नु भारतको पनि दायित्व भएको बताएको छ ।

विज्ञप्तीमा नेपालीहरूले आफ्नो भूमिको रक्षार्थ उठाएको राष्ट्रिय स्वाधीनताको झन्डामुनि गोलबन्ध हुन वक्तव्यमार्फत सबैलाई विशेष आह्वान् समेत गरेको छ ।